काठमाडौं- 'सेवा नै सर्वोच्च धर्म' यस मूल मर्मलाई आत्मसात् गर्दै जनस्वास्थ्यकर्मी तथा युवा समाजसेवी विशाल विश्वकर्माले आफ्नो जीवनलाई समाजसेवामा समर्पित गर्दै आएका छन्। हालै उनले आफ्नो वर्षौंदेखिको लामो कपाल क्यान्सर पीडित महिलालाई NEPAL CANCER HOSPITAL & RESEARCH CENTER मा अवस्थित नेपाल क्यानसर सहयोग समुह (ललितपुर) द्रारा आज दान गरेर मानवता, सहानुभूति र सामाजिक जिम्मेवारीको एउटा अनुपम उदाहरण प्रस्तुत गरेका छन्। यो केवल कपालको भौतिक दान मात्र थिएन, यो त क्यान्सरसँग जुधिरहेकी एक महिलाको आत्मबल, आत्मसम्मान र मुस्कान फर्काउने एउटा संवेदनशील प्रयास थियो।
महिलाको आत्मबल, सौन्दर्य र सामाजिक पहिचानमा पुरुषको मानवीय भूमिका
महिलाका लागि कपाल केवल टाउको ढाक्ने माध्यम मात्र होइन, यो उनको सौन्दर्य, आत्मविश्वास र सामाजिक पहिचानको अमूल्य प्रतीक हो। जब कुनै महिलाको कपाल झर्छ, चाहे त्यो हर्मोनको गडबडी, पोषणको कमी वा कुनै गम्भीर रोगका कारण होस्, यसले उनको मनमा गहिरो पीडा र मानसिक संवेदनशीलता उत्पन्न गराउँछ। पुरुषको तुलनामा महिलामा कपाल झर्ने समस्यालाई अस्वाभाविक र चिन्ताजनक मानिने हुँदा छोरीहरूमा यसको असर अझ बढी पर्छ। यहीँ पुरुषको महत्वपूर्ण भूमिका सुरु हुन्छ; हामीले हरेक महिना कपाल फाल्नुको सट्टा केही वर्ष पालेर क्यान्सर पीडित दिदीबहिनीहरूलाई दान गर्न सके, यो उनीहरूको लागि आशाको जीवन्त उपहार बन्नेछ, जुन शारीरिक अंगदानभन्दा कम छैन।
पुरुषत्वको नयाँ परिभाषा: अधिकारसहितको कर्तव्यबोध
पुरुष हुनु भनेको केवल केही अधिकारको उपभोग गर्नु मात्र होइन, समाज र परिवारप्रति निश्चित कर्तव्य र जिम्मेवारीहरू निर्वाह गर्नु पनि हो। पुरुषले परिवारको सुरक्षा र पालनपोषण गर्दै समाजमा न्याय र समानताको वकालत गर्नुपर्छ। महिला तथा कमजोर वर्गको सम्मान र संरक्षण गर्नु, हिंसा र विभेदको अन्त्यका लागि आवाज उठाउनु, तथा लैङ्गिक समानताको अभ्यास गर्नु पुरुषको सामाजिक कर्तव्य हो। जब पुरुषले आफ्ना अधिकारसँगै कर्तव्यको पनि पालना गर्छन्, तब मात्र एक सन्तुलित, न्यायपूर्ण र सभ्य समाजको निर्माण सम्भव हुन्छ।
सपनाको मार्ग परिवर्तन: डाक्टरबाट समाज सुधारकको यात्रा
दैलेखबाट राजधानी काठमाडौँ आइपुगेका विशालको प्रारम्भिक सपना चिकित्सक बन्ने नै थियो। तर, राजधानीमा बस्दा देश नै बिरामी र जनता उपेक्षित देखेका उनले आफ्नो मार्ग परिवर्तन गर्दै जनस्वास्थ्य सेवा र समाजसेवाको सहयात्रा रोजे। लिटिल बुद्ध कलेज अफ हेल्थ साइन्समा जनस्वास्थ्य विषय अध्ययन गरेर उनले आफ्नो शैक्षिक ज्ञानलाई समाजको हितमा रूपान्तरण गर्ने अभ्यास गरिरहेका छन्। उनको शैक्षिक उत्कृष्टता, सेवाप्रतिको समर्पण र नेतृत्व क्षमताले विशेषगरी सर्वहारा वर्ग तथा युवा पुस्तालाई गहिरो रूपमा प्रेरित गरिरहेको छ।
विशालको अपिल: 'उदाहरण बनौँ, अनुकरण होइन'
विशाल विश्वकर्माको स्पष्ट सन्देश छ: "हामी सबैसँग केही न केही दिन, गर्न सकिने क्षमता हुन्छ। कसैले रक्तदान गर्छ, कसैले शिक्षादान, मैले पनि गर्दै आएको छु, आज कपाल दान गरें। यदि मेरो यो सानो कार्यले एकजना क्यान्सर पीडित महिलाको आत्मबल फर्काउन सघाउँछ भने, त्यही नै मेरो जीवनको सबैभन्दा ठूलो उपलब्धि हुने मेरो विश्वास छ।"
अन्तिम निष्कर्ष: छोटो कपाल, गहिरो सन्देश
विशाल विश्वकर्माको यो अभियान सामान्य देखिए पनि गहिरो सामाजिक सन्देश बोकेको छ। कपाल पाल्ने र गुमायका महिलाहरूका लागि यो अभियानले कपालको मूल्य र आत्मबलबीचको सम्बन्धलाई अझै गहिरो रूपमा महसुस गराउने काम गरेको छ। त्यस्तै पुरुषहरूका लागि यसले कपाल दानसम्बन्धी दृष्टिकोणलाई पुनः परिभाषित गर्न सक्ने शक्ति राख्छ। यो अभियान साहस, संवेदनशीलता, सहानुभूति र सेवा भावनाको प्रतीक बनेको छ। नेपालका युवाहरूका लागि यो अभियानको मूल सन्देश: "छोटो कपालबाट पनि ठूलो चेतना फैलाउन सकिन्छ।" र "रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्न नदिनु नै राम्रो।"