पाँच अमृतमध्ये दही एक ‘अमृत’ मानिन्छ। हिन्दू संस्कारअनुसार कुनै शुभकार्यमा जानुपर्यो भने दही खुवाउने चलन छ। दसैंमा चामल र दही मुछेर टीका लगाउने चलन छ। दही नेपाली हिन्दू संस्कृतिको अभिन्न अंग मानिन्छ।
नेपालमा भक्तपुरको जुजु धौको स्वादका बारेमा नजान्ने कोही छैनन् होला।
अहिले विभिन्न रेडियो, पत्रपत्रिका, टीभीमा पेट ठिक पार्न ‘ल्याक्टो ब्यासीलाई’ खानुस् अनि बट्टामा राखेको झोल पदार्थ कलाकारले खाएर ठिक भएको प्रचार गरिन्छ। तर पेट ठिक पार्न, खाना पचाउन दही–मोहीको सेवन उत्तम हुन्छ किनभने यसैमा छ– ‘ल्याक्टो ब्यासीलाई’।
उमेर बढ्दै गएपछि कतिपयलाई दूध खाएपछि पेट गडबड हुन सक्छ, तर दूधबाट बनेको दही, मोही खाँदा उनीहरूलाई केही समस्या हुँदैन। किनभने दूधमा भएको ‘ल्याक्टोज’ नामक तत्त्व नपच्नेहरूलाई दही सजिलै पच्छ। विभिन्न वैज्ञानिक अनुसन्धानले देखाएका छन् कि दहीले पेटमा भएका असल कीटाणुलाई बढाउँछ। दहीले शरीरको रोगसँग लड्ने क्षमता बढाउँछ।
दहीमा भएको भिटामिन ‘बी १२’ ले स्वास्थ्यलाई फाइदा गर्छ। गर्मीको मौसमसँगै बट्टाको फलफूलको जुस, चिसो पेय पदार्थ आदिको प्रयोग धेरै गरिन्छ। अभिभावकले आफ्ना कलिला सन्तानलाई यस्तो जुस र चिसो पेय पदार्थ दिँदा खुसी महसुस गर्छन्। तर यस्तो पेय पदार्थले बच्चाको कलेजो, पेट, मुटु, मस्तिष्कमा खराबी पैदा गर्छ, बच्चाहरू जीवनभरिका लागि रोगी हुन्छन्।
तर अपशोच ! अहिलेको बजारमा आउने विज्ञापनमा अनेक कलाकारले यस्तो बट्टाको रस, चिसो पेय पदार्थको विज्ञापन गर्छन्। अनि सबैले यो त ठिक हो भन्ने ठान्छन्। सरकारको ‘जनस्वास्थ्य’ मा काम गर्ने स्वास्थ्य मन्त्रालयले यस्ता गलत विज्ञापनलाई वास्ता गर्दैन अनि नसर्ने रोग बढ्छन्।
दहीलाई पानीमा घोलेर मही बनाइन्छ। यसलाई मधेशतिर ‘छाछ’ वा ‘गोरस’ पनि भनिन्छ। दही मथेर नौनी निस्कन्छ, यसबाट घिउ बनाइन्छ। यी सबै वस्तु स्वास्थ्यका लागि फलदायक छन्। तराईको गर्मीमा त महीले शरीरमा पानीको कमी पनि पूर्ति गर्छ। पहिले किसानहरू खेतमा काम गर्न जाँदा ‘छाछ’ लिएर जान्थे किनभने ‘उनीहरूको काम गर्दाको प्यास र थकान छाछले कम गर्छ’ भन्ने जानकारी थियो। अपशोच अहिले किसानले मोही होइन, घटघट ‘कोल्ड ड्रिंक’ पिउँछन् अनि आफ्नो हड्डी, मस्तिष्क खराब पार्छन्।
पहिले–पहिले हजुरआमाहरूले बालबालिकालाई दही–भात मुछेर खुवाउने चलन थियो। यसले गर्दा बालबालिकाको ‘पेट ठिक रहन्थ्यो’। हजुरआमालाई दही र मोहीबारे वैज्ञानिक ज्ञान थिएन, तर फाइदा गर्छ भन्ने थाहा थियो। पहिले कब्जियत हुँदा दही र केरा मुछेर खुवाउने चलन थियो। दही र केराले कुपोषित व्यक्तिको स्वास्थ्य राम्रो पार्छ, बिरामीबाट तंग्रिन पनि मद्दत गर्छ भन्ने भनाइ छ। त्यसैले नै होला गाउँघरमा ठेकीमा दही, मोही बनाएर पाहुनालाई स्वागत गरिन्थ्यो।
कोल्ड ड्रिंक महँगो र स्वास्थ्यमा हानि गर्छ, मोही सस्तो र स्वस्थकर हुन्छ। मही वा छाछको प्रयोग बालबालिकालाई दिँदा पैसाको सदुपयोग र स्वास्थ्यका लागि पनि राम्रो हुन्छ। विभिन्न प्रकारका चिसो, गुलियो पेय पदार्थ वा बट्टामा राखेका फलफूलका जुसले बालबालिकालाई मोटो बनाउनुका साथै उनीहरूको हड्डी कमजोर गराउँछ, विभिन्न सूक्ष्म पोषक तत्त्वको कमी गराउँछ। जबकि, दही–महीले बालबालिकालाई स्वस्थ बनाउँछ, रोगसँग लड्ने शक्ति दिन्छ र पेट ठिक राख्छ।
बट्टाको जुसमा ७० प्रतिशतभन्दा बढी चिनी हुन्छ, फलफूलको नाममा रसायन राखिएको हुन्छ। त्यसैले धेरै दिनसम्म पनि यो बट्टामा राखिएको जुस बिग्रिँदैन तर यो खाँदा बच्चाको स्वास्थ्यचाहिँ बिग्रन्छ। त्यसैले पाँच अमृतमध्येको एक दही खाऔं। मोही खाऔं। ‘चिसो’ पेय पदार्थको प्रयोगले बालबालिकालाई सानोमा नै मधुमेह हुने सम्भावना बढ्छ, यसका बारे धेरै वैज्ञानिक अनुसन्धानले पुष्टि गरिसकेको छ।
हुन त दूध र दहीको प्रयोग गर्नु हुँदैन भन्ने केही व्यक्ति पनि छन्। माछा, मासु, मह, दूध र दूधजन्य वस्तुहरू केही नखाने उनीहरूले के तर्क गर्छन् भने ‘मानिसले जनावरको दूध वा दुग्धजन्य पदार्थ खानु ठिक छैन। यसले शरीरलाई हानि गर्छ।’ यस्ता व्यक्तिलाई ‘भेगान’ भनिन्छ। उनीहरूको तर्कसँग सहमत हुने मानिसले दूध–दही खाँदैनन्।
तर विभिन्न वैज्ञानिक अनुसन्धानले दही स्वास्थ्यका लागि उपयुक्त छ भनेर देखाएकाले ५ अमृतमध्ये एक दही, मोही प्रयोग गर्ने होइन त ?