सोमबार, पुस ७, २०८२

हरियाली उद्यान बनाउन लगनखेलमा टहरा हटाइँदै

 |  सोमबार, फागुन १२, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, फागुन १२, २०८१

ललितपुर- ललितपुर महानगरपालिका-५ लगनखेलमा हरियाली उद्यान बनाउन टहरा भत्काउन थालिएको छ। न्हुँ पुखुको पूर्वपट्टि सार्वजनिक जग्गामा बनेका टहरा महानगरपालिकाले हटाउन थालेको हो। 

National life

टहरा भत्काएर हरियाली उद्यान बनाउन लागिएको ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले बताए।

'हामीले हरियाली प्रवर्द्धन र पोखरी संरक्षणलाई जोड दिँदै आएका छौँ, सहरभित्र खुला स्थानको अभाव हुँदै गएको छ, ललितपुरको मुख्य केन्द्र लगनखेलमा रहेका सप्तपाताल पुखु, न्हूँ पुखु र पलेस्वाँ पुखुलाई संरक्षण गर्दै वरिपरिको सुन्दर वातावरण कायम राख्न उद्यानबाट  मद्दत पुग्नेछ,' उनले भने।

नमूना मच्छिन्द्र माध्यमिक विद्यालयसँगै १४ रोपनी दश आनामा रहेको सप्तपाताल पोखरी र राजदल गणसँगैको ३० रोपनीमा पलेस्वाँ पोखरी पुनःनिर्माणको चरणमा छ। टहरा भत्काइएको पश्चिमतर्फ न्हुँ पोखरी छ। 

यी तीन पोखरी र यहाँ बनाउन लागिएको उद्यानलाई गौरवको ठूलो परियोजनाका रुपमा बजेट विनियोजन गरेर महानगरले काम अगाडि बढाउँदै गएको छ।

Laxmi sunrise bank
kumari

टिकाभैरव राजकुलोको पानी ल्याएर पोखरी पुनर्भरण गर्ने योजनाअनुरुप काम भइरहेको महानगर प्रमुख महर्जनले बताए। 'ढोलाहिटीसम्म आइपुगेको राजकुलो पोखरीमा ल्याउन चक्रपथ सडक खन्नुपर्छ। चक्रपथ सडक खन्न सडक विभागले अनुमति दिइसकेको छ,' उनले भने।

लगनखेलस्थित नमूना मच्छिन्द्र स्कुलले पोखरीको जग्गा लामो समयदेखि प्रयोग गर्दै आएको थियो। विसं २०७६ मा सर्वोच्च अदालतले पोखरीको पक्षमा निर्णय गरेपछि पोखरी निर्माणको काम अघि बढाउन सहज भएको थियो।

लगनखेलका स्थानीयवासी तथा सप्तपाताल बचाउ अभियन्ता पूर्ण स्थापितले पोखरी अतिक्रमण रोक्न २०६१ सालमा सर्वोच्च अदालतमा मुद्दा दर्ता गरेका थिए। सर्वोच्च अदालतको फैसलासँगै सप्तपाताल पोखरी पुनर्निर्माणको काम सुरु भएको थियो। 

महानगरका इन्जिनियर प्रदीप पौडेलले डेढ वर्षभित्र पोखरीसहितको उद्यान निर्माण सम्पन्न हुने बताए। 'पोखरी खन्ने र पोखरीको माटो परीक्षण गर्ने काम सकिएको छ, पोखरीसँगै बाल उद्यान, फल्चा बनाउने गरी डिजाइन गरेका छौँ', उनले भने। रासस

प्रकाशित: Feb 24, 2025| 15:34 सोमबार, फागुन १२, २०८१
प्रतिक्रिया दिनुहोस्