डोल्पा, दैलेख र सुर्खेतका डाक्टरहरूले कर्णाली प्रदेशमा अझै पनि विरामी भए सुरूमा देवतालाई देखाउने र निको नभए डाक्टरलाई देखाउने प्रचलन रहेको बताएका छन्। श्री ज्योति फाउन्डेसनले गरिरहेको छोरी सम्मेलनको आइतबारको सत्रमा बोल्दै उनीहरूले यस्तो बताएका हुन्।
डोल्पा जिल्ला अस्पतालका डाक्टर रोजी थपलियाले समयमा अस्पताल नआएका कारण गर्भवती महिलाको गर्भ तुहिने देखि बालबलिकालाई कुपोषण हुनेसम्मका समस्या रहेको बताइन्। 'गाउँबाट एउटा बुबाले छोरालाई अस्पताल ल्याउनुभयो। केही दिन देउतामा राखेर ल्याउनुभएको रहेछ। अवस्था निकै कमजोर भएकाले किन ढिलो ल्याउनु भयो नि भनेर सोधें,' उनले भनिन्, 'देउताले सन्चो गरेन अनि अस्पताल ल्याएको भन्नुभयो।'
उनले समयमा अस्पताल नआएका कारण कतिपयको गर्भ तुहिने गरेको पनि बताइन्। 'ठूलो भूगोल, विकट छ। यहाँ भीरमा लडेर पनि मान्छेले ज्यान गुमाउँछन्। अनि अकाल मृत्युको समस्या ठूलो छ, ' उनले भनिन्, 'जडीबुटी, प्राकृतिक सुन्दरताको धनी कर्णाली अझै पनि शिक्षा, स्वास्थ्यको अभावमा धेरैले अकालमा ज्यान गुमाएका छन्।'
दैलेखकी डाक्टर पूजा विसीले दैलेख र कालिकोटको समस्या पनि डोल्पा भन्दा फरक नभएको अनुभव सुनाइन्। 'मैले सुरुमा कालिकोटमा पनि काम गरें। पछि दैलेख दुल्लूमा बसेर काम गरें। महिला डाक्टरलाई सम्मान गर्नेहरु पनि हुनुहन्छ, ' उनले भनिन्, 'समस्याहरु धेरै हुन्छन्, त्यसलाई सहज तरिकाले हल गर्न सक्नुपर्छ।
सुर्खेतकी डाक्टर अर्चना कार्कीले छोरा र छोरीबीचको विभेद कायमै भएकाले कतिपय छोरीले चाहेर पनि डाक्टर बन्न नसकेको बताइन्। 'कुनैपनि बच्चा जन्मदा छोरी वा छोरा भएर जन्मिदैन, त्यो बच्चा हुन्छ। परिवारको हुर्काइ कस्तो हुन्छ भन्नेमा भर पर्छ। समाज कस्तो छ, परिवार कस्तो छ ? त्यसमा पनि भर पर्दो रहेछ,' उनले भनिन्, 'हामी फाइटर हो, समाजको अंग पनि हो। समाजले ठूलो भार थुपारेको छ।'