आइतबार, साउन २४, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • कालीगण्डकी कोरिडोर : कालीपुल बसपार्क क्षेत्रको सडक कालोपत्रे

कालीगण्डकी कोरिडोर : कालीपुल बसपार्क क्षेत्रको सडक कालोपत्रे

 |  बुधबार, फागुन २१, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, फागुन २१, २०८१

म्याग्दी- चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोरअन्तर्गत म्याग्दीको प्रवेशद्वारमा रहेको बेनी नगरपालिका-८ कालीपुल बसपार्क क्षेत्रको सडक कालोपत्र भएको छ।

बेनी-जोमसोम-कोरला सडक योजनाले पर्वत हुँदै म्याग्दी प्रवेश गर्ने मोटरेबल पुलदेखि बगरफाँट जोड्ने झोलुंगेसम्म पाँचसय मिटर दुरीमा कालोपत्र गरेको बेनी नगरपालिका-८ का वडाध्यक्ष उत्तमकुमार कर्माचार्यले बताए।

सडक कालोपत्र गर्न २०८१ भदौ १४ गते बेनीको सक्षम ब्रर्दश प्रालिले ९२ लाख ४१ हजार रूपैयाँमा ठेक्का सम्झौता गरेको थियो।

माघ मसान्तमा ठेक्का सम्झौताको अवधि सकिएपछि फागुन १ गतेदेखि लागु हुने गरी कुल रकमको दैनिक ०.०५ प्रतिशतका दरले निर्माण कम्पनीलाई हर्जना तिराइएको आयोजनाका सूचना अधिकारी विष्णु चापागाईँले बताए।

जनप्रतिनिधि र स्थानीयवासीको दबाब, सम्बद्ध निकायले जरिवाना तिराउन थालेपछि निर्माण व्यवसायीले सम्झौता गरेको पाँच महिना १३ दिनपछि फागुन १३ गतेदेखि कालोपत्र गर्न सुरु गरेका थिए। यसअघि विसं २०७६ चैतमा गरिएको डिबिएसडी प्रविधिको कालोपत्र उप्किएर खाल्डाखुल्डी पर्ने, पानी जम्ने र धुलो भएको थियो।

कालोपत्र भएपछि चिल्लो बनेको कालीपुलको सडक आकर्षक देखिएको, धुलो र हिलोको समस्या हटेर सरसफाइमा सहयोग पुगेको छ। कम्तीमा ११ मिटर चौडाइका दरले कालोपत्र गर्ने क्रममा छुटेको ठाउँमा पनि कालोपत्र गराउन पहल गरिएको वडाध्यक्ष कर्माचार्यले बताए। रासस

प्रकाशित: Mar 05, 2025| 18:31 बुधबार, फागुन २१, २०८१
प्रतिक्रिया दिनुहोस्