शुक्रबार, चैत १, २०८१

सिजनमै आएनन् सौराहामा पर्यटक

क्षेत्रीय होटल संघ सौराहाका अनुसार विगतका वर्षको तुलनामा सौराहा आउने पर्यटक आधा कम भएका छन्। सहज सडक नहुँदा र नयाँ कार्यक्रम दिन नसक्दा पनि पर्यटक फर्किएर नआएको व्यवसायीको अनुमान छ।
 |  शुक्रबार, चैत १, २०८१

नारायण अधिकारी

नारायण अधिकारी

शुक्रबार, चैत १, २०८१

चितवन- विगतका वर्षमा यो समय सौराहा पर्यटकले भरिन्थे। होटलको अकुपेन्सी पनि राम्रो हुन्थ्यो। तर यसपालि विगत जस्तो भएन। चिनियाँ पर्यटक कम आएसँगै यहाँको पर्यटकीय गतिविधि प्रभावित भयो। विगतमा जस्तो भारतीय र तेस्रो मुलुकका पर्यटक पनि उल्लेख्य आएका छैनन्। स्वदेशी पर्यटकको संख्या पनि न्यून रहेको व्यवसायीले बताएका छन्।

health

चितवन फरेस्ट रिसोर्टका सञ्चालक दीपक भट्टराई विगतका वर्षमा यतिबेला आफ्नो होटलमा ८० प्रतिशत चिनियाँ पर्यटक हुने गरेकामा यस वर्ष ४० प्रतिशत पनि नपुगेको बताउँछन्। चिनियाँ पर्यटक किन आएनन् भन्ने जानकारी नभएको भन्दै उनले नेपाली नयाँ गन्तव्यहरूमा गएको बताए।

“मनाङ, मुस्ताङ, राराजस्ता हिमाली क्षेत्रका गन्तव्यमा स्वदेशी पर्यटक गएका छन्, यहाँ कम आए,” उनले भने। सौराहामा नयाँ कार्यक्रम दिन नसक्दा पनि एक पटक यहाँ आउने पर्यटक फर्किएर आउन इच्छा नगर्ने उनको भनाइ छ। 

सिद्धार्थ भिलासा वनवासका महाप्रबन्धक प्रकाश न्यौपाने खर्चिला चिनियाँ पर्यटक सौराहा नआएको बताउँछन्। चिनियाँ पर्यटकको एक समूहको भनाइलाई उद्धृत गर्दै उनले भने, “काठमाडौँमा फागु खेल्न यस वर्ष भारतीयभन्दा चिनियाँ पर्यटक बढी आए, यहाँ भने आएनन्।”

क्षेत्रीय होटल संघ सौराहाका महासचिव गुणराज थपलिया विगतका वर्षको तुलनामा सौराहा आउने पर्यटक आधाभन्दा कमले घटेको बताउँछन्। चैतको पहिलो सातादेखि असारसम्म यहाँ धेरै पर्यटक आउने गर्दछन्। यो मौसमलाई सौराहाका होटल व्यवसायीहरूले राम्रो यामका रूपमा लिने गर्दछन्।

थपलिया मुख्य रूपमा सडकका कारण पर्यटक कमी भएको अनुमान गर्छन्। काठमाडौँबाट आउने पर्यटकका लागि विस्तार हुँदै गरेको मुग्लिन–नौबिसे सडक, पोखराबाट आउने पर्यटकका लागि मुग्लिन–पोखरा सडक र भैरहवातर्फबाट आउने पर्यटकका लागि नारायणगढ–बुटवल सडकको अवस्था सहज नभएकाले पनि पर्यटक घटेको उनको अनुमान छ। यस्तै भारतको महाकुम्भ मेला पनि पर्यटकको घट्नुका कारण भएको उनको भनाइ छ।

जंगल सफारी लजका सञ्चालक सुमन घिमिरे चिनियाँले यस वर्ष ‘भिजिट नेपाल वर्षका’ रूपमा मनाएको भए पनि नेपाल कम आएको बताउँछन्। नेपालका पर्यटकीय गन्तव्यमा समेत गतिविधि गरेर आकर्षण गर्न नसकेको उनको भनाइ छ।

चीनको छेन्दु–पोखरा उडान भएपछि केही पर्यटक बढ्ने आशा आफूहरूमा रहेको उनले बताए। “सन् २०२५ मा चिनियाँ पर्यटकबाट धेरै आशा गरेको भए पनि हुन सकेन,” उनले भने। नेपालको पर्यटन प्रवर्द्धनका लागि चीन र भारत नै मुख्य रहेको घिमिरेको भनाइ छ।

गत वर्षमा यतिबेला एउटा हात्तीले पर्यटकलाई दैनिक तीन पटक जंगल घुमाउँथ्यो। हात्ती सञ्चालन गर्दै आएको युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाका अध्यक्ष दीपेन्द्र खतिवडा अहिले यो संख्या आधा भएको बताउँछन्। रेस्टुरेन्ट एन्ड बार एसोसिएसन (रेवान) का पूर्वअध्यक्षसमेत रहेका खतिवडा रेस्टुरेन्टको व्यापार पनि आशातीत नभएको बताउँछन्।

संघका अध्यक्ष गंगा गिरी चिनियाँ पर्यटक धेरै आउँदा चिनियाँ पर्यटक धेरै राख्ने होटल भरिने र अन्य पर्यटकले अरू होटल भरिने भए पनि अहिले त्यस्तो नभएको बताउँछन्। गत वर्षहरूमा यतिबेला दैनिक ५०० चिनियाँ पर्यटक सौराहा आइपुग्थे। यो वर्ष १५० देखि २०० मात्रै चिनियाँ पर्यटक आएको उनी बताउँछन्।

एकैदिन एक हजार हाराहारीसम्म भारतीय पर्यटक आउने सौराहामा यतिबेला १५० हाराहारी मात्रै आएका छन्। “एक हजारभन्दा बढी तेस्रो मुलुकका पर्यटक आउने सौराहामा यो वर्ष देख्न मुस्किल छ,” उनले भने।

उनको भनाइमा यस याममा ९९ प्रतिशतसम्म बुकिङ हुन्थ्यो। यस वर्ष ३५ देखि ४० प्रतिशत मात्रै पर्यटक छन्। भूकम्पअघिसम्म तातोपानी नाकाबाट आफ्नै सवारीमा आउने चिनियाँ पर्यटक सडक नबन्दा रोकिएको उनी बताउँछन्। यस्तै हवाई यात्रा महँगो हुँदा पनि चिनियाँसँगै अरू पर्यटक प्रभावित भएको गिरी बताउँछन्।

अहिले आएका पर्यटकमध्ये ६० प्रतिशत नेपाली छन्। “धेरथोर स्वदेशी पर्यटकले सौराहा धानेको छ”,उनले भने। सौराहामा १४८ वटा होटल छन्। जहाँ सात हजार २०० पर्यटक अट्ने क्षमता छ। गिरीका अनुसार ती होटलमा चार खर्ब रुपैयाँभन्दा बढी लगानी छ।

प्रत्यक्ष रूपमा ६ हजार ४०० मजदुरले रोजगारी पाएका छन्। अप्रत्यक्ष रोजगारी पाउनेको संख्या १२ हजारभन्दा बढी छ। बर्सेनि पर्यटक घट्दै गएपछि धेरै होटलको अवस्था नाजुक छ। गिरीले भने, “एउटा ठूलो होटल बैंकको लिलाम निस्किसकेको छ, अरू धेरै लिलामीको चरणमा छन्।”   -रासस

प्रकाशित: Mar 14, 2025| 20:01 शुक्रबार, चैत १, २०८१
citizen insidecitizen inside
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सिजनमै आएनन् सौराहामा पर्यटक

सिजनमै आएनन् सौराहामा पर्यटक

क्षेत्रीय होटल संघ सौराहाका अनुसार विगतका वर्षको तुलनामा सौराहा आउने पर्यटक आधा कम भएका छन्। सहज सडक नहुँदा र नयाँ कार्यक्रम दिन नसक्दा पनि पर्यटक...