शुक्रबार, साउन २३, २०८२

सिस्नेरा र बाजगरामा 'एक घर, एक धारा'

 |  बुधबार, फागुन ७, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, फागुन ७, २०८१

vianetvianet

म्याग्दी- म्याग्दीको बेनी नगरपालिका-४ सिंगाको सिस्नेरा र बाजगरा टोलमा ‘एक घर, एक धारा’ सहितको खानेपानी आयोजना निर्माण भएको छ। बेनी नगरपालिकाको अनुदान र उपभोक्ताहरुको श्रमदानमा १२ लाख रूपैयाँको लागतमा निर्माण भएको छ्यारछ्यारे खानेपानी आयोजनामार्फत ३० घरपरिवार लाभान्वित भएका छन्।

उपभोक्ता समितिका अध्यक्ष देवेन्द्र चोखालले वडा कार्यालयको सिफारिसमा बेनी नगरपालिकाले चालु आर्थिक वर्ष २०८१/०८२ मा विनियोजन गरेको आठ लाख रूपैयाँ बजेट र चार लाख रूपैयाँ बराबरको श्रमदानमा योजना निर्माण भएको जानकारी दिए।

'छ्यारछ्यारेमा मुहान, पाइपलाइन, ट्यांकी र २२ वटा नयाँ धारा निर्माण गरिएको छ भने आठ वटा पुराना धारालाई मर्मत गरेर खानेपानी वितरणको व्यवस्था मिलाएका छौँ,' उनले भने, 'घरघरमा मिटरसहितको धाराबाट खानेपानी वितरण भएपछि समयको बचतका साथै पानीका कारणले हुने सामाजिक दन्द्ध न्यूनीकरण भइ सद्भाव कायम गर्न सहयोग पुगेको छ।'

खानेपानी योजना निर्माणका लागि कुल लागतको दश प्रतिशत श्रमदान गर्नुपर्ने नगरपालिकाको नीति भएपनि प्रतिघर २७ दिनका दरले चार लाख रूपैयाँ बराबरको श्रमदान भएको उपभोक्ता समितिका सचिव लालबहादुर कार्कीले बताए।

यसअघि वि.सं. २०६५ मा निर्माण भएको योजनाको सार्वजनिक धारा पुरानो भएको र पानी वितरण गर्न असहज भएपछि नयाँ निर्माण गरिएको उनले बताए। यसअघि सार्वजनिक धारामा पाइप जोडेर घरघरमा पानी लगेर उपभोग गर्दै आएका थिए ।

Metro Mart

वितरण प्रणालीलाई व्यवस्थित, पानीको मितव्ययी प्रयोग र आयोजनाको दिर्घकालिन सञ्चालन गर्न धारामा मिटर जडान गरेर पानीको खपतको आधारमा शुल्क संकलन गर्ने व्यवस्था मिलाइएको छ। 

बेनी नगरपालिका-४ का वडाध्यक्ष अणबहादुर खड्का (भगवान)ले सम्झौताभन्दा बढी रकम बराबरको श्रमदान गरेर सिस्नेरा र बाजगराका बासिन्दाले विकासमा जनसहभागिताको नमुना प्रस्तुत गरेका बताए।

बेनी नगरपालिकाको वडा नं.-४ मा पर्ने डाँडाखेतमा एक घर, एक धारासहितको खानेपानी योजना निर्माणका लागि प्रदेश सरकारबाट गत वर्ष २० लाख रूपैयाँ विनियोजन गरेर सुरु गरेको योजनाका लागि यस वर्ष पनि २० लाख रूपैयाँ विनियोजन भएको र निर्माणाधीन रहेको वडाध्यक्ष खड्काले बताए।

उनका अनुसार आठसय ३४ घरपरिवारको बसोबास रहेको बेनी नगरपालिकाको वडा नं.-४ को डाडाखेत र थामडाँडा बाहेकका टोलमा एक घर, एक धारासहितको खानेपानी सुविधा पुगेको छ।

थामडाँडाको खानेपानी योजनाका लागि चालु आर्थिक वर्षमा नगरपालिकाले विनियोजन गरेको दुई लाख रूपैयाँ बजेटबाट काम भइरहेको छ। सिंगा, सुर्केमेला, बास्कुना, स्वाँत, ठूलोखोला, राक्से टोलमा एक घर, एक धारासहितको खानेपानी सुविधा पुगिसकेको वडाध्यक्ष खड्काले बताए। रासस

प्रकाशित: Feb 19, 2025| 19:31 बुधबार, फागुन ७, २०८१
प्रतिक्रिया दिनुहोस्