मंगलबार, पुस १५, २०८२

अनलाइन नागरिकता सिफारिस प्रणालीले घट्यो सेवाग्राहीको चाप

 |  सोमबार, साउन १२, २०८२

नेपाल समय

नेपाल समय

सोमबार, साउन १२, २०८२

सिरहा- इलाका प्रशासन कार्यालय लहानमा गत फागुन महिनादेखि सुरु गरिएको अनलाइन नागरिकता सिफारिस प्रणालीले सेवाग्राहीको चापमा उल्लेखनीय कमी ल्याएको छ।

National life

वडा कार्यालयबाटै नागरिकता सिफारिसका लागि अनलाइन आवेदन दिन सकिने व्यवस्था भएपछि दैनिक सेवाग्राहीको भीड न्यून हुनको साथै सेवा प्रवाह पनि सहज भएको कार्यालयले जनाएको छ।

‘डिजिटल’ सेवा प्रवाहलाई सहज बनाउने उद्देश्यले सुरु गरिएको यो प्रणालीप्रति नागरिकको आकर्षण बढ्दै गएको कार्यालयका प्रमुख गोकर्णराज सुयलले बताए। “अनलाइन सिफारिस प्रणालीबाट नागरिकता बनाउँदा प्रक्रियागत झन्झट कम हुनुका साथै समयको बचत हुने भएकाले सेवाग्राहीलाई धेरै सहज बनाएको छ”, उनले भने, “पहिले दिनभर लाइन बस्नुपर्ने बाध्यता थियो, अब त्यो हट्यो। हामीले दैनिक कामको दबाब पनि व्यवस्थापन गर्न सकिरहेका छौंँ। सेवाग्राहीको चापसमेत व्यवस्थित भएको छ।”

उनका अनुसार, अनलाइन प्रणाली सुरु भएपछि अभिलेखीकरण प्रक्रिया सहज भएको छ भने सेवा प्रवाहमा छरितोपन आएको छ। प्रविधिमैत्री सेवा उपलब्ध गराउन सहज भएको र झुटा वा किर्ते विवरणका आधारमा नागरिकता लिने कार्यमा पनि नियन्त्रण कायम भएको कार्यालय प्रमुख सुयलले बताए। उनले यो प्रणालीले समग्र सेवा प्रवाहलाई ‘विचौलिया मुक्त’ बनाइ थप प्रभावकारी बनाएको उल्लेख गरे।

कार्यालयका अनुसार, अनलाइन प्रणाली सुरु भएको पाँच महिनाको यस कार्यालयको कार्यक्षेत्रमा पर्ने विभिन्न स्थानीय तहको गरी ४० वटा वडा कार्यालयबाट अनलाइन सिफारिसमार्फत कूल एक हजार पाँच सय ८१ जना सेवाग्राहीले नागरिकता लिएका छन्।

Laxmi sunrise bank
kumari

यसमा लहान नगरपालिकाका २४ वटै वडाबाट आठ सय ५४ जना, भगवानपुर गाउँपालिकाका– पाँच वडाबाट दुई सय १२ जना, सखुवानन्कारकट्टी गाउँपालिकाका पाँच वडाबाट दुई सय एक जना, धनगढीमाई नगरपालिकाका–१२, १३ र १४ बाट एक सय ३४ जना, लक्ष्मीपुर पतारी गाउँपालिकाका –२ र ६ बाट एक सय २० जना र नवराजपुर गाउँपालिकाका–१ बाट ६० जना सेवाग्राही रहेका छन्।

सेवाग्राहीले सम्बन्धित वडा कार्यालयमा आवश्यक कागजपत्र लिएर गएपछि त्यहीँबाट अनलाइनमार्फत सिफारिस प्रक्रिया सुरु गरिन्छ। लहान इलाका प्रशासन कार्यालयले जिल्लामै पहिलोपटक अनलाइन नागरिकता सिफारिस सेवा सुरु गरेको हो।

सिफारिसका विवरणहरू सफ्टवेयर प्रणालीमा प्रविष्ट भएपछि ती जानकारी गृह मन्त्रालय अन्तर्गत रहेको नागरिकता फाँट विभागमा रजिष्ट्रेशन कोडको आधारमा प्रत्यक्ष रूपमा पहुँचयोग्य हुन्छन्। यसै प्रक्रियाबाट सेवाग्राहीले सहज रूपमा नागरिकता प्राप्त गर्न सक्ने कार्यालयले जनाएको छ।

प्रकाशित: Jul 28, 2025| 10:31 सोमबार, साउन १२, २०८२
प्रतिक्रिया दिनुहोस्