ललितपुरको मंगलबजारमा ११ वर्षीया बालिकाको हत्या प्रकरणमा प्रहरीले उनका दाइलाई पक्राउ गरेको छ। मृतकका १५ वर्षीय दाइलाई पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।
प्रहरीका अनुसार मंगलबजार बस्ने भगबती बोहराले आफ्नी छोरी दुर्गा बोहरा चैत ४ गते रातिदेखि हराएको भनी जिल्ला प्रहरी परिसर ललितपुरमा निवेदन दिएकी थिइन्। सोही निवेदनका आधारमा खोजतलास गर्दा चैत २९ गते ललितपुर महानगरपालिका वडा नम्बर ९ खपिन्छेँस्थित बाबुराजा अवालेको पुरानो घरको भुइँ तलामा रहेको पानी ट्यांकीमा सडेगलेको अवस्थामा शव फेला परेको थियो।
त्यसपछि अपराध अनुसन्धान कार्यालयले जिल्ला प्रहरी परिसर ललितपुरको सहयोगमा अनुसन्धान गर्दा दाइको संलग्नता खुलेपछि उनलाई पक्राउ गरिएको हो। उनलाई आज मंगलबजार क्षेत्रबाट नियन्त्रणमा लिइएको छ।
अनुसन्धानबाट खुल्न आएका तथ्यहरुः
- मिति २०८१/१२/०६ गते जिल्ला बझाङ सुर्मा गा.पा. वडा नं. ०४ घर भई हाल जिल्ला ललितपुर ल.पु.म.न.पा. वडा नं. १२ मंगलबजार बस्ने मदन बोहरा र भगवती बोहराको छोरी बर्ष ११ की दुर्गा बोहरा चैत ४ गतेदेखि हराएको।
- आमा भगवती बोहराले छोरी हराएको भनी खोज तलासको लागी जिल्ला प्रहरी परिसर ललितपुरमा निवेदन दिएको।
- मिति २०८१/१२/२९ गते बिहान करिब १० बजेको समयमा जिल्ला ललितपुर ल.पु.म.न.पा. वडा नं. ०९ खपिन्छेस्थित बाबुराजा अवालेको ५ तल्ले घरको भुई तल्लामा रहेको प्रयोग विहीन सिमेन्टले बनाएको पानी ट्यांकीमा दुर्गा बोहराको लास फेला परेको।
- बाबुराजा अवालेको उक्त घरमा मृतकहरू भाडामा बसेको र मिति २०८१।११।२५ गते अन्यत्र डेरा सरेको।
- उक्त घरमा भाडामा बस्ने अर्को चमेली सुनारको परिवार पनि मिति २०८१।१२।०२ गते अन्यत्र डेरा सरे पश्चात् सो घरमा कोही नबसी घर खाली रहेको।
- मिति २०८१।१२।०४ गते मृतक र उनको दाजु पहिला डेरामा बस्ने गरेको अवालेको घरतर्फ जाँदै गरेको CCTV फुटेजमा देखिएको।
- दाजुबहिनी सँगै गएको फुटेज भेटिए पश्चात् दाजुमाथि शंका लागि सोधपुछ गर्दा उसले कोठा सर्दा छुटेका कपडाहरू लिन भनी दाजुबहिनी गएकोमा सामान्य विवाद हुँदा बहिनिलाई पिटी उक्त ठाउँमा रहेको नाइलनको डोरीले पछाडिबाट घाटी कसेर भुईंमा लडाई छोडी भागेको बताएको।
- दाजु बहिनीले नै लागु औषधको ट्याबलेट खाएको थियो र त्यसको नशामा आफू भएकोले त्यस्तो घटना हुन गएको कुरा बताएको।
- मिति २०८१/१२/०५ गते बिहान नशाले छोडेपछि आफूले हिजो बहिनी माथि गरेको आक्रमण सम्झी उक्त घटनास्थलमा गई हेर्दा बहिनीको मृत्यु भएको र बहिनीको लास भुईं तल्लाको भर्याङको छेउमा देखे पश्चात् सो लास ट्यांकीमा हाली सिमेन्टले बनाएको ढक्कन लगाई छोपेर छोडी गएको बताएको।