मंगलबार, माघ २२, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

खण्डहर बन्दै भोजपुरको टक्सार बजार

 |  मंगलबार, माघ २२, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, माघ २२, २०८१

ntc landingntc landing

भोजपुर- औद्योगिक, व्यापारिक र सांस्कृतिक क्षेत्रको पहिचान बनाएको ऐतिहासिक टक्सार बजार यतिबेला संरक्षणको पर्खाइमा छ। यहाँ बनेका कलात्मक शैलीका घरहरु खण्डहर बनेसँगै यो स्थानको मौलिकता समेत मेटिँदै गएको छ।

himalayan bank box

पञ्चायतकालदेखि बहुदलीय व्यवस्था आउँदासम्म लाखौँ मूल्यका धातुका सामग्री उत्पादन हुने र टक (डोली पैसा) छाप्ने टक्सार बजार केही वर्षयता सुनसान छ। यहाँ निर्माण भएका धातुका सामानहरु देश विदेशमा परिचित छन्। राणाकालीन समयमा नेपालभर आवश्यक पर्ने टक (डोली पैसा) छापिएको ऐतिहासिक बजार हो टक्सार।

भोजपुर सदरमुकाम नजिकै रहेको टक्सार कुनै समय व्यापारिक केन्द्रको रुपमा स्थापित बजार पनि हो। यस बजारको भू-भाग तत्कालीन खिकामाछा थुमअन्तर्गत रहेको यहाँका बुढापाकाहरुले बताउने गरेका छन्। १८७२ सालदेखि १८८७ सम्म यहाँ डोली पैसा बन्ने गरेको ऐतिहासिक तथ्य रहेको स्थानीयवासी किशोरकुमार ताम्राकार बताउँछन्।

यहाँ खानी अड्डा स्थापना गरेर तत्कालीन समयमा पाटनबाट ल्याइएका कालिगडले फलाम र तामाका डोली पैसा बनाउने गरेको उनले जानकारी दिए। अहिले पनि ती पैसाहरु पाउन सकिने उनको भनाइ छ। 

यहाँ टकमारी गरी बनाइएका एक तोला र दुई तोला तौलका (टक डोली) पैसा राणाकालमा प्रचलित थियो। यहाँ टक काट्ने पहिलो कालिगड देवदत्त शाक्य रहेको ताम्राकारले जानकारी दिए। पाटनबाट टक्सार आएका नेवार जातिले आफ्नो भाषा, धर्म, संस्कार र संस्कृति यस स्थानमा भित्र्याएका थिए।

'यो स्थान टक अर्थात् पैसा बनिने रुपमा चिनिन्छ,' उनले भने, 'अहिले पनि यहाँ बनेका टक पाउन सकिन्छ। त्यतिमात्र हैन यो स्थान औद्योगिक क्षेत्रको रुपमा समेत परिचित थियो। यहाँका अधिकांश घरमा धातुका सामग्रीहरु निर्माण हुन्थ्यो। तर अहिले यो पेसा पनि लोप हुने अवस्थामा पुगेको छ भने बजार सुनसान बन्दै गएको अवस्था छ।'

तत्कालीन नेपाल सरकारले १८७२ सालदेखि भोजपुर, खोटाङ, उदयपुर, ओखलढुंगा, सोलुखुम्बु, सङ्खुवासभा, धनकुटा, तेह्रथुम, ताप्लेजुङ र इलामसहितका पूर्वी पहाडका जिल्लामा खनिज पदार्थ उत्खनन गर्न टक्सारमा खानी अड्डा स्थापना गरेको थियो। टक्सारमा टक छाप्ने पेसा शाक्य वंशले गर्दै आएको ताम्राकार बताउँछन्। पैसा काटेर बढी भएको धातु यहाँका कालिगडलाई दिएर धातुका सामग्री बनाउने कामको थालनी भएको उनको भनाइ छ।

त्यतिबेला यहाँका हरेक घरमा धातु उद्योग तथा धातुका सामग्री बिक्री हुने गर्दथ्यो। 'यहाँ १८७२ सालमा खानी अड्डा स्थापना गरेर टकमारी गरेको देखिन्छ', उनले भने, 'यहाँ पूर्वी क्षेत्रबाट खनिज पदार्थ संकलन गरेर टकमारी गरेको पाइन्छ। टक काटेर बढी भएको धातुलाई यहाँका स्थानीयलाई दिएर धातुका सामग्री बनाउने कामको थालनी भएको देखिन्छ। विभिन्न सरकारी अड्डाहरु स्थापना भएपछि यहाँ बस्ती विस्तार भएको पाइन्छ।'

विसं २०१३ मा राजा महेन्द्रले टक्सारलाई औद्योगिक क्षेत्रका रुपमा घोषणा गरेको उनले जानकारी दिए। त्यो समयमा यहाँ दुईदेखि ३०० परिवारको बसोबास रहेको थियो। त्यतिबेला बजारमा मानिसहरुको चाप धेरै हुने गरेको स्थानीयवासीको भनाइ छ। २००७ सालपछि यहाँ रहेका सरकारी अड्डा भोजपुर बजारमा स्थानान्तरण गरिएसँगै टक काट्ने काम हटेपछि बजार पनि सुनसान बनेको यहाँका जानकारहरु बताउँछन्।

टक्सारमा बनेका हस्तकलाका सामग्री भूटान, चीनको तिब्बत, भारतको दार्जलिङ, आसाम, सिलगढी र कोलकातासम्म निर्यात हुने गरेको  थियो। यहाँ रहेका हस्तकलाका धातुका सामग्री बन्ने उद्योगहरु पनि बर्सेनि बन्द भइरहेका छन्। यहाँका कालिगडहरुले हातेउद्योगको सहायताले बनाएका काँसका थाल, करुवा, आङ्खोरा, बोकुटालगायत सामग्री अहिले पनि देश-विदेशमा परिचित छन्। 

दशकौँ अघिसम्म दर्जनौँको सङ्ख्यामा रहेका धातु उद्योग अहिले पाँचवटामा समिति भएको स्थानीय कालिगड विमल शाक्यले बताए। यी उद्योगहरुले बजारको मागलाई धान्न समस्या रहेको उनको भनाइ छ। यसलाई पुस्तान्तरण नगरिएमा पेसा नै संकटमा पर्ने अवस्था रहेको उनले बताए।

यो पेसाप्रति मानिसको चासो हराउँदा पछिल्लो समयमा आएर टक्सारको मौलिकतासँगै ऐतिहासिक महत्व मेटिने अवस्था आएको उनको भनाइ छ। 'टक्सार धार्मिक तथा ऐतिहासिक महत्व बोकेको बजार हो', उनले भने, 'तर यो बजार सुनसान बन्दै गएको अवस्था छ। विगतमा दर्जनौँको सङ्ख्यामा रहेका धातु उद्योग पाँचवटामा सीमित छन्। यहाँ उत्पादन भएका धातुका सामग्रीको धैरै माग हुन्छ तर हामीले बजारको मागलाई धान्न सकेका छैनौँ।'

एक समयमा ‘सानो पाटन’ को नामले समेत परिचित यो ठाउँमा रहेका कलात्मक घरहरु पनि भत्किँदै गएका छन्। यहाँको मौलिकता बोकेका धातु उद्योगहरु धमाधम बन्द भइरहेको स्थानीयवासी सुर्जबहादुर उदासले बताए। बसाइँसराइका कारण टक्सारको अतिस्व मेटिँदै गएको उनको भनाइ छ।

कोइलालगायत कच्चा सामग्रीको अभावका कारण पनि धातु उद्योग संकटमा परेको उनले बताए। 'टक्सार पूर्व क्षेत्रको एक ऐतिहासिक बजार हो', उनले भने, 'तर यो बजारको ऐतिहासिकतासँगै मौलिकता पनि हराउँदै गएको छ।'

मुख्य रुपमा बसाइँसराइका कारण यो बजार खण्डहर बन्दै गएको अवस्था छ। अधिकांश कलात्मक घर प्रायः खाली छन्भने कतिपय घरहरु भत्किसकेका छन्। यहाँका मानिसहरु घर छाडेर अन्यत्र बसोबास गर्दा कलात्मक रुपमा निर्माण गरिएका घरहरु जीर्ण भएर बजारको स्वरुप बिग्रिँदै गएको उनको भनाइ छ।

टक्सारका पम्परागत धातु उद्योग बन्द हुँदा भोजपुर जिल्लाकै चिनारी धमिलिँदै बन्दै गएको उदासले बताए। घर अलपत्र छाडेर यहाँका मानिसहरु काठमाडौं, धरान विराटनगरलगायत ठाउँमा बस्दै आएको उनको भनाइ छ। यहाँका करिब ५० देखि ६० प्रतिशत मानिसहरु घर छाडेर अन्यत्र बसाइँ गइसकेको उदासले बताए। 'टक्सार बजार देशकै पहिचान बोकेको ऐतिहासिक बजार हो,' उदासले भने, 'मिनी पाटन उपनामले चिनिएको यो बजार बसाइँसराइको कारण उजाड बनेको छ। कलात्मक शैलीमा निर्माण गरिएका मठमन्दिर पनि जीर्ण बनेका छन्। बजार सुनसान छ।'

राणाहरूले टक्सारबाट डोली पैसा चलाएको समयमा नै यहाँ मठमन्दिर, विहार, गुम्बा, चैत्य, धारा, पाटीपौवा र मूर्तिहरू बनाइएको स्थानीय बुढापाकाहरु बताउँछन्। तत्कालीन समयमा भोजपुरको धोद्लेखानीबाट तामा ल्याएर टकसँगै विभिन्न सामग्रीहरु निर्माण गरिन्थ्यो।

इतिहासअनुसार १६औँ शताब्दीको अन्त्यतिर पाल्पाका सेन राजाको राज्यअन्तर्गत रहेको पाइन्छ। माझ किराँतको खिकामाछामा टक काट्ने काम भएसँगै त्यतिबेला यहाँ थुप्रै माल, अड्डा अदालतहरु पनि खोलिएको स्थानीय जानकारहरुको भनाइ छ।

अहिले आएर टक्सारवासी आफ्नो घरबार छाडेर अन्यत्र गएपछि बजार सुनसान बनेको स्थानीयवासी रोशन शाक्यले बताए। पिता पुर्खाले गरी ल्याएको पेसाको निरन्तरतास्वरुप आफूले अहिले धातुका सामग्री बनाउने काम गरिरहेको उनको भनाइ छ। त्यो समयका यहाँ बसोबास गर्ने हुनेखाने वर्ग अन्यत्र गएपछि बजारको थप विकास तथा विस्तारमा बाधा पुगेको उनको भनाइ छ।

बसाइँ सरेर गएका मानिसहरुले आफ्नो घर बिक्री नगरी अलपत्र छाडिदिँदा बजारका त्यस्ता घरहरु जीर्ण बनेको भोजपुर नगरपालिका-१२ टक्सारका वडाध्यक्ष देवी कार्कीले बताइन्। यहाँको ऐतिहासिकतालाई बचाई राख्न वडाका तर्फबाट आवश्यक काम गरिरहेको वडाध्यक्ष कार्कीको भनाइ छ।

मुख्यरुपमा यहाँका धातुका सामग्री बनाउने पेसालाई संरक्षण गर्न आवश्यक रहेको उनले बताइन्। विगतमा धेरैको सङ्ख्यामा रहेको धातु उद्योग अहिले लोप हुँदै गएको वडाध्यक्ष कार्कीले भनाइ छ। 'यहाँ परम्परागत रुपमा गरिँदै आएको धातुका सामग्री बनाउने उद्योगहरु बन्द हुँदै गएका छन्,' वडाध्यक्ष कार्कीले भनिन्, 'अहिले थोरैको सङ्ख्यामा मात्र उद्योग सञ्चालनमा छन्। मुख्य रुपमा बसाइँसराइका कारण टक्सार बजारको विकास हुन सकेको छैन।'

यहाँको घर छाडेर काठमाडौं विराटनगरलगायत सहरमा बस्नेहरुले हालसम्म पनि घरजग्गा अलपत्र छाडिदिँदा बस्ती विस्तारमा समस्या रहको उनको भनाइ छ। 'धेरैले घर छाडेर हिँडेका छन्,' उनले भने, 'ती छाडिएका घरहरु भत्किन थालेको अवस्था छ। नयाँ बस्ती विस्तार हुन सकेको छैन।'

यहाँको सौन्दर्यलाई ध्यानमा राख्दै भावी दिनका कामलाई अघि बढाउने उनले बताइन्। टक्सारमा शाक्यमुनि बौद्ध विहार रहेको छ। यो बौद्ध विहार १९९३ सालमा स्थापना गरिएको हो। सोही क्षेत्रमा रहेको सरस्वती गुम्बाको पनि संरक्षण हुन सकेको छैन। टक्सार बजार भोजपुर सदरमुकामबाट करिब दुई किलोमिटरको दुरीमा अवस्थित छ। 

यहाँ नजिकै टक्सार विमानस्थल छ। टक्सार बजारका धातु उद्योगहरुलाई ब्युँताएर यस बजारको मौलिक पहिचानलाई जीवित बनाइराख्न पलायन भएका व्यवसायीहरुलाई अभिप्रेरित गर्नुपर्ने खाँचो रहेको स्थानीय जानकारहरु बताउँछन्।

यहाँको मौलिक कला र उद्योगको संरक्षणका लागि आवश्यक साधन र स्रोत उपलब्ध गराउन जरुरी देखिएको छ। अहिले बजारको मागलाई यहाँका उद्योगहरुले धान्न सकिरहेका छैनन्।

बजारमा जनघनत्व घटेसँगै विभिन्न खालका धातुका सामग्री बनाउने जनशक्ति बाहिर पलायन भएपछि यस्तो अवस्था आएको स्थानीयवासीको भनाइ छ। रासस

प्रकाशित: Feb 04, 2025| 19:01 मंगलबार, माघ २२, २०८१
citizen insidecitizen inside
प्रतिक्रिया दिनुहोस्