जुम्ला- उच्च अदालत सुर्खेत, जुम्ला इजलासले ९३ प्रतिशत मुद्दा फर्छ्यौट गरेको छ। जुम्ला इजलासका मुख्य न्यायाधीश श्यामजी प्रधानका अनुसार गत आर्थिक वर्ष २०८१-८२ मा दर्ता भएकामध्ये ९३ दशमलव ०८ प्रतिशत मुद्दा फर्छ्यौट गरिएको छ।
आव २०८१-०८२ मा नयाँ दर्ता भएका १९१ र जिम्मेवारी सरेका २६ मुद्दा गरी कूल २१७ वटा मुद्दा दर्ता भएका थिए। जसमा गत आवको असार मसान्तसम्म कूल दर्ता भएका मुद्दामध्ये २०२ वटा अर्थात् ९३ दशमलव ०८ प्रतिशत मुद्दा फर्छ्यौट भएको र अब १५ वटा मात्र मुद्दा बाँकी रहेको मुख्य न्यायाधीश प्रधानले जानकारी दिए।
वार्षिक लक्ष्य १७८ रहेकामा लक्ष्यभन्दा बढी मुद्दा किनारा लगाउन अदालत सफल भएको प्रधानले बताए। आव २०७९-०८० देखि २०८१-८२ सम्म तीन वर्षको तुलना गर्दा आव २०८१-८२ मा सबैभन्दा बढी मुद्दा फर्छ्यौट भएको सो अदालतले स्पष्ट गरेको छ।
पछिल्लो तीन आवका वार्षिक मुद्दाको लगत, फर्छ्यौटको तथ्यांक हेर्दा आव २०७९-०८० मा कूल २५५ मुद्दामध्ये २०५ वटा अर्थात् ८० दशमलव ३९ प्रतिशत मुद्दा फर्छ्यौट भएको थियो। त्यस्तै आव २०८०-८१ मा दर्ता भएका २७९ मध्ये २५३ अर्थात् ९० दशमलव ६८ प्रतिशत मुद्दा फर्छ्यौट भएको सो अदालतले जनाएको छ।
यसैगरी गत आवमा थुनुवा मुद्दा सङ्ख्या ४३ रहेकामा ४० मुद्दा फर्छ्यौट भएका छन्। जुम्ला इजलासमा रिट निवेदनतर्फ ३४, जबर्जस्ती करणी ६२, ज्यान मार्ने उद्योग १४, कर्तव्य ज्यान १०, बहुविवाह पाँच, सम्बन्धविच्छेद दुई, सवारी ज्यानतर्फ चार, अङ्गभङ्ग दुई र मानव बेचबिखन तथा ओसारपसारतर्फ पाँच वटा मुद्दा दर्ता भएका थिए।
त्यस्तै जातीय विभेदतर्फ दुई, लागूऔषधमा १४, अवहेलनामा दुई, हातहतियार तथा खरखजानामा चार, चोरीमा नौ, अंशसम्बन्धी चार र अन्य अन्यतर्फ ३४ वटा मुद्दा गत आर्थिक वर्षमा दर्ता भएको सो अदालतले जनाएका छ।