काठमाडौं- सामाजिक सञ्जालमार्फत चिनजान भएका युवकलाई ब्ल्याकमेल गरी रकम असुलेको आरोपमा दुई युवतीलाई प्रहरीले पक्राउ गरेको छ।
कैलालीको गोदावरी नगरपालिका–१० की ३४ वर्षीया ममता तामाङ र भक्तपुर नगरपालिका–१७ की ३४ वर्षीया आँचल चौगुठीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।
यी युवतीले एक युवकलाई ठमेलमा बोलाएर मदिरा सेवन गराई हनी ट्र्यापमा पारेका थिए। त्यसक्रममा युवकका निजी फोटो र भिडियो खिची ब्ल्याकमेल गर्दै बलात्कारमा फसाउने धम्कीसमेत दिएको प्रहरीले जनाएको छ।
सुरुमा ती युवतीहरूले मुद्दा मिलाउन काठमाडौंमा चार आना जग्गा मागेका थिए। बार्गेनिङ गर्दै अन्तिममा ५ लाख रुपैयाँको चेक लिएर गएको उजुरी परेपछि अनुसन्धान सुरु भएको थियो।
घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।