आइतबार, पुस ६, २०८२

पानी नपरी बित्यो हिउँद, किसान निरास

 |  बुधबार, माघ २३, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, माघ २३, २०८१

महोत्तरी- यसपालि सिङ्गो हिउँद पानी नपरी बित्नै लाग्दा किसान निरास छन्। वसन्तपञ्चमी पर्व मनाइसक्दासम्म पानी पर्ने चालचुल नदेखेपछि महोत्तरीका किसान अहिले अपेक्षित हिउँदेबाली नहुने चिन्ताले पिरोलिएका छन्।

National life

“हिउँद पानी नपरी बित्यो”, बर्दिवास–९ टोकीटोलका ६० वर्षीय किसान रामचन्द्र थापा मगर भन्छन्, “खै हिउँदे बाली राम्ररी भित्रयाउन पाइएला जस्तो छैन।” कुलोको स्थायी सिँचाइको प्रबन्ध नभएको आफ्नो ठाउँमा इनारको पानी मोटरले तानेर बाली सेचन गर्ने गरिएको उनको भनाइ छ। यसपालि अहिलेसम्म हिउँदे वर्षा नहुँदा इनारमा पानीको सतह गहिरिँदै गएर मोटरबाट पानी तान्न नसकिने अवस्था बनेको थापासहित टोकीटोलका किसानको चिन्ता छ।

माघ अन्तिम साता लागि सक्दा हुस्सुले छाडेको छैन। हिउँदमा हुस्सु लाग्नु स्वभाविक भए पनि माघ लागेपछि घाम तात्दै जाने पुरानो मौसमको थिति खलबलिएको किसान बताउँछन्। “आकास धुम्मिएको धुम्मियै छ, पानी पर्न सकेको छैन”, बर्दिवास–७ का ७० वर्षीय विन्देश्वर यादव भन्छन्। खेतबारीमा तरकारी बाली हुस्सुले कक्रदै तथा पानी नपरेर माटो रुखिएको उनले बताए।

भङ्गाहा–४ रामनगरका ७५ वर्षीय इस्लाम राइन भन्छन्, “यो हामीले पहिले देखे भोगेभन्दा फरक हुँदैछ।” एक दशक अघिसम्मका ऋतुपिच्छेका मौसममा गरिने अड्कल अब मेल खान छाडेको राइनकै छिमेकी जव्वार शेष बताउँछन्। हिउँदे पानी नपर्दा गहुँ, उखु र दलहन बाली राम्ररी बढ्न सकेको छैन। यसैगरी भण्टा, रामतोरीया, खुर्सानीलगायत तरकारी पानी नपर्दा ओइलिन लागेका छन्। माटोमा चिस्यान नहुँदा पर्खनुको विकल्प नरहेको गौशाला–११ का भोगेन्द्र महतो बताउँछन्।

हिउँदे वर्षा जमिन भिजाउने मात्र नभई बालीनालीका लागि अत्यन्त पोसिलो हुने पाका किसान बताउँछन्। भर्खरै हुर्कदै गरेका वैशाखी लहरे तरकारी, उखु , आँपसहितका फलका रुख हिउँदे वर्षा पाएपछि लहलहाउने पाका किसानको अनुभव छ। तर, यसपाली वर्षा नै नभई हिउँद बित्दै गएपछि यी बालीबाट अपेक्षित उत्पादन लिन नसकिने किसानमा चिन्ता बढेको छ।

Laxmi sunrise bank
kumari

प्रकाशित: Feb 05, 2025| 08:01 बुधबार, माघ २३, २०८१
प्रतिक्रिया दिनुहोस्