काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपासको क्षेत्रमा प्रहरीले सुरक्षा व्यवस्था कडा बनाएको छ।
साथै विमानस्थल प्रवेशमा कडाइका साथै निगरानी भइरहेको छ। गोल्डेन गेटबाट विमानस्थलमा आफन्त लिन तथा पुर्याउन जानेहरुलाई टिकट जाँच गरेरमात्रै पठाइएको छ। पठाओ र इन्डाइभलाई विमानस्थल प्रवेश गर्न दिइएको छैन।
पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौं आउने भएपछि सुरक्षा व्यवस्थामा कडाइ गरिएको हो। पूर्वराजा शाहको स्वागतमा समर्थकहरु विमानस्थल प्रवेश गर्न सक्ने आशंकामा विमानस्थल वरपर ठाउँठाउँमा चेकिङ भइरहेको छ ।
आइतबार बिहानैदेखि काठमाडौंको नारायणहिटी दरबार संग्रहालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, निर्मल निवाससहितका क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
विमानस्थल प्रवेश गर्ने गोल्डेन गेटबाट सडक एकतर्फी बनाइएको छ। विमानस्थल आसपासमा ठूलो संख्यामा प्रहरी खटाएर सुरक्षा व्यवस्था कडा बनाइएको छ।
पूर्वराजा शाह आज १ बजे विमानस्थलमा उत्रिएर गौशाला, चाबहिल, सुकेधारा, चक्रपथ हुँदै निर्मल निवास पुग्ने कार्यक्रम छ। उनको स्वागतमा राप्रपा, राप्रपा नेपाललगायत राजावादीहरु विमानस्थल जाने भएपछि सुरक्षा व्यवस्थामा कडाइ गरिएको हो।
पूर्वराजा ज्ञानेन्द्रलाई स्वागत गर्न काठमाडौंका विभिन्न स्थानमा राजावादीहरुको चहलपहल सुरु भएको छ। राजावादी विभिन्न दल र संघ–संगठनहरु राजाको स्वागतमा जुट्दैछन्।
राजसंस्था समर्थक व्यक्ति तथा समूहले आमजनतालाई पूर्वराजाको स्वागतमा आउन अपिल गरेका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन पूर्वराजाको स्वागतमा जाने भएका छन्।
आजको प्रदर्शनको व्यवस्थापनमा खटिएका राप्रपा प्रवक्ता ज्ञानेन्द्र शाहीले ५ लाख मान्छे काठमाडौंमा उतारिने दाबी गरे। सबै राजावादी शक्तिहरुले एकीकृत रुपमा प्रदर्शन गर्ने उनको भनाइ छ।
दुर्गा प्रसाईंका कार्यकर्ताहरु पनि विमानस्थल जानेछन्। शिवसेना नेपाल, राष्ट्र शक्ति नेपाल, नेवाः एकता तथा नागरिक समाज लगायत राजसंस्था समर्थक समूहहरु पनि प्रदर्शनमा मिसिने तयारी छ।