कञ्चनपुर- पढाइको चाहना पूरा गर्न उमेर तगारो नहुँदो रहेछ। यही कुरालाई सत्य प्रमाणित गरिदिएकी छिन् लालझाडी गाउँपालिका–४ पर्सीयाकी डल्लीदेवी चौधरीले।
बाउन्न वर्षको उमेरमा चौधरीले विद्यालयमा भर्ना भएर पढ्न थालेकी छन्। गाउँकै स्वतन्त्र माध्यमिक विद्यालयमा कक्षा १ मा भर्ना भएर उनले पढ्न थालेकी हुन्। चौधरी गाउँपालिका–४ को वडा सदस्य हुन्। उनी पढ्नका लागि भर्ना भएको विद्यालय व्यवस्थापन समिति सदस्य पनि हुन्।
“सानैदेखिको विद्यालय गएर पढ्ने चाहना थियो”, उनेले भनिन्, “पढ्नै पाइएन, सँगैका जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समितिका साथीहरूले हस्ताक्षर गर्नुहुन्छ, मैले औंठा लगाउनुपर्ने हुन्छ, यस्तो अवस्थामा मनभित्र हीनताबोध हुन्छ।” पढ्न पाएको भए यस्तो हुँदैनथ्यो भन्ने कुरा मनभित्रै खेल्ने गरेकाले हिम्मत गरेर पढेर साक्षर बन्नका लागि विद्यालय भर्ना भएको उनले बताए।
“विद्यालय व्यवस्थापन समितिको बैठकमा सहभागी सदस्यहरूले आफूले यति उति पढेको कुरा सुनाउन थाले आफू नपढेकाले हीनता महसुस गरें”, उनले भनिन्, “मैले पनि पढेको भए अहिले फुइ लगाउथे भनेर सोच्न थाले, बैठकमै सहभागी शिक्षकले उमेर जति भए पनि पढनका लागि उमेर तगारो हुँदैन भनेर हौसला बढाएपछि मनभित्रैबाट पढ्ने पुनः इच्छा पलायो, त्यसपछि भर्ना भए, विद्यालयबाट किताब लगेर अध्ययन गर्न थालेको छु।”
वडाको कामले गाउँमा खटिनुपर्ने हुँदा नियमित विद्यालय जान नपाए पनि घरमा रहेका नातिनीहरूबाट बाह्रखरी, दुनालगायत पढ्न र सिक्न थालेको उनले बताइन्। समय मिलेको बेला कक्षामै अरू विद्यार्थीसँगै बसेर पढ्न पनि जाने गरेको उनले बताइन्। धेरै वर्ष पहिले गाउँमा सञ्चालन भएको अनौपचारिक (प्रौढ) कक्षामा क, ख र १, २ सिकेको भए पनि बाह्रखरी र दुना नसिक्दा पढन लेख्नबाट वञ्चित भएको उनले बताइन्। अनौपचारिक कक्षामा पूरै समय दिन नसक्दा लेख्न र पढ्न जान्ने हुन नसकेको उनको भनाइ रहेको छ।
“बुबा किसान (जमिदार)को घरमा कमैया भएर काम गर्नु हुन्थ्यो”, उनले भनिन्, “सानै छँदा विद्यालय पढ्छु भनेर बुबालाई नभनेको होइन, उहाँले पढ्ने कुराप्रति फिट्टिकै ध्यान दिनुभएन, सानै भएकाले आफूले विद्यालय जाने हिम्मत गरिन। १०-१२ वर्षको उमेर भएपछि गोठाला जान थालेँ त्यसपछि विद्यालय जाने कुरा बिर्सिएँ।” तेह्र वर्ष पुग्नै लाग्दा विवाह भयो। घरधन्दा गर्नमै उनका दिन बित्न थाले।
“विवाह भएर आएपछि ससुरालमा भान्साको काम सुम्पियो”, उनले भनिन्, “पूरै परिवारका लागि साँझ बिहानको खाना पकाउनुपर्थ्यो, खाना पकाउन, खुवाउन र भाँडाकुँडा सफा गर्नमै दिन बित्थ्यो, बचेको समयमा खेतबारीमा काम गर्नमै ठिक्क हुन्थ्यो।” चुलोचौकाबाट फुर्सद नै नहुने भएपछि पढ्ने कुरा सोच्न पनि नपाइएको उनले बताइन्। “विवाह भएको तीन चार वर्षमै बच्चाबच्ची जन्मिए, बच्चाबच्चीलाई हुर्काउनमै समय बित्दै गयो”, उनले भनिन्।
आफूले नपढे पनि छोराछोरीलाई पढाउनुपर्छ भनेर त्यसतर्फ लागेको उनले सुनाइन। छोरीछोराले एसइई परीक्षा उत्तीर्ण गर्न नसके पनि छोरीलाई सीपमूलक कार्यमा संलग्न गराउनुपर्छ भनेर सिलाइकटाइको कार्य सिकाएर आत्मनिर्भर बनाएपछि विवाह गरेको उनी बताउँछिन्।
छोरालाई इन्टरनेट जडानको कार्यको सीप सिकाएर आत्मनिर्भर बनाएको उनको भनाइ रहेको छ। उनले छोरीको विवाह भने गरिसकेकी छन्। “वडा सदस्यमा पहिलोपटक निर्वाचित भएर आएपछि समाजका अगाडि बोल्न निकै गाह्रो हुन्थ्यो”, उनले भनिन्, “वडा सदस्यमै दोस्रो कार्यकाल बित्न लागेको छ, अब सबैका अगाडि विकासका कार्य, सामाजिक कार्य, रीतितिथी बसाल्ने कार्यसँगै गाउँमा हुने सामाजिक कार्यमा नियमित भाग लिने भएकाले बोल्न सिकेको छु।”
उनले थपिन्, “जनताको आवाज गाउँसभामा लगेर राख्न सक्ने भएको छु, केबल खाँचो छ पढ्न लेख्नको, त्यो पनि पूरा गरेरै छाड्छु।” उनका अनुसार पढ्नका लागि विद्यालय भर्ना भएपछि विद्यालय व्यवस्थापन समितिका सदस्य, शिक्षक, गाउँपालिकाका जनप्रतिनिधि, गाउँका भद्रभलादमीले हौसला बढाउने कार्य गरिरहेका छन्।
आउँदो स्थानीय तहको चुनावमा वडाध्यक्षको चुनाव लड्नुपर्छ, वडाध्यक्ष बन्नुपर्छ भनेर अहिलेदेखिने दबाब आउन थालेको उल्लेख गर्दै उनले चुनाव आउनअगावै पढ्ने लेख्ने कुरामा पोख्त बन्नका लागि निकै मेहनत गर्नुछ, त्यसैका लागि बढी समय दिन थालेको बताइन्।
विद्यालयका प्रध्यानाध्यापक जगन्नाथ भट्टले वडा सदस्य चौधरीलाई विद्यालयमा कक्षा १ मा भर्ना गरी पढ्नका लागि किताब उपलब्ध गराइएको बताए।। “उहाँको पढ्ने प्रवल इच्छा रहेछ”, उनले भने, “उहाँकै इच्छाअनुसार भर्ना गरी कक्षामा सहभागी हुनका लागि आग्रह गरेका छौं, उहाँलाई बाह्रखरीसँगै वर्णविन्यास, दुनालगायत लेख्न पढ्न सिकाउने कार्य गर्छौं।”
खरर किताब पढ्ने र चुस्त दुरूस्त रूपमा हिसाब गर्न सक्ने गरी पढाएर निपूर्ण बनाउने उनले बताए। “वडा सदस्यलाई पनि मेहनत गराउँछौं”, उनले भने, “कक्षा शिक्षकहरूलाई सिकाउने कार्यमा बढी जोड दिन भनेका छौं, भर्खरै कक्षा सञ्चालन भएकाले उहाँले कक्षामा सहभागी भएर पढ्ने इच्छा जाहेर गर्नुभएको छ। पढ्नका लागि आउनुहुन्छ।” रासस