मंगलबार, पुस ८, २०८२

६ महिनाअघि नै बन्यो साढे ९ करोडको इटहरी बसपार्क

 |  शनिबार, फागुन २४, २०८१

नेपाल समय

नेपाल समय

शनिबार, फागुन २४, २०८१

इटहरी (सुनसरी)- देशमा धेरै योजना समयमा काम नसकेर अलपत्र परिरहँदा सुनसरीको इटहरी उपमहानगरपालिकामा भने सम्झौताको समयभन्दा छ महिनाअघि नै निर्माण कार्य सम्पन्न भएको छ।

National life

वडा नं ९ स्थित बसपार्क क्षेत्रमा निर्माणाधीन तीन तले टर्मिनल भवनसहित सबै संरचना निर्माण कार्य सम्पन्न भएको उपमहानगरपालिकाका प्रवक्ता दिवस पोख्रेलले जानकारी दिए। वडा नं ६ का अध्यक्षसमेत रहेका प्रवक्ता पोख्रेलका अनुसार २०८० पुस १७ गते निर्माण सुरु गरी २०८२ असार १७ मा सम्पन्न गर्न निर्माण कम्पनीसँग सम्झौता भएको थियो। 

निर्माणको जिम्मा पाएको श्री अर्थ–हाम्रो–श्रीमान् कम्पनीले तोकिएको समयभन्दाअघि नै निर्माण सम्पन्न गरी भवनसहितका संरचना हस्तान्तरणका लागि समय माग गरेको छ। सम्पूर्ण निर्माण कार्य सम्पन्न गरी उपमहानगरलाई पत्राचार गरिसकेको निर्माण कम्पनीका ठेकेदार अङ्कुर गौतमले बताए। केही दिनमै उपमहानगरलाई भवन हस्तान्तरण गर्ने योजना रहेको गौतमले जानकारी दिए।

एक बिघा क्षेत्रफलमा फैलिएको बसपार्कमा सुविधा सम्पन्न तीनतले टर्मिनल भवन बनेको छ। भवनको भुइँ तलामा एक सय यात्रु बस्न मिल्ने प्रतिक्षालय, टिकट काउन्टर, मिनीमार्ट, सार्वजनिक शौचालय र कन्ट्रोल रुम निर्माण गरिएको उपमहानगरका इञ्जिनियर भविन्द्र चौधरीले जानकारी दिए। 

भवनको पहिलो तलामा व्यावसायिक प्रयोजन गर्न सकिने सात कोठा छन् भने दोस्रो तलामा क्याफेसहितको रेस्टुरेन्ट रहेको इञ्जिनियर चौधरीले जानकारी दिए। बसपार्क रु नौ करोड ४८ लाख ८३ हजार पाँच सय ५६ मा निर्माण गरिएको उपमहानगरपालिकाले जनाएको छ। 

Laxmi sunrise bank
kumari

सो योजना नगर विकास कोषको ७० प्रतिशत र उपमहानगरको ३० प्रतिशत लागत साझेदारीमा निर्माण गरिएको हो। दुई दशकअघि निर्माण भएको बसपार्क बढ्दो सवारीसाधनको चापसँगै अव्यवस्थित बनको थियो। बसपार्कलाई व्यवस्थित र व्यावसायिक रूपमा प्रयोग गर्ने उपमहानगरको योजना रहेको छ।

प्रकाशित: Mar 08, 2025| 17:44 शनिबार, फागुन २४, २०८१
प्रतिक्रिया दिनुहोस्