शनिबार, पुस १२, २०८२

मनसुन यसै साता भित्रिँदै

 |  मंगलबार, जेठ १३, २०८२

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ १३, २०८२

यस वर्षको मनसुन यसै साताको अन्त्यसम्ममा नेपालको पूर्वी भू-भागबाट प्रवेश हुने सम्भावना देखिएको जल तथा मौसम विज्ञान विभागले बताएको छ।

National life

विभागले आज साँझ मनसुन आगमन अनुगमन बुलेटिन जारी गर्दै मनसुनको प्रक्षेपण गरेको हो।

आज मंगलबार भारतको आसामका केही भू-भागहरू तथा भुटान र बंगलादेशको पूर्व भू-भागहरूसम्म मनसुनको आगमन भएको विभागको भनाइ छ। 'नेपालको पूर्वी भू-भागबाट मनसुनको आगमन हुने सरदर मिति जुन १३ तारिख हो तर यस वर्षको मनसुन आगमन सरदरभन्दा छिटो हुने देखिन्छ। भू-उपग्रहबाट प्राप्त बादलका तस्वीर, वायुमण्डलीय तथा मौसम मोडेलबाट प्राप्त तथ्याङ्कको विश्लेषणको आधारमा यस वर्षको मनसुन यसै साताको अन्त्य सम्ममा नेपालको पूर्वी भू-भागबाट प्रवेश हुने सम्भावना देखिएको छ,' बुलेटिनमा भनिएको छ।
 
मनसुनी प्रणालीलाई मौसम पूर्वानुमान महाशाखाले निरन्तर अनुगमन गरिरहेको र सोही अनुसार नियमित रूपमा अद्यावधिक गर्दै लगिने बताइएको छ।

आजमात्रै प्रधानमन्त्री केपी शर्मा ओलीले आशन्न मनसुनको पूर्वानुमान र सम्भावित विपद् जोखिम न्यूनीकरणका विषयमा आज बबरमहलस्थित जल तथा मौसम विज्ञान विभाग पुगेर जानकारी लिएका छन् ।  

यस वर्ष गत वर्षको भन्दा बढी वर्षा हुने पूर्वानुमान गरिएको अवस्थामा विभागको पूर्वानुमान-सूचना प्रवाह कसरी भइरहेको छ र यसलाई थप प्रभावकारी बनाई जनधनको क्षति कसरी रोक्न सकिन्छ भन्नेबारेमा प्रधानमन्त्री ओलीले चासो लिएका हुन् ।

Laxmi sunrise bank
kumari

विभागको अध्ययन र प्रस्तुति सुनेपछि प्रधानमन्त्री ओलीले विभागको पूर्वानुमान र सूचना प्रवाहलाई लक्षित क्षेत्रका जनताले बुझ्ने सरल भाषामा प्रभावकारी रुपमा सम्प्रेषण गर्न निर्देशन दिए । विभागका सबै स्टेशनहरु तन्दुरुस्त हालतमा राख्न र अतिवृष्टि हुने खास क्षेत्रबारे स्थानीय तह, सुरक्षा निकाय र आमसञ्चारका माध्यमबाट समेत सुसुचित गरेर मानवीय र भौतिक क्षति हुन नदिने तर्फ सचेत हुन प्रधानमन्त्री ओलीको आग्रह थियो ।  

विभागका महानिर्देशक कमलराम जोशीले यसवर्ष यही जेठ १८ गतेदेखि आगामी असोज १४ मनसुन अवधि हुने र गण्डकी प्रदेश, लुम्बिनी प्रदेशको उत्तरी भाग र कर्णाली प्रदेशको पूर्वी भागमा सरदरभन्दा बढी वर्षा हुने जानकारी गराए ।  
 

प्रकाशित: May 27, 2025| 19:02 मंगलबार, जेठ १३, २०८२
प्रतिक्रिया दिनुहोस्