आइतबार, पुस ६, २०८२

उदिपुर पहिरो रोकथाम अन्तिम चरणमा

 |  आइतबार, माघ २०, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, माघ २०, २०८१

लमजुङ- लमजुङको उदिपुर देउरालीडाँडा पहिरो रोकथाम अन्तिम  चरणमा पुगेको छ। डुम्रे–बेँसीसहर सडक खण्डअन्तर्गत लमजुङ बेँसीसहर नगरपालिका–१ उदिपुरमा पहिरो रोकथामका लागि निर्माण अझै २५ प्रतिशत बाँकी रहेको डुम्रे–बेँसीसीहर–चामे सडक योजना कार्यालयले जनाएको छ। 

National life

कार्यालयका सूचना अधिकारी नवीन विष्टका अनुसार हालसम्म टेवा, पर्खाल, ग्याबिन जाली लगाइएको र मर्स्याङ्दी नदीमा ‘माइक्रो पाइल’ निर्माणकार्य अन्तिम चरणमा पुगेको छ। यतिबेला पहिरो रोकथामका लागि मर्स्याङ्दी नदी किनारमा काम भइरहेको उनको भनाइ छ। ४५ मिटर उचाइ र ८० मिटर लम्बाइको ग्याबिन जाली लगाइएको छ।

त्यस्तै, अब तीन सय मिटर सडक कालोपत्र र सडकमाथि ८० मिटर उचाइ, ७० मिटर लम्बाइको पहिरो ‘नेलिङ’ गर्ने काम र नाली निर्माण गर्न बाँकी रहेको सो कार्यालयका सूचना अधिकारी विष्टको भनाइ छ। कार्यालयका अनुसार सङ्घीय सरकारको रु ११ करोड १९ लाख बजेटमा फेवा कन्स्ट्रक्सन प्राइभेट लिमिटेड कास्कीले उक्त योजना ठेक्का लिएको छ। 

यस कम्पनीले विसं २०७९ चैत १० गते सम्झौता तथा चैत १७ गतेदेखि काम थालेको योजना विसंं २०८१ पुस महिना पुस २९ गतेसम्ममा सम्पन्न गर्ने सम्झौता म्याद रहेको थियो। सो निर्धारित समयमा काम सम्पन्न नभएपछि पुनःम्याद थप गर्दै आगामी असोज महिनासम्म थप गरिएको सो कार्यालय सूचना अधिकारी विष्टले बताए। सो पहिरो माथि रहेको स्थानीय सडक भासिएर ढुङ्गा, माटो, गेगराङ झरेर काम गर्न समस्या लगायत विविध कारणले गर्दा निर्माणकार्य लम्बिरहेको उनको भनाइ छ। उनले भने, सडक तल मर्स्याङ्दी नदीमा पानीको वहाव बढी भएर पर्खाल लगाउन र सो स्थानमा पहिरो खस्ने गरेकाले नाली निर्माण, कालोपत्रे गर्ने कार्यमा समस्या हुँदा समयमा काम सम्पन्न नभएको हो। 

यस स्थानमा विसं २०७८ असार १ गते र विसं २०७९ साउन ११ गते गएको पहिरोले सडक बगाएको थियो। सडक बगाएपछि लामो समयसम्म वैकल्पिक रूपमा नेपाली सेनाको ब्यारेक, रिठ्ठेबगर हुँदै उदिपुर बजार जोडिने ट्र्याक खोलेर सवारी सञ्चालन भएको थियो।

Laxmi sunrise bank
kumari

बयालीस किलोमिटर लामो यस सडकको ठुलो पहिरोको रूपमा उदिपुर रहेको छ। यो सडक हुँदै बेँसीसहरबाट डुम्रे तनहुँ, काठमाडौँ, पोखरा, चितवन र बेँसीसहर साथै हिमाली जिल्ला मनाङ जाने यात्रु यात्रा गर्ने गर्दछन्। छिमेकी जिल्ला तनहुँको डुम्रे बजारबाट विसं २०२९ मा खन्न सुरु गरिएको यो सडक बेँसीसरहसम्म ४२ किलोमिटरसम्म जोड्न १५ वर्ष लागेको थियो । विसं २०४६ मा ट्र्याक खुलेसँगै विसं २०५२ देखि सिङ्गल लेनको कालोपत्र थालिएको थियो । चार वर्षमा ४२ किलोमिटर सडक कालोपत्र भएको थियो। 

त्यसयता सडक स्तरोन्नति र मर्मत हुनुको सट्टा बर्सेनि जाने पहिरोले सडक अवरुद्ध हुँदा यात्रुले हैरानी भोग्दै आएका थिए। सो स्थानमा गएको पहिरोको रोकथामकार्य अझै सम्पन्न नहुँदा यात्रु सो स्थानमा आवतजागत गर्दा माथिबाट पहिरो खस्छकी भन्ने डर, पहिरो हेर्दै हिड्नुपर्ने होकी दुर्घटना हुन्छकी भन्ने डरमा यात्रा गर्ने गरेको यात्रुको भनाइ छ। विषेशगरी वर्खायाममा यस सडक निकै जोखिम बन्दै आएको छ। 

प्रकाशित: Feb 02, 2025| 10:31 आइतबार, माघ २०, २०८१
प्रतिक्रिया दिनुहोस्