आइतबार, जेठ ३१, २०८३

बागमती पुलको बिम चर्किएपछि मर्मत थालियो

 |  मंगलबार, माघ २९, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, माघ २९, २०८१

रौतहट- पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत रौतहट र सर्लाही जिल्लाका बीचमा रहेको बागमती नदीको पुल मर्मत थालिएको छ। डिभिजन सडक कार्यालय चन्द्रनिगाहपुरले डेढ किलोमिटर ड्राइभर्सन बनाएर पुल मर्मत सुरुवात गरेको हो।

National life

केही दिन अगाडि पुलको बिम (गिर्डर) चर्किएको थियो। पुलको पूर्वतर्फ ४ र ५ नम्बरको स्परमाथि जडान गरिएको बिम झण्डै आठ सेन्टिमिटर चर्किएको कार्यालयका प्रमुख अरुणकुमार कर्णले जानकारी दिए।

यही माघ २६ गते डाइभर्सन बनाएर २८ गतेदेखि पुल मर्मतको काम थालिएको उनले जानकारी दिए। करिब ५५ वर्षअघि नेपाल सोभियत संघ सहयोगअन्तर्गत निर्माण भएको बागमती नदी पुलको चार-पाँच नम्बर स्परको बीचमा रहेका बिममा रहेको बेरिङ राख्ने ‘प्याडेस्टल’ कङ्क्रिट फुटेको उनले बताए।

पुलमा आधुनिक प्रविधिबाट उच्च गुणस्तरको कङ्क्रिट हालेर ढलान गरिने काम भइरहेको प्रमुख कर्णले बताए। यही बेला अन्य बिमको पनि सरसफाइ तथा बेरिङ र कङ्क्रिटको अवस्था हेर्ने उनले बताए। आगामी फागुन २ गतेभित्र पुल सञ्चालनमा ल्याउनेगरी काम भइरहेको उनले जानकारी दिए।

चौबिसै घण्टा व्यस्त रहने पुलको यथाशीघ्र मर्मत गरेर पुलबाट सवारी सञ्चालन गराउने लक्ष्य लिएको उनले बताएका छन्। पुलको ४-५ नम्बर स्पानको बीचमा बिम चर्किएर समस्या आएपछि  पुल महाशाखाको टोली आएर स्थलगत निरीक्षण गरेर दिएको सुझावका आधारमा मर्मत सुरु गरिएको उनको भनाइ छ।

Shivam cement

सम्भवतः फागुन २ गतेदेखि पुलबाट सवारी सञ्चालनमा आउने उनले जानकारी दिए। माघ २५ गते सडक डिभिजन कार्यालयले पत्रचार नै गरेर २७ गतेदेखि सवारी आवागमनमा रोक लगाइएको थियो। पुलको बिम चर्किएपछि सवारी आवागमन थप जोखिमपूर्ण बनेको थियो। रासस

प्रकाशित: Feb 11, 2025| 16:47 मंगलबार, माघ २९, २०८१
प्रतिक्रिया दिनुहोस्