आइतबार, जेठ ३१, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • ज्यादतीपूर्वक निकालिएका सात सय नेपाली विद्यार्थी भारतीय कलेजमै फर्किन पाउने

ज्यादतीपूर्वक निकालिएका सात सय नेपाली विद्यार्थी भारतीय कलेजमै फर्किन पाउने

 |  सोमबार, फागुन ५, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, फागुन ५, २०८१

काठमाडौं- भारतको ओडिसा राज्यस्थित भुवनेश्वरमा रहेको कलिङ्गा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयले ज्यादतीपूर्ण व्यवहारसहित धरपकड गरेर सोमबार निकालिएका नेपाली विद्यार्थीलाई छात्रावासमा फर्काउने भएको छ।

National life

नयाँ दिल्लीस्थित नेपाली राजदूतावासले सोमबार एक वक्तव्य निकाल्दै अनुरोध भएबमोजिम उक्त विश्वविद्यालयले नेपाली विद्यार्थीलाई छात्रावासमा बस्न दिएर कक्षा सञ्चालन गर्ने जानकारी दिएको जनाएको छ।

‘उक्त छलफलमा यस राजदूतावासले त्यस शैक्षिक संस्थामा रहेका नेपाली विद्यार्थीको सुरक्षा सुनिश्चित गर्दै शैक्षिक संस्थाको छात्रावासमै बस्ने प्रबन्ध मिलाउन अनुरोध गरेको थियो। उक्त शैक्षिक संस्थाका नेपाली विद्यार्थीको कक्षा सञ्चालनका लागि आवश्यक व्यवस्था मिलाउनसमेत अनुरोध गरिएको थियो’, दूतावासले भनेको छ, ‘यस दूतावासबाट अनुरोध भएबमोजिम उक्त शैक्षिक संस्थाले त्यहीअनुसार छात्रावासमा बस्ने व्यवस्था मिलाई नेपाली विद्यार्थीका लागि कक्षा सञ्चालन गर्ने जानकारी यस राजदूतावासलाई गराएको छ।’

आइतबार नेपाली विद्यार्थी प्रकृति लम्सालको रहस्यमय मृत्यु प्रकरणमा आन्दोलित ७ सयभन्दा बढी नेपाली विद्यार्थीलाई कलेजले प्रहरीसमेत लगाएर धरपकड र लाठीचार्ज गर्दै निकालेको थियो। तर अब उनीहरूलाई छात्राबासमा राखेर पढाउन उक्त कलेज तयार भएको हो। 

केआईआईटी विश्वविद्यालयको होस्टलमा नेपाली छात्रा प्रकृति लम्सालको रहस्यमय मृत्यु भएको थियो। रुपन्देहीकी प्रकृतिको रहस्यमय मृत्युलाई लिएर नेपाली विद्यार्थीले छानबिन माग गरेका थिए। लम्सालको मृत्युपछि कलेजका अन्य नेपाली विद्यार्थीले विरोध प्रदर्शन गर्दा कलेज प्रशासनले होस्टेलबाट बलजफ्ती निकालेर रेलवे स्टेशनमा छाडिदिएको थियो। यसरी निकालिएका विद्यार्थीको संख्या सात सयभन्दा धेरै थियो।

Shivam cement

नेपाली दूतावासले लम्सालको मृत्युबारे स्वतन्त्र र निष्पक्ष रुपमा अनुसन्धान हुनुपर्ने बताएको छ। यस कुरालाई विश्वविद्यालयले गम्भीरतापूर्वक लिने प्रतिबद्धता जनाएको पनि दूतावासले दिल्लीबाट जानकारी दिएको छ।

प्रकाशित: Feb 17, 2025| 18:47 सोमबार, फागुन ५, २०८१
प्रतिक्रिया दिनुहोस्