शनिबार, चैत ७, २०८२

दलित बस्तीमा ५१ वर्षपछि पुग्दैछ खानेपानी

 |  शुक्रबार, फागुन ९, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन ९, २०८१

तनहुँ- तनहुँ सदरमुकाम दमौलीदेखि करिब तीन किलोमिटर पूर्वमा छ, व्यास नगरपालिका–१ भदुरडाँडा। चारैतिर  वनजङ्गलले घेरिएको यस ठाउँमा सानो मानवबस्ती छ, जहाँ दलित समुदायका दस परिवारको बसोबास छ।

National life

आफ्नो उब्जनी र रोजगारीको कुनै अवसर नभएका यी परिवारले दिनभरि ज्यालामजदुरी गरेर  छाक टार्दै आएका छन्। यो समस्या त छँदैछ, जंगल क्षेत्रमा भएर पनि स्थानीयले सामना गर्नुपरेको अर्को समस्या हो, खानेपानीको चरम अभाव।

स्थानीय हस्तबहादुर नेपालीले बस्तीदेखि रहेको खोल्साबाट पानी ल्याएर काम चलाइरहेको बताए।

'करिब १५/२० मिनेट उकालीओराली गरेर पानी बोक्नुपर्ने बाध्यता बस्ती बसेदेखि कै हो,' उनले भने। उनले चैत वैशाखमा त्यो पानी पनि सुक्ने भएकाले थप समस्या हुने गरेको सुनाए।

'चैत र वैशाख महिनामा खानेपानीको मुहान सुक्छ। त्यसो हुँदा झनै कठिनाइ भोग्नु परेको छ,' उनले भने, 'जंगलको बाटो हुँदै पानी लिन जानुपर्ने भएकाले वन्यजन्तुको पनि त्यस्तै डर हुन्छ।'

Laxmi sunrise bank
kumari

यही समस्या समाधानका लागि यस क्षेत्रमा खानेपानी विस्तारको योजना अगाडि बढेको छ। व्यास–१ स्थित भादगाउँ खानेपानी तथा उपभोक्ता संस्था र सङ्घीय सरकारको लगानीमा मादीनदी लिफ्ट खानेपानी योजनाअन्तर्गत उक्त बस्तीमा पनि खानेपानी विस्तार योजना अगाडि बढेको हो।

बस्ती बसेको एकाउन्न वर्षपछि भदुरडाँडाका घरघरमा खानेपानी विस्तार गर्ने गरी योजना अगाडि बढेपछि स्थानीयवासी खुसी छन्।

यहाँ ५० हजार लिटर क्षमताको ‘रिजर्भ’ टयाङ्की निर्माणका लागि ट्याङकीको बेस ढलान सम्पन्न गरी अन्य कार्य भइरहेका छन्।

सोही योजनाअन्तर्गत यसअघि व्यास–१ अमिली भञ्ज्याङमा दुई लाख लिटर क्षमताको रिजर्भ टयाङ्की निर्माण भइसकेको छ। सरकारको ७० प्रतिशत र भादगाउँ खानेपानी संस्थाको ३० प्रतिशत लगानीमा मादीनदी लिफ्ट खानेपानी आयोजनाको निर्माण भइरहेको संस्थाका व्यवस्थापक ईश्वर श्रेष्ठले जानकारी दिए।

'बस्ती विस्तारसँगै खानेपानीको समस्या हुने गरेकाले मादीनदी लिफ्ट योजना अघि बढाइएको हो,' उनले भने, 'यो योजना सम्पन्न भएपछि वडावासीलाई सहज हुने विश्वास गरिएको छ।'

श्रेष्ठका अनुसार विसं २०७९ भदौमा १९ करोडको लागतमा पराजुली कन्स्ट्रक्सनसँग सम्झौता भई काम अगाडि बढाइएको छ। 

विसं २०८० भदौभित्र सम्पन्न गर्नेगरी सम्झौता भए पनि निर्माण कार्यमा ढिलाइ हुँदा योजना सम्पन्न हुनसकेको छैन।

संस्थाका अध्यक्ष चिजबहादुर दरैले आवश्यक सहजीकरणपछि पछिल्लो समय निर्माण कार्यले गति लिएकाले छिट्टै कार्यसम्पन्न हुने बताए।

विसं २०५६ मा उक्त खानेपानी संस्था स्थापना भई ५२ वटा सार्वजनिक धाराबाट पानी वितरण सुरुआत गरेकामा  हाल संस्थाले सानाठूला गरी चारवटा योजनाबाट दुई हजार ६८० निजी धारा जडान गरी पानी वितरण गर्दै आइरहेको छ। 

प्रकाशित: Feb 21, 2025| 20:00 शुक्रबार, फागुन ९, २०८१
प्रतिक्रिया दिनुहोस्