आइतबार, पुस ६, २०८२

कीर्तिपुर आँखा अस्पतालमा बेलायतकी राजकुमारी पुगेपछि...

 |  बुधबार, माघ २३, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, माघ २३, २०८१

काठमाडौं- नेपाल भ्रमणमा रहेकी संयुक्त अधिराज्य बेलायतका अधिराजकुमारी डचेस सोफी आज कीर्तिपुरस्थित ‘कीर्तिपुर आँखा अस्पताल’गई अस्पतालबाट प्रदान भइरहेका सेवा एवं सेवाग्राहीसँग भेटघाट गरेकी छन्।

National life

नेपाल नेत्रज्योति सङ्घद्वारा सञ्चालित सो अस्पतालले विसं २०७४ देखि सेवा सुरुआत गरेको थियो। अस्पतालले बेलायतको विकास साझेदार संस्था ‘रिड्ली आइ फाउण्डेसन’का सहयोगमा नेपालका विकट उच्च पहाडी क्षेत्रमा निःशुल्क मोतिविन्दु शल्यक्रिया शिविर सञ्चालन गर्दै आइरहेको छ।

अधिराजकुमारी सोफी ‘द इन्टरनेसनल एजेन्सी फर द प्रिभेन्सन अफ ब्लाइन्डनेस (आइएपिबी)’ को ‘ग्लोबल एम्बेस्डर’ (विश्व सद्भावना दूत) हुन्। विश्वबाट नै उपचारपछि निको हुने अन्धोपन निवारण गर्ने अभियानमा सक्रिय उनले आँखा स्वास्थ्य क्षेत्रको विकास र विस्तारमा विश्वव्यापी रुपमा कार्य गर्दै आएकी छन्। ‘आइएपिबी’ विश्वका आँखा स्वास्थ्य क्षेत्रमा कार्यरत सङ्घसंस्थाको साझा छाता सङ्गठन हो। 

सो अवसरमा अधिराजकुमारी सोफिले नेपालको आँखा स्वास्थ्य क्षेत्रमा भएको प्रगतिको उच्च सराहना गर्दै आगामी दिनमा नेपालले आफ्नो प्राथमिक स्वास्थ्य प्रणालीमा आँखा उपचार सेवालाई पनि अझ बलियो बनाउन सुझाव दिएकी थिइन्।

नेपाल नेत्रज्योति सङ्घले आफ्ना सञ्जालमार्फत नेपालमा आँखा उपचार सेवा प्रवाह गरिरहेको र वार्षिक सङ्घको सञ्जालमार्फत हजारौं आँखाका बिरामीले निःशुल्क आँखा उपचार प्राप्त गरिरहेका छन्। नेपालमा जनस्वास्थ्य समस्याका रुपमा रहेको ट्रकोमा रोगलाई निवारण गर्न सफल भएको जानकारीबाट अधिराजकुमारी सोफी अत्यन्तै प्रभावित समेत हुनुभएको सङ्घका अध्यक्ष प्रा डा चेतराज पन्तले जानकारी दिए। अध्यक्ष पन्तले राजकुमारीको सोफी नेपाल भ्रमणका क्रमममा कीर्तिपुर आँखा अस्पतालको समेत अवलोकन गर्नुभएकामा धन्यवाद व्यक्त गरे।
    
सो अवसरमा सङ्घका महासचिव भरतबहादुर चन्द, कार्यकारी निर्देशक डा शैलेशकुमार मिश्र, कीर्तिपुर आँखा अस्पताल व्यवस्था समितिका अध्यक्ष प्रा डा सविना श्रेष्ठ र मेडिकल निर्देशक डा एरिक वैद्यले अस्पतालका सेवाका बारेमा अधिराजकुमारी सोफीलाई जानकारी गराए।

Laxmi sunrise bank
kumari

सङ्घले नेपालका ६७ जिल्लामा आफ्नो स्थायी आँखा उपचार केन्द्रको स्थापना गरिसकेको छ। स्थापनादेखि हालसम्म सङ्घको सञ्जालमार्फत नेपाली नागरिक तथा अन्य विभिन्न देशका नागरिक गरी कूल चार करोड ३६ लाख २६ जना आँखाका बिरामीलाई उपचार सेवा प्रवाह गरिसकेको छ भने ५१ लाख ३३ हजार छ सय ५९ जनाको आँखाको शल्यक्रिया भइसकेको छ। हाल सङ्घअन्तर्गत देशभरमा २८ आँखा अस्पताल, एक सय ६० आँखा उपचार केन्द्र तथा ४४ जिल्ला शाखा सञ्चालनमा रहेका छन्।

संयुक्त अधिराज्य बेलायतका अधिराजकुमार डुयक अफ एडिनब्रा एडवार्ड र अधिराजकुमारी डचेस सोफी मंगलबार नेपाल भ्रमणका आएकी हुन्।
 

प्रकाशित: Feb 05, 2025| 18:00 बुधबार, माघ २३, २०८१
प्रतिक्रिया दिनुहोस्