काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपास सवारी आवागमन अस्तव्यस्त बनेको छ।
पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट विमान चार्टर्ड गरी काठमाडौं आउन लागेपछि उनका समर्थक सडकमा उत्रिँदा समस्या भएको हो। राजावादीहरुको समूह विमानस्थल आसपास पुग्ने क्रम जारी छ।
राजावादीहरुले बाक्लो संख्यामा विमानस्थलको गोल्डेन गेट अगाडि प्रदर्शन गरेपछि सवारी आवागमन अस्तव्यस्त बनेको छ। प्रदर्शनले चाबहिलदेखि तीनकुनेसम्मको सडक अस्तव्यस्त बनेको छ। यो रुटमा चल्ने सवारीसाधन डाइभर्ट गरिएको छ।
पूर्वराजा विमानस्थलमा उत्रिएर गौशाला, चाबहिल, सुकेधारा, चक्रपथ हुँदै निर्मल निवास पुग्ने कार्यक्रम छ। उनको स्वागतमा राप्रपा, राप्रपा नेपाललगायत राजावादीहरु विमानस्थल आसपास गएपछि सुरक्षा व्यवस्थामा कडाइ गरिएको हो।
पूर्वराजा ज्ञानेन्द्रलाई स्वागत गर्न काठमाडौंका विभिन्न स्थानमा राजावादीहरुको चहलपहल बढेको छ। राजावादी विभिन्न दल र संघ–संगठनहरु राजाको स्वागतमा जुटेका छन्।
राजसंस्था समर्थक व्यक्ति तथा समूहले आमजनतालाई पूर्वराजाको स्वागतमा आउन अपिल गरेका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन पूर्वराजाको स्वागतमा जाने भएका छन्।
आजको प्रदर्शनको व्यवस्थापनमा खटिएका राप्रपा प्रवक्ता ज्ञानेन्द्र शाहीले ५ लाख मान्छे काठमाडौंमा उतारिने दाबी गरे। सबै राजावादी शक्तिहरुले एकीकृत रुपमा प्रदर्शन गर्ने उनको भनाइ छ।
दुर्गा प्रसाईंका कार्यकर्ताहरु पनि विमानस्थल जानेछन्। शिवसेना नेपाल, राष्ट्र शक्ति नेपाल, नेवाः एकता तथा नागरिक समाज लगायत राजसंस्था समर्थक समूहहरु पनि प्रदर्शनमा मिसिने तयारी छ।
पूर्वराजाका समर्थकहरुको प्रदर्शनलाई लक्षित गर्दै त्रिभुवन अन्तर्राष्ट्रिय प्रवेशमा कडाइ गरिएको छ। चक्रपथसँगै जोडिएको विमानस्थलको मुख्य गेट (गोल्डेन गेट)मा बाक्लो संख्यामा जनपथ र सशस्त्र प्रहरी तैनाथ गरिएको छ।
उनीहरुले सोधपुछ र चेकजाँचपछि मात्रै प्रवेश दिएका छन्। केही मोटरसाइकलमा सवार व्यक्तिलाई प्रवेश गर्न नदिई सुरक्षाकर्मीहरुले फर्काइदिएका छन्।
पूर्वराजा ज्ञानेन्द्र शाह पोखराको एक हप्ता बसाइपछि आज हवाईमार्ग हुँदै काठमाडौं आउँदैछन्।