बुधबार, जेठ २०, २०८३

सुन्तलाखेतीबाट मनग्य आम्दानी गर्दै देवघाटका कृषक

 |  बुधबार, मंसिर २६, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर २६, २०८१

दमौली- तनहुँको देवघाट गाउँपालिका-३ का कृषक सुन्तला बिक्रीबाट मनग्य आम्दानी गरिरहेका छन्। उक्त वडाको बाटक, लुङ्ग्रिङ, छिपछिपे, छापस्वाँरा, दगराबाट मात्रै यसवर्ष तीन करोड रूपैयाँ बराबरको सुन्तला बिक्री हुने कृषकको अनुमान छ।

National life

स्थानीय कृषक भीमबहादुर रानाले यसवर्ष यो वडाबाट तीन करोड रूपैयाँभन्दा बढीको सुन्तला बिक्री हुने अनुमान गरिएको बताए। लुङ्ग्रिङमा एकै घरबाट २० लाख रूपैयाँभन्दा बढीको सुन्तला बिक्री हुने उनले जनकारी दिए।

विगतमा केही अन्नबाली उत्पादन नभएर भोकै बस्नुपर्ने बाध्यता भएका बाटकवासी केही वर्षयता भने सुन्तला बेचेरै लखपति बनेको स्थानीय कृषक प्रेम थापाले बताए। यहाँका कृषकको मुख्य आम्दानी नै सुन्तला रहेको उनको भनाइ छ। उनले भने, 'यहाँका कृषकले सुन्तलाखेतीबाट मनग्य आम्दानी गर्दै आएका छन्। पछिल्लो समय सुन्तलामा विभिन्न किसिमका रोग देखिँदा कृषक भने चिन्तित छन्।'

सोही वडाका स्थानीय जितबहादुर थापाका अनुसार रोग नलागेको भए तीन करोड रूपैयाँभन्दा बढीको सुन्तला बिक्री हुने अनुमान थियो। उनले भने, 'तीन करोड रूपैयाँको सुन्तला बिक्री हुने अनुमान छ, तर रोग नलागेको भए अझै धेरै बिक्री हुन्थ्यो होला।'

यहाँ करोडौँ मूल्य बराबरको सुन्तला उत्पादन भए पनि उक्त सुन्तलालाई बजारसम्म लैजान भने समस्या हुँदै आइरहेको छ। नदीपारि रहेको लुङग्रिङ, बाटक, छिपछिपे, छापस्वाँरा तथा दगरा गाउँलाई राजमार्गसम्म जोड्न त्रिशूली र सेती नदीमा पुल नहुँदा सुन्तला बजारसम्म लैजान समस्या हुने कृषक बताउँछन्।

Shivam cement

लुङग्रिङ र छिपछिपेका कृषकले बुद्धसिंह मार्गको नाल्दीघाट तथा मुग्लिङ नारायणगढ सडकको गाईघाटसम्म जीपमा ल्याएर त्यहाँबाट बोकाएर झोलुङ्गे पुल तारेर राजमार्गसम्म ल्याउँछन्। छापस्वाँरा र दगराका कृषकले भने ग्राभिटी रोपवेमार्फत बुद्धसिंह मार्गमा झारेर त्यहाँबाट दमौली हुँदै काठमाडौँ लैजाने गरेका छन्।

नाल्दी र गाइघाटमा पुल नहुँदा ढुवानी खर्च महँगो हुने गरेको कृषक हरिकुमार श्रेष्ठको भनाइ छ। उनले भने, 'यहाँका स्थानीयले सुन्तला, अदुवा, केरा तथा अन्य फलफुल रोपवेबाट नै राजमार्गसम्म झार्ने गरेका छन्।

गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले देवघाट तीन तिरबाट नदीले घेरिएको र उक्त ठाउँमा पुल नहुँदा समस्या भइरहेको बताए। रासस

प्रकाशित: Dec 11, 2024| 19:31 बुधबार, मंसिर २६, २०८१
प्रतिक्रिया दिनुहोस्