सोमबार, मंसिर २९, २०८२

धार्मिक पर्यटनको केन्द्र बन्दै धादिङको भैरवी मन्दिर

 |  मंगलबार, मंसिर २५, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर २५, २०८१

धादिङ- यहाँको नीलकण्ठ नगरपालिका-६ स्थित भैरवी मन्दिर पर्यटनको गन्तव्य बनेको छ। पहाडको चुचुरोमा रहेको यस मन्दिरबाट गणेश, मनास्लु, मानापाथीलगायत हिमालको दृश्यावलोकन गर्न सकिन्छ। यहाँ मन्दिरको दर्शन गर्न, बिदा मनाउन, रमणीय दृश्यावलोकन गर्न आउनेहरुको भीड लाग्न थालेको छ।

National life

'राम शाहले विसं १६६६ मा स्थापना गरेको आठ शक्तिपीठमध्ये भैरवी मन्दिर पनि एक हो। उहाँले स्थापना गर्नुभएको कुरा लालमोहरमा लेखिएको छ', भैरवी मन्दिर गुठी व्यवस्थापन समितिका सचिव कृष्णबहादुर श्रेष्ठले भने, 'पृथ्वीनारायण शाहले नुवाकोट विजय गर्न नसकेपछि भैरवी मन्दिरमा बासबसी भाकल गर्नुभएको र त्यसपछि विजय भएको किम्वदन्ती छ।'

पुजारी र बाजा बजाउनेलाई शाहले गुठीको नाममा ९० रोपनी ११ आना दुई पैसा जग्गा व्यवस्थापन गरिदिएका थिए। जिल्ला प्रशासन कार्यालयले हाल पूजा सञ्चालनका लागि हरेक वर्ष ६ हजार सात सय ३२ रुपैयाँ ५० पैसा उपलब्ध गराउने गरेको छ।

यस मन्दिरमा पूजासहित वडादसैँ र चैते दसैँमा विशेष मेला लाग्छ। मन्दिरमा विशेष पूजा, भाकल तथा बलि चढाउने परम्परा छ। बडादसैँको नवमीका दिन यहाँ सुङ्गुर बलि गरिन्छ। मन्दिर पुग्न सदरमुकामबाट १८ किलोमिटर पार गर्नुपर्छ।

भैरवी मन्दिरलाई नीलकण्ठ नगरपालिकाले विशेष प्राथमिकताका साथ संरक्षण तथा प्रवर्द्धन गर्दै आएको नीलकण्ठ नगरपालिकाका उपप्रमुख दीपक विश्वकर्माले बताए। 'भूकम्पले जीर्ण मन्दिर पुनःनिर्माण गरिएपछि मन्दिर घुम्न तथा दर्शन गर्न आउनेको सङ्ख्यामा वृद्धि भएको छ । यहाँबाट चारैतिर हिमशृङ्खला देखिने भएकाले पर्यटक आकर्षित भएका हुन्', उनले भने।

Laxmi sunrise bank
kumari

यहाँ भारतदेखि पर्यटक मन्दिर दर्शन तथा अवलोकनका लागि आउने गरेको मन्दिरका पुजारी भगवान राना मगरले जानकारी दिए। जिल्लाका विभिन्न सङ्घ संस्थाले भैरवी मन्दिरसम्म पदयात्रा गर्न थालेपछि मन्दिरको थप प्रचारप्रसार भएको छ। नीलकण्ठ नगरपालिका- ३ का वडाध्यक्ष राजकुमार श्रेष्ठले पदयात्रा र मन्दिरको प्रचारप्रसारले यस ठाउँको प्रचारमा सहयोग पुगेको बताए। रासस

प्रकाशित: Dec 10, 2024| 21:31 मंगलबार, मंसिर २५, २०८१
प्रतिक्रिया दिनुहोस्