सोमबार, पुस ७, २०८२

म्याग्दीमा १३९ वटा झोलुंगे पुल निर्माण

 |  मंगलबार, माघ २९, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, माघ २९, २०८१

गलेश्वर- म्याग्दीमा सञ्चालित गैरसरकारी संस्था मिलन म्याग्दीको प्राविधिक सहयोग र विभिन्न निकायको आर्थिक लगानीमा जिल्लामा १ सय ३९ वटा झोलुंगे पुल निर्माण गरिएका छन्।

National life

मिलन म्याग्दीको बेनीमा सम्पन्न २६औँ स्थापना दिवसका अवसरमा संस्थाका अध्यक्ष दिलमाया बिटालुले उक्त जानकारी दिएका हुन्। उनका अनुसार जिल्ला सदरमुकाम नजिकका गाउँबस्तीका खोला तथा नदीदेखि दुर्गम क्षेत्रमा जान सजिलो बनाउन झोलुंगे पुल निर्माण गरिएको हो।

जिल्लाको दुर्गम मानिएको धवलागिरि गाउँपालिकादेखि लिएर रघुगंगा र अन्नपूर्ण गाउँपालिकाका दुर्गम तथा विकट बस्तीलाई जोड्ने झोलुंगे पुल निर्माण गरिएपछि स्थानीयको घण्टौँ लगाएर यात्रा गर्नुपर्ने बाध्यता हटेको तथा यात्रा अवधि छोटिएको उनले बताए। 'झोलुंगे पुलबाट समुदायलाई जोड्ने प्रयासमा हामी पनि वर्षौँदेखि आबद्ध छौँ, समुदायमा आधारित कार्यक्रमलाई निरन्तरता दिइरहेका छौँ', उनले भने।

यसै क्रममा हालै मात्र जिल्लाको धवलागिरि-७ धारापानी र मालिका गाउँपालिका-७ खारा जोड्ने उक्त पुल निर्माण भएपछि २ सय ७४ घरधुरीका व्यक्ति लाभान्वित भएका छन्। पुल बनेपछि एक घण्टाको बाटो १५ मिनेटमा छोटिएको छ।

झोलुंगे पुल निर्माण भएपछि विभिन्न बस्तीका बासिन्दालाई सहजै पर्यटन प्रवर्द्धनमा सहयोग पुगेको उनको भनाइ छ। चालु आर्थिक वर्षमा मिलन म्याग्दीमार्फत बेनी नगरपालिकामा दुई, मंगला गाउँपालिकामा एक, रघुगंगा गाउँपालिकामा एक र धवलागिरि गाउँपालिकामा एक झोलुंगे पुल निर्माणाधीन अवस्थामा रहेका उनले जानकारी दिए।

Laxmi sunrise bank
kumari

पुल निर्माण भएपछि स्थानीयको यात्रा छोटिएको र कृषिसहित अन्य घरायसी प्रयोजनका लागि आवश्यक पर्ने सामान ढुवानीमा सहजता भएको बिटालुको भनाइ छ। अहिलेसम्म सरकारले गण्डकी प्रदेशमा दुई हजार २ सय ६४ झोलुंगे पुल निर्माण भएको स्थानीय पूर्वाधार विभागले जनाएको छ। 

विभागका महानिर्देशक भरतप्रसाद अर्यालका अनुसार १२० मिटरभन्दा लामा झोलुंगे पुल संघीय सरकारले र सोभन्दा कम दुरीका झोलुंगे पुल प्रदेश तथा स्थानीय तहले बनाउँदै आएका छन्। तीनवटै तहले पुल निर्माण गरेकाले सरकारले धेरै सङ्ख्यामा पुल निर्माण गर्न सकेको हो। झोलुंगे पुल निर्माणका लागि लट्ठाबाहेक सबै सामग्री नेपालमै पाइने भएकाले पनि पुल निर्माणमा थप सहजता भएको महानिर्देशक अर्यालको भनाइ छ।

पन्ध्रौँ पञ्चवर्षीय योजनामा पनि कम्तीमा आधा घण्टा पैदल हिँडेर पुगिने दुरीमा झोलुंगे पुल बनाउनुपर्ने उल्लेख छ। सोही लक्ष्यअनुसार सरकारले पहाडी जिल्लामा तर्नलाई सहज बनाउनका लागि झोलुंगे पुल निर्माण कार्यलाई तीव्रता दिएको हो। 'पहिला झोलुंगे पुल नदी तर्नका लागि मात्र हुन्थ्यो', उनले भने, 'अहिले नदी तर्नाका साथै आवतजावतमा दुरी घटाउने तथा पर्यटकीय दृष्टिकोणले पनि झोलुंगे पुल निर्माणको माग हुँदै आएको छ।'

प्रकाशित: Feb 11, 2025| 19:01 मंगलबार, माघ २९, २०८१
प्रतिक्रिया दिनुहोस्