शनिबार, जेठ २४, २०८२

बाढीको डरले घर छाड्दै

तीन तिर जोगबुडा नदी र अर्कोतर्फ महाकाली नदीले घेरेको दोधारा चाँदनीको टापुको बस्ती कुतियाकवर हरेक वर्ष बाढीबाट प्रभावित हुँदै आएको छ।
 |  शनिबार, जेठ २४, २०८२
nespernesper

महादेव अवस्थी

महादेव अवस्थी

शनिबार, जेठ २४, २०८२

vianetvianet

कञ्चनपुर- कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१० कुतियाकवरका खड्के बुढा बाख्रा, गाईभैँसी र बालबच्चासहित कुतियाकवरबाट जोगबुढा वारि सरेका छन्।

बाढीबाट जोगिन उनीसँगै अन्य तीन परिवार पनि कुतियाकवरबाट बसाइ सर्न थालेका छन्। तीन तिर जोगबुडा नदी र अर्कोतर्फ महाकाली नदीले घेरेको दोधारा चाँदनीको टापुको बस्ती कुतियाकवर हरेक वर्ष बाढीबाट प्रभावित हुँदै आएको छ।

सरकारले जोगबुढा नदिमा तटबन्ध निमार्ण थालेपछि बाढीबाट जोगिने आशामा रहेका कुतियाकवरबासी तटबन्ध निमार्णको काम रोकिएपछि बाढीको डरले बस्ती छोडेर सुरक्षित स्थान खोज्न थालेका हुन्।

‘विसं २०७८ को बाढीले गाइभैसी, बाख्रा सबै बगायो घरमा रहेको अन्न पनि बचेन,’ विगत सम्झिदै यहाँका स्थानीय खड्के बुढाले भने, ‘यस पटक मौसम विभागले पनि धेरै वर्षा हुन्छ भनेको छ यहाँ धेरै बाढी आउँछ बाख्रा भैंसी बचाउन पारिपट्टि सर्दैछु।’

सरकारले जोगबुढा नदीमा तटबन्ध निमार्णको काम सुरु गरेपछि बाढीबाट जोगिने आशा पलाएको बुढाले बताए। नदीमा पानी बढेपछि तटबन्ध निमार्णको काम बन्द भएकाले गाउँमा बाढीको त्रास फैलिएको उनको भनाइ छ।

National life insurance

‘यहाँ बाढीले हरेक वर्ष कटान गर्दै आएको छ, महाकालीको बाढी बस्ती पस्दा ज्यान जोगाउन मुस्किल हुन्छ,’उनले भने, ‘गत वर्ष नेपाली सेना र दातृ निकायको सहयोगमा दुई वटा सेफ हाउस बनेपछि राहत मिलेको छ।’

उनले बाढीको त्रासले बस्तीका अन्य तिन परिवार पनि जोगबुढा पारि बसाइँ सर्न थालेका बताए। केही वर्ष अघिसम्म बाक्लो बस्ती रहेको कुतियाकवर बाढीकै कारण यहाँबाट धेरै बसाइसरेर अन्यत्र गएपछि पातलिँदै गएको छ।

स्थानीय टेकवहादुर सुनारले कुतियाकवरबासी हरेक वर्ष बाढीको चपेटामा पर्दै आएको बताए। ‘नदीमा तटबन्ध बन्न थालेपछि यस वर्ष बाढीबाट सुरक्षित भइएलाकी भन्ने थियो तटबन्ध पुरा हुन सकेन,’ सुनारले भने, ‘बर्खा सुरु हुनलागेपछि यहाँका चार परिवार बाढीको डरले सुरक्षित स्थान खोज्दै बसाइ सर्न थालेका छन्।’

उनले जोगबुडा र महाकाली दुवै नदीले कटान गरेर यहाँको बस्ती उच्च जोखिममा रहेको बताए। केही वर्षअघि यहाँ ४९ परिवारको बसोबास रहेको थियो। हाल यहाँ ३९ परिवारको बसोबास छ । बाढीकै कारण केही भारत पसेका छन भने केही सुरक्षित स्थान खोज्दै अन्यत्र जानथालेका छन्।

पूर्वमा महाकाली र उत्तरमा जोगबुढा नदीको दोसाधमा रहेको कुतियाकवर दक्षिणमा भने भारतसित जोडिएको छ। विसं २०७४ मा जोगबुढा नदीमा झोलुङ्गे पुल बनेपछि नगरसित जोडिएको कुतियाकवरमा बर्सेनि जोगबुढा र महाकाली नदीले जमिन कटान हुँदै आएको छ।

करिब ५० बिघाह क्षेत्रफल रहेको बस्ती हरेक वर्ष हुने कटानले साघुँरिदै गएको छ । बाढिबाट कुतियाकवर बस्ती जोगाउँन जनताको तटबन्ध कार्यालयले जोगबुढा नदीमा ८१६ मिटर लामो तटबन्ध निमार्णको काम सुरु गरेको थियो ।

ढिला गरी ठेक्का सुरु भएको र नदीमा पानी बढेपछि निमार्ण व्यवसायिले काम गर्न नसकेको जनताको तटबन्ध कार्यालयका ईन्जिनियर करुणाकर पन्तले जानकारी दिए।

‘बजेटको सुनिश्चितताका कारण पनि ढिलो गरि ठेक्का सम्झौता भयो,’ उनले भने, ‘अहिले जोगबुढा नदीमा पानी बढेका कारण निमार्ण व्यवसायिले काम गर्न नसकेका हुन्।’

उनले बस्तीलाई बाढीबाट सुरक्षित गर्ने लक्ष्य अनुसार तीब्र रूपमा काम भएपनि नदीमा पानीको बहाव बढेका कारण तटबन्ध निमार्ण सम्पन्न गर्न नसकिएको बताए। उनका अनुसार तटबन्ध निमार्णको २५ प्रतिशत काम सम्पन्न भएको छ।

तटबन्ध निमार्णका लागि कार्यालयले २०८१ चैत २५ गते रु पाँच करोड १६ लाख ६७ हजारमा शङ्कर कन्ट्रक्सनसँग ठेक्का सम्झौता गरेको थियो । सम्झौताअनुसार ८१६ मिटर लामो तटबन्ध २०८२ चैतभित्र सम्पन्न गरिसक्नुपर्ने छ।   -रासस

प्रकाशित: Jun 07, 2025| 07:15 शनिबार, जेठ २४, २०८२
प्रतिक्रिया दिनुहोस्

थप समाचार

बाढीको डरले घर छाड्दै

बाढीको डरले घर छाड्दै

तीन तिर जोगबुडा नदी र अर्कोतर्फ महाकाली नदीले घेरेको दोधारा चाँदनीको टापुको बस्ती कुतियाकवर हरेक वर्ष बाढीबाट प्रभावित हुँदै आएको छ।