बिहीबार, जेठ १५, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • भिजिट भिसा प्रकरण: आर्थिक सर्वेक्षण संसद्‍मा प्रस्तुत हुन पाएन, के होला बजेट ?

भिजिट भिसा प्रकरण: आर्थिक सर्वेक्षण संसद्‍मा प्रस्तुत हुन पाएन, के होला बजेट ?

 |  मंगलबार, जेठ १३, २०८२
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ १३, २०८२

vianetvianet

काठमाडौं- संघीय संसद् प्रतिनिधि सभाको बैठक बुधबार बिहान ११ बजे बस्ने गरी स्थगित गरिएको छ।

आज बिहान ११ बजे बसेको बैठकमा भिजिट भिसाको विषयलाई लिएर विपक्षी दलहरुले विरोध जनाएका थिए। त्यसपछि बैठक दिउँसो साढे दुई बजेसम्मका लागि स्थगित भएको थियो।

बैठक फेरि नबसी सूचना टाँस गरेर बुधबार बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको सभामुखको सचिवालयले जनाएको छ।

आजको बैठकमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै विपक्षी दलहरू माओवादी केन्द्र, रास्वपा, एकीकृत समाजवादीसहितका दलले संसद् अवरोध गरेका थिए। भिजिट भिसा प्रकरणमा संलग्न रहेको आरोप लागेका मन्त्री लेखकले सम्बोधन गर्ने कार्यसूची रहे पनि प्रतिपक्षीको अवरोधका कारण उनले सम्बोधन गर्न पाएनन्।

माओवादी सांसद वर्षमान पुन र रास्वपाका सांसद शिशिर खनालले लेखकले राजीनामा दिनुपर्ने माग गरे। खनालले लेखकले राजीनामा नदिएसम्म बैठक नचल्ने बताएपछि केहीबेर बैठक अवरुद्ध भएको थियो। सभामुखले विपक्षी सांसदलाई बैठक अवरुद्ध नगर्न पटकपटक गरेको आग्रह उनीहरूले नटेरेपछि बैठक आधा घण्टाका लागि स्थगित भएको थियो। बैठक स्थगित भएपछि सभामुख घिमिरेले विभिन्न दलका सचेतकहरूसँग छलफल गरेका थिए।

National life insurance

छलफलमा विपक्षी सांसदहरूले गृहमन्त्री लेखकले राजीनामा नदिएसम्म बैठक चल्न नसक्ने अडान राखे। त्यसपछि सभामुखको निर्देशनमा बुधबारसम्मका लागि बैठक स्थगित गरिएको हो।

भिजिट भिसामा विदेश जानेहरूसँग सेटिङ मिलाएर रकम लिने काममा सचिवालय संलग्न रहेको आरोप लागेपछि गृहमन्त्री लेखक विवादमा तनिएका हुन्।

प्रतिनिधि सभाको आजको बैठकमा अर्थमन्त्री विष्णु पौडेलले आव २०८१/८२ को आर्थिक सर्वेक्षण पेस गर्ने सम्भावित कार्यसूची तय भएको थियो। हरेक वर्ष बजेट सार्वजनिक हुनुअघि आर्थिक सर्वेक्षण संसद्‍मा प्रस्तुत हुने गर्छ । आर्थिक सर्वेक्षण संसद्‍मा पेस भएपछि मात्र सार्वजनिक हुने गर्छ । 

प्रतिपक्षीको अवरोधका कारण बजेटसमेत प्रभावित हुन सक्ने देखिएको छ। यही अवस्था रहेमा अर्थमन्त्रीले संसद् बैठकमा बजेट प्रस्तुत गर्ने सम्भावना रहँदैन । हरेक वर्षको जेठ १५ गते बजेट सार्वजनिक गर्नुपर्ने व्यवस्था संविधानमै छ । दलहरूबीच सहमति कायम नभए बजेट नै सकसमा पर्नेछ । 

प्रकाशित: May 27, 2025| 16:29 मंगलबार, जेठ १३, २०८२
प्रतिक्रिया दिनुहोस्