मंगलबार, पुस १५, २०८२

वर्षे सुरक्षामा जुट्यो निकुञ्ज

 |  बुधबार, साउन २१, २०८२

नेपाल समय

नेपाल समय

बुधबार, साउन २१, २०८२

चितवन- वर्षात्को समयमा हुन सक्ने चोरीशिकार नियन्त्रणका लागि चितवन राष्ट्रिय निकुञ्ज वर्षे रणनीतिका साथ जुटेको छ। वर्षात्को समयमा निकुञ्जको सबै भूभागमा सहज रूपमा पुग्न कठिन हुने भएकाले सोहीअनुसारको रणनीति तयार गरी निकुञ्ज सुरक्षामा जुटेको हो।

National life

निकुञ्जका सूचना अधिकारी अविनास थापा मगरका अनुसार निकुञ्जभित्रको संवेदनशील ३० ठाउँमा ‘स्पाई क्यामरा’ जडान गरिएको छ। नियमित रूपमा क्यामरामार्फत वरपरको अवस्थाका बारेमा नियमन गर्ने काम भइरहेको उनले बताए।

निकुञ्जभित्र सडक सञ्जाल बिग्रने भएकाले यो समयमा पर्यटकका लागि जिप सफारीसमेत बन्द गरिएको जनाउँदै उनले झाडी बढ्ने भएकाले पैदल र गाडीबाट कतिपय ठाउँमा गस्ती गर्न कठिन हुने भएपछि ती ठाउँमा अधिकतम हात्तीको प्रयोग गर्न थालिएको उल्लेख गरे।

“निकुञ्जभित्र ५८ वटा पोष्ट छन्। ती पोष्टमा निकुञ्जको सुरक्षार्थ खटिएका नयाँ गोरख गणका सेना र निकुञ्जका कर्मचारी बस्छन्। करिब आधा पोष्टमा सुरक्षाका लागि हात्ती राखिएको छ। ती हात्तीमार्फत निकुञ्जमा गस्ती गरिन्छ”, सूचना अधिकारी मगरले भने। अहिले हात्ती र डुङ्गाको गस्ती बढाइएको उनको भनाइ छ।

“राप्ती र नारायणी नदीमा डुङ्गामार्फत गस्ती गरिन्छ। रात बिताउने गरी गस्ती गरिने ठाउँहरू यो समयमा बढाइएको छ। यसलाई ‘एम्बुस’ भनिन्छ। यो टोली मचानहरूमा बसेर निकुञ्जको सुरक्षा गर्छन्”, मगरले भने।

Laxmi sunrise bank
kumari

दैनिक रूपमा पैदल, साइकल, कतिपय अवस्थामा मोटरसाइकल र गाडीबाट गरिने नियमित गस्ती निरन्तर भइरहेको निकुञ्ज कार्यालयले जनाएको छ। यसका अतिरिक्त मध्यवर्ती क्षेत्रमा स्थानीय उपभोक्ता समिति र चोरीशिकार नियन्त्रण युवा समूहमार्फत चोरीशिकार नियन्त्रणको काम भइरहेको थापामगरले जानकारी दिए। उनका अनुसार ड्रोनमार्फत पनि खुल्ला ठाउँहरूमा गस्ती भइरहेका छन्।

यो निकुञ्ज दुर्लभ एकसिङ्गे गैँडा, बाघलगायत वन्यजन्तुका लागि प्रख्यात मानिन्छ। यहाँ बाघ र गैँडा हेर्न स्वदेश तथा विदेशबाट पर्यटक आउने गर्दछन्। वर्षात्को समयमा सामुदायिक वनहरूमा मात्रै जिप सफारी हुने गर्दछ। निकुञ्जमा मानव चहलपहल कम भएको बेला चोरीशिकारी बढ्न सक्ने भन्दै निकुञ्जले सुरक्षा रणनीतिलाई फरक ढङ्गले परिचालन गरेको हो। रासस

प्रकाशित: Aug 06, 2025| 14:13 बुधबार, साउन २१, २०८२
प्रतिक्रिया दिनुहोस्