आइतबार, भदौ २९, २०८२

मेचीनगरका दुई महिलामा जापानिज इन्सेफलाइटिस संक्रमण पुष्टि

 |  सोमबार, साउन १२, २०८२
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, साउन १२, २०८२

vianetvianet

झापा- मेचीनगर नगरपालिकाका दुई महिलामा ‘जापानिज इन्सेफलाइटिस’ सङ्क्रमण पुष्टि भएको छ।  मेचीनगर स्वास्थ्य शाखा प्रमुख सविता सापकोटाका अनुसार वडा नं ३ की ३६ वर्षीया र वडा नं ५ की ५५ वर्षीया महिलामा जापानिज इन्सेफलाइटिसको सङ्क्रमण पुष्टि भएको हो।

Kumaribank

सङ्क्रमित दुबै जनाको विर्तामोडस्थित पूर्णटुङ्ग बिर्तासिटी अस्पतालमा उपचार गरिएको छ। उपचारपछि भर्खरै घर फर्किएका दुबै जनाको स्वासथ्य अवस्था सामान्य रहेको शाखा प्रमुख सापकोटाले बताइन्। जापानिज इन्सेफलाइटिस लामखुट्टेको टोकाइबाट सर्ने र मस्तिष्कमा सङ्क्रमण हुने एक प्रकारको भाइरसजन्य रोग हो।

यसले सङ्क्रमितको स्नायु प्रणालीलाई अङ्गभङ्ग बनाउनुका साथै बिरामीको मृत्युसमेत हुनसक्ने स्वास्थ्य कार्यालय झापाका प्रमुख रमेश बाराकोटी बताउँछन्। नगरमा जापानिज इन्सेफलाइटिसको सङ्क्रमण देखा परेपछि यसको रोकथाम र उपचारको बारेमा जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख बाराकोटी, काठमाडौँस्थित विश्व स्वास्थ्य सङ्गठनकी प्रतिनिधि डा सोनिया भगत, प्रादेशिक अस्पताल भद्रपुरकी डा.सङ्गीता साह लगायतको विज्ञ टोलीले मेचीनगरका जनप्रतिनिधि र स्वास्थ्य शाखाका कर्मचारीसँग छलफल गरेको नगरका प्रेस संयोजक अर्जुन कार्कीले जानकारी दिएका छन्।

विज्ञ टोलीले सङ्क्रमण फैलिन नदिन समुदायमा जनचेतना अभिवृद्धिका कार्यक्रम गर्न, बिरामीको खोजी र उपचारको व्यवस्था मिलाउन सुझाव दिएको कार्कीले बताए। छलफलमा सहभागी नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले सङ्क्रमण फैलिन नदिन स्वाथ्यकर्मीलाई घर–घर पुगेर सचेतना जगाउन र सङ्क्रमितको समयमा नै स्वास्थ्य उपचारको व्यवस्था मिलाउन निर्देशन दिएका छन्।

सङ्क्रमणको अवस्था जटिल बनेमा प्रादेशिक अस्पताल भद्रपुरमासमेत उपचारको व्यवस्था मिलाउन आवश्यक समन्वय गरिने उपप्रमुख मीना उप्रेतीले बताइन्। जापानिज इन्सेफलाइटिस सार्ने भाइरसबाट सङ्क्रमित हाँस, कुखुरा, सङ्गुर, बङ्गुर, घरपालुवा चरा, बकुल्ला आदिलाई टोकेको लामखुट्टेले मानिसलाई टोकेपछि रोगको सङ्क्रमण फैलिन्छ।

Metro Mart

स्वास्थ्य शाखाकी प्रमुख सापकोटाका अनुसार टाउको दुख्ने, उच्च ज्वरो आउने, बेहोस हुने, घाँटीमा गाह्रो भएर सास फेर्न कठिन हुने, कम्पन हुने र पक्षघात हुने यो रोगको प्रमुख लक्षण हुन्। जापानिज इन्सेफलाइटिसबाट जोगिने सबैभन्दा राम्रो उपाय भनेको लामखुट्टेको टोकाइबाट बच्नु नै हो। शरीर ढाक्नेगरी कपडा लगाउने र झुलभित्र सुत्ने गरेमा रोगको सङ्क्रमणको जोखिम कम हुने उनको भनाइ छ।

यो रोगबाट बच्नका लागि बालबालिकालाई १२ महिनाको उमेरमा खोप लगाउनुपर्छ। यदि यो खोप लगाउन छुटेको रहेछ, भने पाँच वर्षको उमेरमा पनि खोप लगाउन सकिने उनले जानकारी दिइन्।

प्रकाशित: Jul 28, 2025| 12:09 सोमबार, साउन १२, २०८२
प्रतिक्रिया दिनुहोस्