मंगलबार, पुस ८, २०८२

असी वर्षमा पनि जंगल-गोठ गरिरहेका लिलबहादुर

 |  शनिबार, फागुन २४, २०८१

नेपाल समय

नेपाल समय

शनिबार, फागुन २४, २०८१

म्याग्दी- उमेरले आठ दशकमा लागेका म्याग्दीको धवलागिरी गाउँपालिका–३ मुनाका लिलबहादुर पुनको दैनिकी बाख्रासँगै जंगल र गोठ गरेर बित्ने गरेको छ। असी वर्षीय लिलबहादुरको बाल्य र युवा अवस्था पनि भेडाबाख्रासँगै घुम्ति गोठ लिएर लेक बेशी गरेरै बितेको थियो। 

National life

“बुवा आमाले भनेअनुसार मेरो जन्मपनि गोठमै भएको थियो, जीवन पनि गोठमै बित्यो,” उनले भने “बाबु बाजेका पालादेखि गर्दै आएको भेडाबाख्रा पाल्ने पेशालाई मैलेसम्म धानेको छु।” गत कात्तिकमा ढोरपाटनको बुकीबाट मुनाको झारवाङमा गोठ झारेका लिलबहादुरले हिउँद त्यही बिताए।

दुई सयभन्दा बढी घरपरिवारको बसोबास रहेको मुना गाउँमा अहिले लिलबहादुरले मात्रै घुम्ति गोठमा बाख्रा पालेका छन्। आठ दश वर्षअघिसम्म ४०-५०  बाख्रा नहुने घर थिएन्। चार÷पाँच घर मिलेर एक जना गोठाला राखेर चरन क्षेत्रमा गोठ लैजाने चलन थियो।  

पाँच वर्षअघिसम्म एक हजार भेडाबाख्रा पालेका लीलबहादुरले अहिले भेडा सबै बेचिसके। स्थानीय खरि जातका एक सय बाख्रालाई दुई वर्षअघि रु छ लाखमा बेचेका लीलबहादुर हाल भएका बाखा बेच्नका लागि पनि ग्राहक खोजेपनि पाएका छैनन्।

“गाउँका सबै बाख्रा गोठ मासिए, मैले पनि एक सय ५० मा झारेको छु,” लिलबहादुरले भने “छोरानातीले यो पेशा अगालेनन्। विदेशतिर लागे। बाख्रा बेच्न ग्राहक खोजेको छु। पाएको छैन्।” भेडाबाख्रा पालेर लीलबहादुरका दम्पत्तीले १० जना छोराछोरी हुर्काएको र घरब्यवहार चलाएको बताए। 

Laxmi sunrise bank
kumari

उनले कान्छा छोरा रासबहादुर पुनलाई अस्ट्रेलीया पठाउनुभएको छ। तीन जना घरमै छन्। घरमा भएका मध्ये साहिला छोरा पक्षघातका बिरामी छन्। छ जना छोरीको बिहेबारी भइसकेको छ। जवान हुँदा गाउँगाउँमा आएर भारतीय र गोर्खा सैनिकमा भर्ति गराउने चलन रहेपनि भेडागोठमै रमाएका लीलबहादुरलाई लाहुरे सपना देखेनन्।

उनले वार्षिक १५-२० वटा खसीबोका र १०-१५ वटा माउ बाख्रा बेच्छन्। चारदेखि पाँच वर्ष पालेको बोका र खसीलाई रु ३० हजारसम्ममा बिक्री गर्छन्। खसी मासु र बोका बली चढाउन बिक्री हुन्छ। माउ बाख्रा भने घरमा पाल्नेहरुले किन्छन्। 

हिउँदमा बेसी झरेको समयमा घरपरिवार र आफन्तसँग भेटघाट भएपनि जेठदेखि असोजसम्म हिमाल फेदीका बुकीको घुम्ति गोठको बसाई कष्टप्रद हुने उनले सुनाए। हप्तौसम्म झरि पर्दा, भेडाबाख्रा हराउँदा, जंगली जनावरले दुःख दिँदा, घर परिवारसँग भेटघाट नहुँदा न्यास्रो लाग्ने गरेको उनको अनुभव छ। लेक जाँदा बर्खा यामलाई पुग्ने खाद्यान्न पनि लैजानुपर्छ। 

रेडियोमा गित, समाचार सुनेर मनोरञ्जन लिने उनलाई पछिल्लो समय मोवाइल फोनको सुविधा भएपछि साँझ, बिहान घरपरिवार, आफन्तसँग हालखबर सोध्न र गफिन सजिलो भएको छ। 
गोठाला बस्दा हिमालको फेदीमा सुन्दर दृष्य अवलोकन गर्न पाउँदा रमाइलो मान्ने उनले चितुवा र ब्याँसोले भेडाबाख्रालाई आक्रमण गर्ने र मारेर क्षति पुर्‍याउने क्रम बढेको बताए। बाख्रालाई जंगली जनावरबाट बचाउन र आफ्नो सुरक्षाका लागि लीलबहादुरले भोटे कुकुर पनि पालेका छन्। रासस

प्रकाशित: Mar 08, 2025| 12:56 शनिबार, फागुन २४, २०८१
प्रतिक्रिया दिनुहोस्