सोमबार, असार १, २०८३

ट्युबवेल सुक्न थालेपछि त्रियुगामा खानेपानीकाे समस्या

 |  बुधबार, फागुन २१, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, फागुन २१, २०८१

उदयपुर- हिउँमा यस वर्ष अहिलेसम्म वर्षा हुन नसकेपछि जिल्लाको त्रियुगा नगरपालिका क्षेत्रमा जमिनमुनि पानीको सतह घटेर ट्युबवेलमा पानी सुक्न थालेको छ। ट्युबवेलको पानी सुक्न थालेपछि स्थानीयलाई पिउने पानीको समस्या हुन थालेको हो।

National life

त्रियुगा नगरपालिका-१ को जोगीदह, २ को खैनपुर, मोथ्याइ, वडा नं १२ को बोटेटोल गाईघाट, वडा नं १३ असारी पोर्ताह, लक्ष्मीपुरसहितका क्षेत्रमा जमिनमुनि पानीको सतह घट्न थालेपछि ट्युबवेलबाट पानी आउन छाडेको स्थानीय प्रेमप्रसाद भुजेलले बताए।

असारी क्षेत्रका अहिले झन्डै चार दर्जनभन्दा बढी ट्युबवेल सुक्न थालेपछि पिउने पानीको समस्या भोग्नुपरेको स्थानीय बताउँछन्।

त्रियुगा-१२ पुरानो गाईघाट, बोटेटोल तथा बुद्धचोक क्षेत्रमा पनि फागुनको पहिलो सातादेखि अधिकांश ट्युबवेलबाट पानी आउन छाडेपछि अन्यत्रबाट पिउने पानी ल्याएर उपभोग गर्न बाध्य भएको बुद्धचोकका शान्तिमाया कार्कीले बताइन्।

बुद्धचोक क्षेत्रका अहिले झन्डै तीनदर्जन हाराहारीका कल तथा ट्युबवेल सुकेका छन्। त्रियुगा-१ जोगिदह बरगाछीका स्थानीय उमानन्द ढुंगानाका अनुसार फागुनको पहिलो सातादेखि कल तथा ट्युबवेल सुक्न थालेका हुन्। सोही कारणले अहिले अधिकांशले इनारको दूषित पानी पिउनुपरेको उनको भनाइ  छ।

Shivam cement

त्रियुगा-२ खैजनपुर क्षेत्रमा पनि फागुनको पहिलो सातादेखि ट्युबवेलमा पानी सुक्न थालेपछि समस्या भइरहेको रेखा राजधामीले बताइन्।

मोथ्याइका कल मिस्त्री देवलाल चौधरीले भने, 'यस पटक पुस, माघमा एक दुई पटक पनि वर्षा भएन, यही कारण जमिनमुनि पानीको सतह घटेर २५ फिटभन्दा तल झरिसकेको छ। २०-२२ फिट गहिराइमा गाडेका सबै ट्युबवेल, कलहरू सुकिसकेका छन्, अब ठूलो वर्षा नभएसम्म यी ट्युबवेलबाट पानी आउँदैन।'

अहिले त्रियुगाका अधिकांश गाउँमा करिब तीन सयभन्दा बढी कल तथा ट्युबवेल सुकेपछि पिउने पानीको समस्या हुन थालेको हो। कल तथा ट्युबवेलबाट पानी आउन छाडेपछि कतिपय स्थानीय गाउँटोल नजिक रहेका इनारबाट पानी उपभोग गर्न थालेका लक्ष्मीपुरका सीताराम चौधरीले बताए। रासस

प्रकाशित: Mar 05, 2025| 19:31 बुधबार, फागुन २१, २०८१
प्रतिक्रिया दिनुहोस्