काठमाडौं- नेपाल प्रिमियर लिग (एनपिएल)मा आज जनकपुर बोल्ट्सले काठमाडौं गुर्खाजलाई पाँच विकेटले पराजित गरेको छ।
यो जितसँगै जनकपुर बोल्ट्स एनपिएल क्रिकेटको प्लेअफमा पुग्ने पहिलो टोली बनेको छ। ६ खेलमध्ये ५ मा विजय हात पार्दै जनकपुरले प्लेअफमा स्थान निश्चित गरेको हो।
अन्तिम खेलमा चितवन राइनोजलाई पराजित गरेमा जनकपुरको क्वालिफायर्स १ मा पक्का गर्नेछ। जनकपुरले १ सय २ रनको लक्ष्य १५.५ ओभरमा १ सय ४ रन बनाउँदै पूरा गरेको थियो। हर्ष ठाकर २५ बल खेलि समान १ चौका र छक्का प्रहार गर्दै २५ र मोहम्मद मोहसिन ७ बलमा ३ चौका प्रहार गरी १३ रनमा अविजित रहे।
त्यसअघि टस जितेर ब्याटिङ गरेको गुर्खाज १९.३ ओभर खेलि १ सय १ रनमा अलआउट भयो । ललित राजवंशी र शेर मल्लले ३–३ विकेट लिए । एकै ओभरमा स्टेफन इस्किनाजी र सुमित महर्जनलाई आउट गरेका ललितले ४ ओभरमा २ मेडन राख्दै ८ रन खर्चे।
काठमाडौंको ५ खेलमा यो तेस्रो हार हो। यो टोलीले २ खेल जितेको छ। आफ्नो अन्तिम २ खेलमा विजय हात पारेमा गुर्खाजको प्लेअफ पुग्ने सम्भावना रहन्छ।