मंगलबार, पुस ८, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • रत्ननगरका भूमिहीन सुकुम्बासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण थालियो

रत्ननगरका भूमिहीन सुकुम्बासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण थालियो

 |  आइतबार, चैत ३, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, चैत ३, २०८१

चितवन- भूमि समस्या समाधान आयोगले भूमिहीन सुकुम्बासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण सुरु गरेको छ। पूर्वी चितवनको रत्ननगर नगरपालिकाबाट पुर्जा वितरण सुरु गरेको हो। आयोग बनेपछि पहिलोपटक पुर्जा वितरण गरिएको जनाइएको छ।

National life

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले रत्ननगर नगरपनलिकाका १ सय २३ घरपरिवारलाई पुर्जा वितरण गरी  कार्यक्रमको शुभारम्भ गरेका हुन्। सो अवसरमा उनले भूमिसम्बन्धी समस्या समाधानका लागि सरकारले नयाँ कानुनको व्यवस्था गर्ने बताए।

अहिले गौचरन, चिहानडाँडा, मध्यवर्ती क्षेत्र, वन क्षेत्र, नुन खर्कलगायतका क्षेत्रका बस्तीमा समस्या देखिएको बताउँदै उनले यस्ता समस्या समाधानका लागि सरकारले काम गरिरहेको बताए। सरकारले भूमिसम्बन्धी अध्यादेशमार्फत समस्या समाधानको उपाय खोजेको भए पनि अहिले राष्ट्रियसभामा गएर अड्किएको बताए।

सो अवसरमा भूमि समस्या समाधान आयोगका अध्यक्ष हरिप्रसाद रिजालले जनता राज्यका शक्ति भएकाले उनीहरूलाई जग्गाधनी प्रमाण पुर्जा दिनु सरकारको मुख्य दायित्व रहेको बताए। तीन वर्षभित्र १० लाख ९७ हजार ६ सय ७० जनाको समस्या समाधान गर्नेगरी काम अघि बढाइएको बताए।

आयोगका उपाध्यक्ष सनतकुमार कार्कीले सुकुम्बासी समस्या समाधानका लागि आयोगले तीव्रगतिमा काम गर्ने बताए। नेपालभरिका भूमिहीन, सुकुम्बासी, भूमिहीन दलित, अव्यवस्थित बसोबासीलाई पुर्जा दिने अभियान सञ्चालन गरिने उनको भनाइ थियो। सबै दलको सहमतिमा भूमिहीनको पहिचान गर्नुपर्ने उनले बताए। 

Laxmi sunrise bank
kumari

कार्यक्रममा आयोगका जिल्ला अध्यक्ष इमानसिंह मोक्तानले वार्षिक क्यालेन्डरअनुसार काम गर्ने बताए। जिल्लामा रहेका १० हजारभन्दा बढी भूमिसम्बन्धी समस्या भएकाहरुको समस्या समाधानका लागि प्रतिबद्धता व्यक्त गरे। 

रत्ननगर नगरपालिकाका प्रमुख प्रह्लाद सापकोटाले नगरभित्रका दुई हजार ६ सय ४३ परिवार भूमिसम्बन्धी समस्या समाधान गर्न आवश्यक रहेको बताए। पचपन्न वर्षदेखि बसोबास गर्दै आएका १ सय २३ जनालाई जग्गाधनी प्रमाण पुर्जा वितरण गर्न पाउँदा आफू निकै खुसी भएको उनको भनाइ थियो।

आजै भरतपुर महानगरपालिकाका १०८ घरपरिवारलाई पनि जग्गाधनी प्रमाण पुर्जा वितरण गरिने जनाइएको छ। रासस

प्रकाशित: Mar 16, 2025| 17:01 आइतबार, चैत ३, २०८१
प्रतिक्रिया दिनुहोस्