शुक्रबार, साउन १६, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • बर्खामा पनि ढोरपाटनमा पर्यटक भरिभराउ, गोठालाको आयआर्जनमा वृद्धि

बर्खामा पनि ढोरपाटनमा पर्यटक भरिभराउ, गोठालाको आयआर्जनमा वृद्धि

 |  बिहीबार, साउन १५, २०८२
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, साउन १५, २०८२

vianetvianet

गलकोट- बागलुङको पर्यटकीय गन्तव्य ढोरपाटनमा पर्यटक बढेपछि गोठालाको आयआर्जनमा वृद्धि भएको छ। ढोरपाटन पुगेका केही पर्यटक पदमार्गमार्फत बुकीपाटन पुग्ने गरेका छन्।

बुकी पुग्ने पर्यटकका लागि खान बस्नमा सघाउँदै आएका गोठालाको आम्दानी बढ्दै आएको छ। पदमार्ग आसपास र बुकीपानमा चिया नास्ताका लागि स्थानीय उत्पादन खपत हुने गरेको छ। बुकीपाटन पुगेका पर्यटकह गोठमै बस्ने र खाने गर्दा  भैँसीको दूध, घ्यू तथा भेडाको मासु गोठमै खपत हुन थालेको हो।

गोठालाले उत्पादन गरेको दूध, दही र महीसमेत बुकीपाटनमै खपत भएपछि आयआर्जनमा वृद्धि भएको गोठालाहरु बताउँछन्। उनीहरुले पर्यटकलाई भैँसीको दूधसँगै दूधबाट बन्ने खिर, चिया, मही तथा दही खुवाएर आम्दानी गर्न थालेका छन्।

भैँसी पालेर घ्यू उत्पादन गरेर बिक्री गर्दै आएका बुकीपाटनका भैँसी गोठाला ७२ वर्षीय देवबहादुर विकले चरीचरनका रुपमा रहेको बुकीपाट पर्यटकीय गन्तव्य बनेपछि गोठमै पैसा आउन थालेको बताए।

'पहिला त ढोरपाटन ल्याएर घ्यू बिक्री गरिन्थ्यो, मही त फालिन्थ्यो, अहिले बर्खामा पर्यटक भरिभराउ छन्। बुकीपाटनमा पर्यटकहरु आएपछि महीसमेत बिक्री हुन्छ',  उनले भने, 'पर्यटक बढेपछि यही गोठमा समेत बस्न आउँछन्, भैँसीको दूधको खिर पकाएर पर्यटकलाई खुवाइन्छ, गोठमै दूध, मही बिक्री भएपछि बोकेर ढोरपाटन ल्याउनैपर्ने भएन।'

बुकीपाटन उक्लनेले बीच बाटोको चेप्टेढुंगामा गोठबाटै चिया बिक्री गरेर राम्रो आम्दानी गरेको गुमानसिंह कुमाइले बताए। बुकी उक्लनेलाई प्रतिगिलास १०० रूपैयाँमा चिया बिक्री गर्दै आएको उनको भनाइ छ। दूधको चिया खपत भएपछि घ्यू र दही बनाउने झन्झट नभएको कुमाइको भनाइ छ।

उनको गोठमा एकै दिन १०० गिलाससम्म चिया खपत भएको छ। तीनवटा भैँसी र ६० वटा बाख्रा पाल्दै आएका कुमाइको चेप्टेढुंगामा अस्थायी घुम्ती गोठ रहेको छ। पदयात्राको छेउमै गोठ भएकाले दूध र चिया असारयता निकै खपत भएको उनको भनाइ छ।

'बुकीमा चरेका भैँसीको दूधको चिया पदयात्रीले निकै मिठो मानेर खाने गरेका छन्, दूधबाट चिया बनाउन थालेपछि यो सिजनमा घ्यू बनाउन आवश्यक छैन', कुमाइले भने, 'पर्यटकका कारण गोठमै पैसा आएको छ, पहिला-पहिला खेर जाने मही समेत अहिले महँगो मूल्यमा बिक्री हुन्छ, घण्टौँ हिँडेका पदयात्रीले मिठो मानेर मोही, दही, चिया खाने गरेका छन्।' ढोरपाटनमा एक वर्षमै आठ हजारले पर्यटक वृद्धि भएपछि बुकीपाटन यसपटक गुल्जार बनेको छ। 

ढोरपाटनको प्रचारप्रसार, पर्यटकीय पूर्वाधार, बुकी र जलजलामा पदयात्रा गर्ने पर्यटकका कारण पर्यटकको सङ्ख्या बर्सेनि बढ्दै गएपछि घोडा सफारी गर्ने, घरबासमा बस्ने र गोठमा बस्ने पर्यटकका कारण आयआर्जनमा सघाएको छ।

ढोरपाटनमा सिकार खेल्न मात्रै विदेशी पर्यटक आउने गरेकामा पछिल्लो समय सिकार आरक्ष क्षेत्र अवलोकन, ढोरपाटन उपत्यका, निशेलढोर र ढोरबराह मन्दिर, बुकी पाटन र जलजलालगायतका क्षेत्रको अवलोकनका लागि आन्तरिक पर्यटक त्यहाँ आउने गरेका छन्।

समुद्री सतहदेखि दुई हजार ९०० मिटरको उपत्यकादेखि चार हजारभन्दा माथिको बुकीपाटनसम्म पर्यटक पुग्ने थालेका छन्।    -रासस

प्रकाशित: Jul 31, 2025| 06:31 बिहीबार, साउन १५, २०८२
प्रतिक्रिया दिनुहोस्