तनहुँ- जिल्लाको बन्दीपुर गाउँपालिका-१ का दामोदर ढकालले विसं २०६४ देखि व्यावसायिक तरकारीखेती गर्दै आएका छन्। हाल ५० रोपनी जमिनमा खेती गरिरहेका उनले वार्षिक १५ लाख रूपैयाँसम्म आम्दानी हुने गरेको सुनाए।
२२ वर्षअघि कास्कीबाट यहाँ बसाइँसराइ गर्दा ढकालले अरूको मेलापात गरेर जीविकोपार्जन गर्नुपर्ने अवस्था थियो। केही वर्ष गाउँमै मेलापात गरेपछि उनी कामका लागि भारत गए। त्यहाँ १० वर्षजति बिताएपछि फेरि आफ्नै गाउँ फर्किए। त्यसपछि कहिल्यै गाउँ छोड्न मन लागेन। अनि सुरु भयो गाउँमै तरकारीखेती। निरन्तर प्रयास गरे के हुँदैन! त्यसैको उदाहरण बनेका छन् ढकाल।
सुरुमा दुई-तीन रोपनीमा खेती गरेका उनले हाल ५० रोपनीमा विस्तार गरेका छन्। 'पहिले पहिले अरूको मेलापर्म गरेर जीविकोपार्जन गरिन्थ्यो। कामका लागि भारत पनि गइयो तर त्यहाँबाट फर्केपछि भने आफ्नै देशमा केही गर्नुपर्छ भनेर खेती सुरु गरेँ। राम्रै भयो, यदि काम गर्ने इच्छा शक्ति छ भने देशमै धेरै अवसर रहेछन् भन्ने कुरा धेरैपछि थाहा पाए तर त्यसपछि पछाडि फर्केर हेर्नुपरेको छैन। मेहनत गरेर विगतमा बाँझो रहेको जग्गाबाटै हाल लाखौँ कमाई गरिरहेको छु', ढकालले भने।
उनी बाह्रैमास तरकारीखेती गर्छन्। टनेलमा बाह्रैमास गोलभेँडा, मौसमअनुसारका तरकारी। केराउ, काउली, फर्सी, करेला, घिरौँला, खुर्सानी र बेमौसमी तरकारीले सधैँ फल्छन् उनको बारीमा। पछिल्लो समय तरकारीका साथै बिरुवासमेत उत्पादन गरेर बिक्री गर्ने गरेको ढकालले जानकारी दिए। करिब चार रोपनी जग्गामा मौसमी तथा बेमौसमी जातका तरकारी र फलफूलका बिरुवा उत्पादन गर्ने गरेको उनले बताए।
तरकारीखेती गरिरहेको सबै जग्गा भने उनको आफ्नै होइन। वार्षिक दुई लाख रूपैयाँ तिर्नेगरी ५० रोपनी जग्गा भाँडामा लिएका छन्। ढकालले उत्पादनको राम्रो खपत हुन थालेपछि थप १० रोपनी जग्गामा व्यवसाय विस्तारको योजना बनाएका छन्।
उनले भने, 'उत्पादन गरेका तरकारी बन्दीपुर, डुम्रे, दमौलीलगायत बजारमा बिक्री गर्दै आएको छु। पोखराबाट समेत व्यापारीहरू तरकारी लिन आउने गरेका छन्। यो सबै गरी वार्षिक ८० लाख रूपैयाँसम्म कारोबार हुने गरेको छ। त्यसमा सबै खर्च कटाएर १५ लाख रूपैयाँ बचत हुने गरेको छ। अब थप व्यवसाय विस्तारको योजना बनाइरहेको छु।'
विगतमा अर्कोको बनिबुतो गरेर खाने ढकालले यसै व्यवसायबाट परिवारको लालनपालन र छोराछोरीलाई राम्रो शिक्षादीक्षा दिएका छन्। 'तरकारीखेतीबाट राम्रो आम्दानी भएकाले छोराछोरीलाई स्नातक तहसम्म पढाउन सफल भए। अर्काको देशमा नोकरी गरेर बसेको भए खै! यो सम्भव हुन्थ्यो या हुन्थेन, समयमै आफ्नै स्वदेशमा कृषि पेसा गरेकाले अहिले सबै राम्रो भइरहेको छ। आम्दानी र सन्तुष्टि दुवै', ढकालको भनाइ छ।
हाल उनकी एक छोरी विदेश र छोरा शिक्षक छन्। ३० लाख रूपैयाँ खर्चेर बस्न लायक घर बनाएका छन्। आफ्नै नाममा दुई रोपनी जग्गा जोडेका छन्। तरकारीको बजारीकरणका लागि बोलेरो जिप, मोटरसाइकल र स्कुटर किनेका छन्। आफ्नो व्यवसाय विकासका लागि बन्दीपुर गाउँपालिका र कृषि ज्ञान केन्द्रले पनि सहयोग गरेको ढकालले जानकारी दिए। तीन वर्षसम्म टनेल प्रविधिमा सहयोग पाएको उनले बताए।
'कृषि व्यवसाय विस्तारका लागि हालसम्म १० लाख रूपैयाँ बराबरको अनुदान प्राप्त गरेँ। कृषि विषयमा अध्ययन अनुसन्धान गर्न कृषि ज्ञान केन्द्रले भारत भ्रमणमा समेत पठाएको छ। कामको खोजीमा जानुभन्दा र व्यवसायीका रूपमा भारत भ्रमणमा जानुको आनन्द नै बेग्लै हुँदो रहेछ', उनले खुसी साटे।
व्यवसायी ढकालले बजारको मागअनुसार उत्पादन र त्यसअनुसार व्यवस्थापनको काममा निरन्तर लागिरहेको बताए।
'कृषिकर्म नै हो नेपालको समृद्धिको आधार। हामीसँग भएको यो उर्वरभूमिमा लगनका साथ पसिना चुहाउने हो भने रोजगारीका लागि विदेश नै जानुपर्दैन। त्यसको उदाहरण म आफैँ हो', उनी भन्छन्, 'यदि म निराश भएको भए आजको यो अवस्था हुन्थेन। विदेशै भए पनि आफ्नै देशमा घर, परिवार, समाज र आफन्त, साथीभाइसँग बसेजस्तो आनन्द र सन्तुष्टि हुन्थेन। यो सबैले बुझ्न जुरुरी छ।' रासस