सोमबार, असार १, २०८३

३० वर्षदेखि काठमा बुट्टा कुँदिरहेका होमनाथ

 |  आइतबार, फागुन २५, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, फागुन २५, २०८१

मोरङ- बेलबारी नगरपालिका–११ लक्ष्मीमार्गका होमनाथ बराइली विगत तीन दशकदेखि काठमा विभिन्न बुट्टा कुँदिरहेका छन्।

National life

पछिल्लो समय उनी यो पेसाप्रति खासै सन्तुष्ट नभएको बताउँछन्। हस्तकलाले उचित मूल्य पाउन छाडेपछि निरास बन्दै गएको बराइली बताउँछन्।

हस्तकलाका सामग्री बाहिरबाट आयात गर्दा तथा प्लाष्टिकका सामग्रीको बजारमा बढ्दो कारोबारसँगै घरेलु हस्तकलाको माग घटेको बराइलीको भनाइ छ। उनका बुबा डिल्लीमान बराइली धातुका विभिन्न मूर्ति तथा बुट्टा कुँद्ने काम गर्थे। उनकै प्रभावले सानै उमेरदेखि आफू पनि यो पेसामा लागेको होमनाथले बताए।

“पहिलापहिला हस्तकलाको माग धेरै हुने गरेको र बुबासँगै दाजु झमक पनि सोही पेसामा आबद्ध हुनुहुन्थ्यो, यसैबाट परिवारको गुजारा चलेको थियो”, उनले भने।

स्थानीय काठबाट घर तथा मन्दिरको ढोका, मूर्ति, टुँडाल, आँखीझ्याल, रेलिङ, भक्तपुरे ढोकालगायत विभिन्न काठका सामग्री बनाउने गरिन्छ। एउटा भक्तपुरे ढोका तयार पार्न कम्तीमा दुई महिना लाग्ने गरेको तर ग्राहकले सीप र समयअनुसारको मूल्य तिर्न नचाहने बराइली बताउँछन्। उनका अनुसार एउटा ढोकाको चौकठ पल्लाको मूल्य रु एक लाख ५० हजार हाराहारी पर्छ।

Shivam cement

“सरकारी निकायका भवन, सार्वजनिक भवन, मठमन्दिरलगायतमा स्थानीय काठमा घरेलु हस्तकलाबाट बनेका सामग्री प्रयोग गर्ने हो भने हाम्रो कला मर्ने थिएन”, बराइलीले भने।

आगामी दिनमा यसै पेसालाई निरन्तरता दिन नसकिने हो कि भन्ने चिन्ता बढ्दै गएको उनी बताउँछन्। प्लाष्टिकजन्य सामग्री आयातमा कमी गर्ने हो भने स्वदेशी घरेलु हस्तकलाले मूल्य पाउने बेलबारी नगरपालिकाका प्रमुख दिलप्रसाद राईको भनाइ छ।

प्रकाशित: Mar 09, 2025| 11:31 आइतबार, फागुन २५, २०८१
प्रतिक्रिया दिनुहोस्