साहारा चितवन बहुउद्देश्यीय सहकारी ठगी मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई ५४ लाख रूपैयाँ धरौटीमा छाड्न चितवन जिल्ला अदालतले आदेश गरेको छ।
मंगलबार दायर भएको उक्त मुद्दामा हिजो बुधबारबाट सुरू भएको थुनछेक बहस सकिएपछि बिहीबार जिल्ला न्यायाधीश दयाराम ढकालले यस्तो आदेश गरेको हो।
लामिछानेविरूद्ध ७ वर्ष कैद र ७० हजार रूपैयाँ जरिवाना सजाय हुनु पर्ने र साहारा सहकारीबाट गोर्खा मिडियामा गएको १० करोड ८० लाख १८ हजार १५१ रूपैयाँ रकम लामिछानेसहित चारजनाको सामूहिक दायित्वमा हुन आउने बिगोबाट असुल गर्न माग राखेर मुद्दा दायर भएको छ।
सहकारी ठगीकै मुद्दामा रवि कास्की, काठमाडौं र रुपन्देही जिल्ला अदालतबाट धरौटीमा रिहा भएका छन्। तीन अदालतमा गरेर उनले सवा दुई करोड धरौटी बुझाइसकेका छन्।