काठमाडौं- देशभर पछिल्लो एक महिनामै आगलागीबाट ११ जनाले ज्यान गुमाएका छन्।
जसमा तीन पुरुष, पाँच महिला, दुई बालक र एक बालिका छन्। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाले गएको वैशाखको तथ्यांक विश्लेषण गर्दा सो अवधिमा आगलागीबाट ६७ जना घाइते भएको पनि जानकारी दिए। घाइते हुनेमा २७ पुरुष, ३२ महिला र आठ बालबालिका छन्।
आगलागीका घटनामा बढोत्तरी भएसँगै ठुलो भौतिक तथा मानवीय क्षति हुने गरेको उनले बताए। नागरिक सचेत भए पनि धेरै घटना रोक्न सकिने जनाइएको छ। प्रहरीले एक महिनामा आगलागीबाट १५१ घर, १०१ गोठ र तीनवटा सरकारी कार्यालयमा क्षति पुगेको जानकारी दिएको छ। आगलागीबाट १८९ पशुचौपायासमेत मरेका छन्।
ती आगलागीका घटनाबाट २४ करोड १९ लाख ५९ हजारभन्दा बढीको आर्थिक क्षति पनि भएको प्रहरीको तथ्यांकमा उल्लेख छ। आगलागीबाट ११० परिवार विस्थापित नै भएका छन्। एक महिनामै ६३४ वटा आगलागीका घटना भएको पनि प्रहरी प्रधान कार्यालयले जनाएको छ।
कुन प्रदेशमा कति आगलागीका घटना ?
प्रहरीका अनुसार वैशाख महिनामा सबैभन्दा बढी आगलागीका घटना लुम्बिनी प्रदेशमा भएका छन्। उक्त प्रदेशमा १४३ वटा आगलागीका घटना भएका छन्। त्यसपछि १३६ वटा आगलागीका घटना कोशी प्रदेशमा भएका छन्। यसैगरी, १०४ वटा आगलागीका घटना मधेश प्रदेशमा भएको पनि प्रवक्ता थापाले बताए।
यसैगरी, बागमतीमा ६४, काठमाडौं उपत्यकामा ३२, गण्डकी प्रदेशमा ५३, कर्णाली प्रदेशमा ४३ र सुदूरपश्चिम प्रदेशमा ५९ वटा आगलागीका घटना भएको प्रहरीले जानकारी दिएको छ। धेरै आगलागीका घटना मानवीय कारणले हुने गरेको आगलागीसँग सम्बन्धित विज्ञहरूले बताउँदै आएका छन्।