शुक्रबार, भदौ १२, २०८३

खहरेले कार बगायो

 |  मंगलबार, साउन २०, २०८२

नेपाल समय

नेपाल समय

मंगलबार, साउन २०, २०८२

तम्घास । गुल्मीको खहरे खोलामा आएको बाढीले कार बगाएको छ। आज शान्तिपुरबाट बुटवलतर्फ जाँदै गरेको बीएए ००१७ नम्बरको कार सत्यवती गाउँपालिकाको वडा नं ६ मा बग्ने डहरे खोलाले बगाएको हो।

पत्रकार घनश्याम गौतमले चलाएको कार डहरे खोलाको बीच भागमा पुगेपछि रोकिएको थियो। त्यसपछि कारमा भएका चारैजना झरेर बाँच्न सफल भएका थिए।

जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी गङ्गाबहादुर सारुका अनुसार बाढीले कार अन्दाजी ५० मिटर तल पुर्‍याएको थियो। त्यसपछि प्रहरी र स्थानीयको सहयोगमा कार निकालिएको थियो।

ठूलो पानी आउनेबित्तिकै डहरे खोलामा लेदोसहितको पानीले यातायातलाई प्रभावित गर्दै आएको छ। निरन्तर दुई दिनको वर्षामा उक्त स्थानमा पाँच पटकसम्म बाटो अवरुद्ध भएको सारुले बताए।

अविरल वर्षाकै कारण आएको पहिरोले रिडी–तम्घास सडक पनि अवरुद्ध भएको छ। मदन भण्डारी राजमार्गअन्तर्गत रुरुक्षेत्र गाउँपालिका–३ सल्लेरीमा माथिबाट खसेको पहिरोको कारण सो सडक अवरुद्ध भएको हो।

सडक खुलाउनको लागि जेसिबी तयारी अवस्थामा राखे पनि माथिबाट पहिरो निरन्तर खसेका कारण बाटो खुलाउन समस्या भएको छ। उक्त ठाउँको सट्टामा पानीटंकी माथिको सडक प्रयोग गरेर यात्रा गर्न सकिने जिल्ला प्रहरी कार्यालय, गुल्मीले जनाएको छ।

प्रकाशित: Aug 05, 2025| 18:41 मंगलबार, साउन २०, २०८२
प्रतिक्रिया दिनुहोस्