आइतबार, पुस ६, २०८२

मध्यपहाडी लोकमार्गको बागलुङ खण्डमा ९० प्रतिशत काम सकियो

 |  बुधबार, माघ २३, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, माघ २३, २०८१

बागलुङ- राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको मध्यपहाडी लोकमार्गले बागलुङका दुर्गम बस्तीलाई छिचोल्दै पूर्वी रुकुम जोडिएको छ। पाँचथरको चियोभञ्ज्याङबाट बैतडीको झुलाघाटसम्म एक हजार आठसय ७९ किलोमिटरमा फैलिएको लोकमार्गअन्तर्गत बागलुङमा एकसय ३५ किमी पर्दछ।

National life

विसं २०६४ देखि सुरु भएको आयोजनाको बागलुङ खण्डमा हालसम्म ९० प्रतिशत काम सम्पन्न भएको छ। लोकमार्गको सदरमुकाम खण्डमा विभिन्न संस्थाहरूको पहलमा साढे दुई दशक अगाडि ट्रयाक खुलेको थियो।

पश्चिम बागलुङखण्डमा २०६४/६५ तिर मात्रै ट्रयाक खोलिएको थियो। आयोजना सुरु भएको १७ वर्ष बितिसक्दा पनि सम्पन्न नहुँदा लोकमार्ग छेउछाउका बस्तीका बासिन्दा समस्यामा छन्। करिब ९० प्रतिशत काम सकिएकाले बाँकी यथाशीघ्र सम्पन्न हुने मध्यपहाडी लोकमार्ग कार्यालय पर्वतले जनाएको छ।

कार्यालयका सूचना अधिकारी किरण सुवेदीले हालसम्म एकसय २२ किमी सडक कालोपत्र भएको बताउँदै अब १३ किमी कालोपत्र गर्न बाँकी रहेको जानकारी दिए। लोकमार्ग कार्यालयले विभिन्न खण्डमा काम गरिरहेको भन्दै निसीखोला गाउँपालिकाअन्तर्गतका १५ किमीमा काम सकेर सडक विभागलाई हस्तान्तरण गरिसकेको उनले बताए।

उनका अनुसार बागलुङ बजारबाट बयलडाँडासम्मको पाँच किमी र बयलडाँडाबाट घोडाबाँधेसम्मको आठ किमीबाहेक सबै खण्ड कालोपत्र भइसकेको छ। पाँच किमी यसै वर्ष सम्पन्न हुने र बाँकी आठ किमी आगामी वर्षमा सक्नेगरी काम भइरहेको सूचना अधिकारी सुवेदीले बताए।

Laxmi sunrise bank
kumari

उनले भने, 'बागलुङ खण्डमा पर्ने धेरै ठाउँमा सडक कालोपत्र भएर पुनः मर्मत पनि भइसकेका छन्, काम सकिएका खण्ड सडक विभागलाई हस्तान्तरण गर्न बाँकी छ, अब काम सकिने गतिमा छ। बिहुँ खण्डमा ठेक्का तोडेर पुनः लगाउँदा ढिला भएको हो, अबको एक वर्षमा सबै काम सकिने छ, काम सकिएपछि सबै खण्ड सडक विभागलाई हस्तान्तरण गर्नेछौँ।'

मध्यपहाडी लोकमार्गले नजोडिँदा बागलुङको सबैभन्दा विकट मानिने निसोखोला अहिले सुगम बनेको छ। निसीखोलावासीका लागि लोकमार्ग वरदान सावित भएको निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीमगरले बताए। यो लोकमार्गले सिधैँ प्रदेश राजधानी पोखरा र संघीय राजधानी काठमाडौंसँग जोडेको उनको भनाइ छ। 

'विगतमा निसीखोला विकट हुँदा काम गर्ने कर्मचारी पनि आउन मान्दैनथे, यहाँका नागरिकले हप्ता दिन लगाएर जिल्ला सदरमुकाम पुग्नुपर्ने बाध्यता थियो, तर अहिले एकै दिनमा सदरमुकाम होइन राजधानी नै पुग्न सकिन्छ', अध्यक्ष घर्ती मगरले भने, 'सहज सडकको पहुँले यहाँको उत्पादन बजारीकरण गर्न र यात्रा गर्न टेवा पुर्‍याएको छ भने यस क्षेत्रका हजारौँ नागरिकको जीवनस्तर पनि परिवर्तन ल्याएको छ।'

मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङखण्ड भएर पश्चिम नेपालको पूर्वीरुकुम, पश्चिमरुकुम, जाजरकोट, डोल्पालगायत जिल्लाबाट दैनिक दर्जनौँ रात्रि तथा दिवा बस संघीय राजधानी काठमाडौंका लागि सञ्चालन हुन थालेका उनले बताए। रासस

प्रकाशित: Feb 05, 2025| 20:31 बुधबार, माघ २३, २०८१
प्रतिक्रिया दिनुहोस्