बिहीबार, असोज ८, २०८३

सिँचाइ अभाव हुँदा आकासे पानीको भरमा इलामका किसान

 |  शुक्रबार, साउन १६, २०८२

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन १६, २०८२

इलाम- जिल्लाको माई नगरपालिका-६ पलाँसेका किसान सुरविर योङहाङले धान रोप्नका लागि एक महिनाअघिदेखि खनजोत गरी खेत तयार पारेको थियो। आकासे पानी आवश्यकताअनुसार नपरेपछि उनले अहिलेसम्म एक गाभो पनि धान रोप्न सकेका छैनन्।

खेतमा पानी पुग्ने मुहानमा मूल नफुटेकाले रोपाइँ सम्भव नभएको बताउँदै आकासे पानीको भरमा बसेकाले करिब १९ रोपनी खेत अहिलेसम्म बाँझै रहेको सुरविरले जानकारी दिए।

'खेत जोते पनि सिँचाइ अभावले रोपाइँ गर्न नसकेपछि आकासतिर हेर्दै बस्नुपर्ने बाध्यता छ। खेत जोतेर बीउ पनि तयार पारेको हुँ। अब एक साताभित्र पनि पानी परेन भने यो वर्षको रोपाइँ हुँदैन', उनले भने।

किसान आइतराज लिम्बूको पीडा पनि उस्तै छ। खनजोत गरेर रोपाइँका लागि तयार पारिएको १६ रोपनी खेत आकासे पानीको पर्खाइमा बाँझै छ। 'पहिलापहिला असारको सुरुमा पानी पर्थ्यो, तर यो साल साउन दोस्रो साता बितिसक्दा समेत पानी परेन', उनले भने, 'सिँचाइ अभाव हुँदा खेत बाँझो रहने भयो, खेती नभए के खाने चिन्ता बढ्न थालेको छ।'

समयमा पानी नपर्दा इलामका सुरविर र आइतराजजस्ता सयौँ किसान रोपाइँ गर्न नपाएपछि चिन्तित छन्।

यसैबीच साउनको दोस्रो सातासम्म इलाममा ७४ प्रतिशत मात्र रोपाइँ भएको कृषि ज्ञान केन्द्रले जनाएको छ। केन्द्रका प्रमुख कुलबहादुर राईले साउन दोस्रो सातासम्म ११ हजार ६३ हेक्टरमध्ये आठ हजार १८६ हेक्टर क्षेत्रफलमा रोपाइँ भएको जनाउँदै यो कुल क्षेत्रको ७४ प्रतिशत हुने बताए।

'गतवर्ष यही समयमा ९२ प्रतिशत क्षेत्रमा धान रोपाइँ सकिएको थियो। गत वर्ष १४ हजार ८१५ हेक्टर क्षेत्रमा धानखेती गरिएको थियो। यसवर्ष आवश्यक वर्षा नभएकाले किसानले समयमा धान रोप्न पाएका छैनन्', राईले भने। यस वर्ष मनसुन पर्याप्त नभएको, पानीका मूल नफुटेका, जमिनमा पानीको तह घट्नुका साथै सिँचाइ अभावले कम रोपाइँ भएको उनको भनाइ छ।

कुलो र नहरको सुविधा भएका, खोला र खोल्सा क्षेत्र छेउछाउमा रहेका खेतमा रोपाइँ सकिएको बताउँदै आकासे पानीको भर परेर रोपिने ठाउँ बाँझै रहेका प्रमुख राईले बताए।

रोपेका ठाउँमा पनि सिँचाइ नहुँदा खेतका गह्राहरू चर्किन थालेका किसानले बताएका छन्। साउन दोस्रो सातासम्म पनि रोपाइँ गर्न नपाउँदा यसवर्ष धान उत्पादन गर्न नसकिने चिन्तामा किसान छन्। 

इलामको तल्लो क्षेत्र अर्थात् चुलाचुली गाउँपालिका, माई नगरपालिका तथा माङसेबुङ, फाकफोकथुम, रोङ, माईजोगमाई, सन्दकपुर गाउँपालिका र देउमाई, इलाम र सूर्योदय नगरपालिकाका तल्लो क्षेत्रमा धानखेती हुने कृषि ज्ञान केन्द्रले जनाएको छ।

यहाँको माई नगरपालिका र रोङ गाउँपालिकाका किसानले उन्नत जातका रावित्री र रञ्जित खेती गर्दै आएका छन्।

अन्य क्षेत्रका किसानले बेलकुटी, चिराखे, अटे, चुल्ठे, भँगेरे, टिमुरे, बयर्नी, रामतुलसी, रुदुवा, नानिया, चम्पासरी, तापमारालगायत स्थानीय जातका धानखेती गर्ने केन्द्रका प्रमुख राईले जानकारी दिए। उनका अनुसार यहाँको माई नगरपालिका, चुलाचुली गाउँपालिका र इलाम नगरपालिकामा सबैभन्दा बढी धानखेती हुँदै आएको छ। रासस

प्रकाशित: Aug 01, 2025| 07:31 शुक्रबार, साउन १६, २०८२
प्रतिक्रिया दिनुहोस्