सोमबार, पुस ७, २०८२

महोत्तरी गौशालाका गाईलाई आहारा अभाव

 |  बुधबार, माघ ३०, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, माघ ३०, २०८१

महोत्तरी- महोत्तरीको गौशालास्थित निगौल गाई गौशालाको व्यवस्थापन हुन सकेको छैन। गौशालाको अवलोकन र निरीक्षण उपल्लो तहबाट हुँदै आए पनि समस्या निराकरणमा ठोस पहलकदमी हुन सकेको छैन।

National life

गत शनिबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले गौशालाको स्थलगत अवलोकन गरे। यसअघि तत्कालीन मन्त्री पद्मा अर्यालले पनि यसको अवलोकन गरेकी थिइन्। गौशाला–४ का अजय कुशवाहा भन्छन्, ‘गौशालाको व्यवस्थापनमा कोहीको ध्यान पुगेको छैन।’

राष्ट्रिय सहकारी विकास बोर्ड अभिभावकत्वको यो संस्थाको मुख्य रेखदेखको जिम्मा जिल्लाका प्रमुख जिल्ला अधिकारीमा रहेको छ। गाई गौशालाको निरीक्षणपछि मन्त्री अधिकारीले विधि बनाएर समस्या समाधान गरिने बताए।

‘मन्त्री, प्रशासनिक प्रमुखलगायतबाट गौशालाको निरीक्षण अनुगमन हुँदै आएको छ’, गौशाला बजारका व्यापारी अजय साह भन्छन्, ‘तर सुधार हुन सकेको छैन।’

हिन्दू परम्परामा गाई पूज्य मानिन्छ। महोत्तरीको गौशालामा गाई गौशालाको बिजोग छ। उचित सम्भार, खानपान र उपचारको अभावमा गौशाला नगरपालिका–३ नवराजपुरस्थित निगौल गाई गौशालाका गाईका हाडछाला मात्र देखिन्छन्।

Laxmi sunrise bank
kumari

कुपोषणले बर्सेनि गाई मर्न थलेका स्थानीयको भनाइ छ। गौशालाका गाईको उचित रेखदेख हुन सकेको छैन। उनीहरु पौष्टिक आहार र उपचारबाट समेत वञ्चित छन्।

अहिले नवराजपुर र गौशालामा गरी दुई सयभन्दा बढी गाई छन्। खाना अभावमा यहाँ गाईका हाडछाला मात्र देखिन्छ। गौशालामा राखिएका गाईको विजोग छ। गौशालाका कर्मचारी पनि गाईको समुचित देखभाल र खानपान व्यवस्थापनबारे राष्ट्रिय सहकारी बोर्ड उदासिन रहेको बताउँछन्। ‘अभिभावकत्व लिएको बोर्डले कुनै वास्ता गर्दैन’, निगौल गाई गौशाला कार्यालयका प्रमुख वीरबहादुर चौधरी भन्छन्।

निगौल गाई गौशाला सञ्चालन गर्न एक सय ४८ बिघा जग्गाको व्यवस्था गरिएको छ। जग्गामा घाँस र अन्य बाली समुचित तबरले लगाउन नसक्दा गाईलाई आहाराको अभाव भएको छ। ‘गाईकै खानपान व्यवस्थाका लागि जग्गा छ, तर त्यो जग्गा जोतकोड गर्ने, घाँस र अन्यबाली लगाउने गरेको देखिँदैन। अधिकांश जग्गा बाँझै छ’, स्थानीय रिझन साह भन्छन्, ‘स्थानीय तहले पनि यसप्रति बेवास्ता गरेको छ।’

निगौल गाई गौशालामा अहिले राष्ट्रिय सहकारी बोर्डका ज्यालादारीसहित ३० कर्मचारी कार्यरत छन्। यसमध्ये २६ जना त गोठालाकै दरबन्दीमा रहेका छन्। उनीहरुले गाईको हेरचाह राम्रोसँग गर्न सकेका छैनन्। आहारा दिन नसक्दा गाई थारा बस्ने क्रम बढेको कार्यालय प्रमुख चौधरीको स्वीकारोक्ति छ। ‘गाईकै आहाराको ऋण ५० लाख पुग्यो होला’, प्रमुख चौधरी भन्छन्, ‘अब त उधारो पत्याउन छाडे। त्यसैले गाईलाई पौष्टिक आहारा खुवाउन सकिएको छैन।’ यो प्रबन्ध राष्ट्रिय सहकारी विकास बोर्डले गर्नुपर्ने उनको भनाइ छ।

यसबारे पटकपटक विभिन्न निकायमा ताकेता गरेपनि वास्ता नभएको चौधरीको गुनासो छ। गाई गौशालाको जग्गामा पशु हाट लगाइने ठेक्का बन्दोबस्तबाट २५ प्रतिशत आफ्नो कार्यालयले पाउनुपर्ने पूर्वसहमति भए पनि गौशाला नगर कार्यपालिकाको कार्यालयले रकम दिन विगतदेखि नै आनाकानी गर्दै आएको गाई गौशालाका कर्मचारी बताउँछन्।

गाई गौशालाको नाममा रहेको एक सय ४८ बिघा जग्गामध्ये भण्डै ५० बिघा जति अतिक्रमणको चपेटामा परेको छ। यो अतिक्रमण गरिएका जग्गामा घर ठडिएका छन्। अतिक्रमण हटाउन पहलकदमी हुन सकेको छैन।

१० बिघामा गाई गोठ, ९/९ बिघामा पोखरी र फूलबारी तथा करिब ५६/५७ बिघाजति खेतीयोग्य जग्गा छ। यसमध्ये २० बिघा नियमित घाँस खेतीका लागि छुट्याइएपनि खेती नलगाइँदा गाईले हरियो घाँस खान पाएका छैनन्। अन्य जग्गा ठेक्कामा लगाइने गरेको छ।

गाई गौशालाको तीन बिघामा गौशाला नगरपालिकाले पशु हाट लगाउँदै आएको छ। हाटको निश्चित प्रतिशत आम्दानी गाई गौशालाले नपाएको गाई गौशाला व्यवस्थापन समितिको कार्यालयले जनाएको छ। गाई गौशालाको व्यवस्थापनमा तीनै तहका सरकार र राष्ट्रिय सहकारी बोर्डले पहलकदमी लिनपर्ने स्थानीय बताउँछन्।

प्रकाशित: Feb 12, 2025| 08:31 बुधबार, माघ ३०, २०८१
प्रतिक्रिया दिनुहोस्