शनिबार, पुस ५, २०८२

पूर्वी चितवनका सिमसारमा भेटिए ५५ प्रजातिका चरा

 |  आइतबार, पुस २८, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, पुस २८, २०८१

भरतपुर- पूर्वीचितवनका सिमसार क्षेत्रमा गरिएको गणनामा यस वर्ष ५५ प्रजातिका चरा भेटिएका छन्। बर्ड एजुकेशन सोसाइटी र नेपाल पक्षीविद् सङ्घको आयोजनामा यही पुस २२ र २३ गते चितवन राष्ट्रिय निकुञ्ज र आसपासमा फैलिएका तालतलैया र नदीनालामा गणना गरिएको थियो।

National life

गत वर्ष नभेटिएका दुई प्रजातिका चरासमेत यसपटक भेटिएका छन्। बर्ड एजुकेशन सोसाइटीका कार्यक्रम संयोजक चराविज्ञ बासु बिडारीका अनुसार यसपालि कालो टाउके गंगाचिल र राजा गंगाचिल देखिएका हुन्। गत वर्ष भेटिएका सबै प्रजातिका चरा यसपापलि पनि भेटिएको उनले बताए। गत वर्ष ५३ प्रजतिका चरा देखिएका थिए। 

यस वर्ष लोथरबाट दरै बोटेताल, गैडहवा (जिन्दगानी घाट)बाट सौराहाघाट, सौराहाघाटबाट कसरा पुल, तमोर ताल, लामी ताल, बीस हजार ताल र यससँग सम्बन्धित ताल भण्डारा माछापोखरी, बुढी राप्ती ढुङ्गरे खोला, पटना ताललगायत पूर्वीचितवनको सिमसारमा गरिएको थियो। बिडारीले दुईदिन भएको गणनामा सात हजार एकसय ५० चरा समावेश भएको जानकारी दिए। तीमध्ये चार हजार एक सय सात चखेवाचखेवी रहेको उनले बताए।

अघिल्लो वर्ष सात हजार पाँच सय १७ चरा समावेश भएका थिए। अघिल्लो वर्षभन्दा चखेवाचखेवीको सङ्ख्या घटेको हो। अघिल्लो वर्ष चार हजार तीन सय चार भेटिएको उनले बताए। सौराहाघाटबाट कसराघाटसम्म ४१ प्रजाति भेटिएका छन्।

यस्तै, लोथरबाट जिन्दगानी घाटसम्म दुई, जिन्दगानी घाटबाट सौराहाघाटसम्म २५, बीस हजार तालमा ३०, बुढीराप्तीमा २६, ढुङ्गरे खोलामा २४, मत्यविकास केन्द्रमा १८, लामी तालमा १६, पटना तालमा १२ र तमोर तालमा चार प्रजातिका चरा भेटिएको उनले बताए।

Laxmi sunrise bank
kumari

सात हजार एक सय ५० चरा समावेश हुँदा पानि हाँसमात्र चार हजार एकसय सातवटा समावेश भएको उनले बताए। जलकौवा सानु एकसय १७ र ठूलो चार सय ६० वटा गणनामा समावेश भएका छन्।

बर्ड एजुकेशन सोसाइटीका पूर्वअध्यक्षसमेत रहनुभएका बिडारीले प्रदूषण, नदीजन्य पदार्थ उत्खनन र बढ्दो मानवीय चहलपहलका कारण जलपक्षीको सङ्ख्या घट्दै गएको बताए। 'जलेवा चरा बढेका छन्। चखेवाको सङ्ख्या उस्तैउस्तै छ', बिडारीले भने।
 
प्रदूषण कम भएको क्षेत्रमा तुलनात्मक रूपमा धेरै चरा र वन्यजन्तु भेटिएको उनको भनाइ छ। सोसाइटीले सन् १९८७ देखि चरा गणना गर्दै आएको छ।

नेपाललगायत पूर्वी एसियाका ३५ देशमा प्रत्येक वर्ष अङ्ग्रेजी वर्षको जनवरीमा पानी चरा गणना गरिँदै आएको छ। सोसाइटीले हाल जाडो यामका पानीचरा गणना गरेको हो। चितवनमा छ सय ५२ प्रजाति चरा पाइने उनले बताए। त्यसमध्ये यस वर्ष जिल्लामा एक सय ५९ प्रजाति भेटिए। पानीमा मात्र आश्रित ५५ प्रजाति रहेको उनले बताए। रासस

प्रकाशित: Jan 12, 2025| 20:01 आइतबार, पुस २८, २०८१
प्रतिक्रिया दिनुहोस्