काठमाडौं- मुलुकमा मातृ र नवजात शिशु मृत्यदर घटाउन राज्यलाई सफलता मिलेको छ। हालै सार्वजनिक भएको संयुक्त राष्ट्रसङ्घको प्रतिवेदनमा नेपाल सरकारको सफलता उल्लेख छ।
नेपालमा प्रतिलाख जीवित जन्ममा १४२ जना आमाको मृत्यु हुने गरेको छ। सन् २००० को तुलनामा यो ७१ प्रतिशतले कम हो। राष्ट्रिय जनगणना २०७८ मा एक लाख जीवित जन्ममा १५१ जना आमाको मृत्यु हुने गरेको उल्लेख थियो।
प्रतिवेदनअनुसार नवजात शिशु मृत्युदर घटेर प्रतिएक हजारमा १६.६ जना पुगेको छ। आर्थिक सर्वेक्षण २०७९÷८० मा नवजात शिशुमृत्युदर प्रतिएक हजारमा २१ रहेको थियो। सन् २०३० सम्ममा नवजात शिशु मृत्युदर प्रतिहजार जीवित जन्ममा १२ प्रतिशतले झार्ने लक्ष्य छ।
मातृ तथा नवजात शिशुमृत्युदर घटाउन उल्लेखनीय प्रगति भए पनि प्रदेश र जिल्लाबीचका स्वास्थ्य असमानताले धेरै महिला गुणस्तरीय प्रसूति सेवाको पहुँचबाट वञ्चित भएका प्रतिवेदनमा जनाइएको छ।
प्रतिवेदनअनुसार सन् २००० देखि २०२३ सम्ममा मातृ मृत्युमा विश्वव्यापी रूपमा ४० प्रतिशतले कमी आएको छ। सन् २०१६ पछि सुधारको गति सुस्त भएको छ। सन् २०२३ मा दुई लाख ६० हजार महिलाले गर्भावस्था वा प्रसूति हुने क्रममा जटिलताका कारण ज्यान गुमाएका छन्।
विश्वव्यापी रूपमा मातृ मृत्युदर हरेक वर्ष झन्डै १५ प्रतिशतले घट्नुपर्छ तर हाल वार्षिक रुपमा यो करिब १.५ प्रतिशतले मात्र घटिरहेको प्रतिवदेनमा उल्लेख छ।