मंगलबार, पुस १५, २०८२

म्याग्दीका करिब नौ सय घरमा विद्युत् सुविधा विस्तार

 |  आइतबार, साउन १८, २०८२

नेपाल समय

नेपाल समय

आइतबार, साउन १८, २०८२

म्याग्दी- म्याग्दीमा पछिल्लो एक वर्षको अवधिमा करिब नौ सय घरपरिवारमा केन्द्रीय प्रसारण लाइनको विद्युत् सुविधा विस्तार भएको छ।

National life

नेपाल विद्युत् प्राधिकरण म्याग्दी वितरण केन्द्रले आर्थिक वर्ष २०८१–८२ मा जिल्लाका विभिन्न ठाउँमा ८ सय ७४ उपभोक्ता थपिएको जनाएको छ। केन्द्रका प्रमुख सत्यनारायण गामीले एक वर्षयता मालिका गाउँपालिका–३ पात्ले, लुप्सीपार, घ्याङलेपानी, वडा नम्बर ४ को चिउरीबोट, धवलागिरि गाउँपालिकाको बुल र मलम्पारमा विद्युतीकरण भएको जानकारी दिए।

उनका अनुसार धवलागिरि गाउँपालिका– २ लुलाङ, लमसुङ, खोरिया, मरेनी, वडा नम्बर ५ को मल्कवाङ, मालिका गाउँपालिका–४ को महभिर, ५ को पन्थोक र जुग्जामा विद्युतीकरणको काम अन्तिम चरणमा पुगेको छ।

पोल गाड्ने, तार तान्ने र ट्रान्सफर्मर जडान भइसकेका ठाउँका उपभोक्ताले मिटर जडान गरेपछि विद्युतीकरणले पूर्णता पाउने उनको भनाइ छ।

गत वर्ष अन्नपूर्ण गाउँपालिका–६ मा रहेको पर्यटकीयस्थल पुनहिलमा विद्युतीकरण र घोडेपानीको वितरण लाइनको सुधार भएको थियो। एक सय ३२ केभी क्षमताको मिलनचोक–रातोढुङ्गा प्रसारण लाइन र रातोढुङ्गा सबस्टेशनबाट मङ्गला, मालिका र धवलागिरि गाउँपालिकामा गत वर्षदेखि विद्युत् आपूर्ति गराउन थालिएको छ।

Laxmi sunrise bank
kumari

उज्यालोका लागि सोलार, मट्टितेलको टुकी, दियालो र सिट्ठामा निर्भर स्थानीयवासीमा बिजुली बलेपछि खुसीयाली छाएको धवलागिरि गाउँपालिका–६ का वडाध्यक्ष राजाराम सुवेदीले बताए। घरायसी काम, विद्यार्थीलाई अध्ययन गर्न सहज हुनुका साथै उद्यम व्यवसाय सञ्चालन गर्ने अवसर सृजना भएको छ।

यस वर्ष थपिएका सहित म्याग्दी वितरण केन्द्रअन्तर्गत २३ हजार ८६९ विद्युतका ग्राहक पुगेको केन्द्रका सूचना अधिकारी प्रकाश झाले बताए। आव २०८०–८१ मा एक हजार ४३८, २०७९–०८० मा एक हजार २३८, २०७८–०७९ मा सात सय ७० घरमा नयाँ लाइन जडान भएको प्राधिकरणको तथ्याङ्क छ।

पर्वतको जलजला गाउँपालिकाको मल्लाज, वारीबेनी क्षेत्रमा पनि म्याग्दी वितरण केन्द्रअन्तर्गतको मिलनचोक सबस्टेशनमार्फत विद्युत् वितरण हुँदै आएको छ। म्याग्दीका १४ स्थानका दुई हजार १८३ घरमा राष्ट्रिय प्रसारण लाइनको विद्युत् सुविधा विस्तारका लागि प्राधिकरणले आव २०८०–०८१ देखि २२ करोड रुपैयाँ बजेटको योजना सञ्चालन गरेको छ।

गत आवमा म्याग्दी वितरण केन्द्रमार्फत एक करोड ७३ लाख ९५ हजार ७९७ दशमलव ७१ युनिट विद्युत् खपत हुँदा २० करोड ३३ लाख ६३ हजार ३८१ महसुल सङ्कलन भएको छ। समयमा महसुल नबुझाउने एक सय ४५ जना ग्राहकको लाइन काटेर १३ लाख ४५ हजार ४०७ बक्यौता असुल गरिएको छ।

साठी दिनसम्म महसुल नतिर्नेको लाइन काट्ने र ६ महिनासम्म महसुल नबुझाउनेलाई कालोसूचीमा राखिने प्राधिकरणले जनाएको छ। कालोसूचीमा परेका एक जनाबाट ७७ हजार रुपैयाँ महसुल उठाएको र थप ११ जनाबाट दुई लाख ७८ हजार ९०४ उठाउन बाँकी रहेको वितरण केन्द्रका लेखा प्रमुख श्याम रानाले बताए।  -रासस

प्रकाशित: Aug 03, 2025| 12:31 आइतबार, साउन १८, २०८२
प्रतिक्रिया दिनुहोस्