बुधबार, पुस २, २०८२

अस्पताल चलाउन चुलाचुलीमा सप्ताह पुराण

 |  मंगलबार, कात्तिक २७, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक २७, २०८१

फिक्कल (इलाम)- चुलाचुली गाउँपालिकामा १५ शय्याको आधारभूत अस्पताल निर्माण पूरा भएको छ। चुलाचुली गाउँपालिका–२ बाह्रगोठेमा आर्थिक वर्ष २०७७-७८ देखि निर्माण सुरु गरिएको अस्पताल भवन निर्माण पूरा भएको हो।

National life

सङ्घीय सरकारको सहयोगमा रु १२ करोड ९० लाख लागतमा अस्पताल निर्माण पूरा भएको चुलाचुली गाउँपालिकाका अध्यक्ष राजेन्द्र केरुङले जानकारी दिए। पन्ध्र कठ्ठा १० धुरमा तीनतले अस्पताल निर्माण गरिएको हो। अस्पताल भवन निर्माणसँगै मङ्सिर २ गतेदेखि चौबीसै घण्टा सेवा प्रवाह गर्नेगरी औपचारिक उद्घाटनको तयारी गरिएको छ।

यसैबीच अस्पताल सञ्चालन सहयोगार्थ चुलाचुली गाउँपालिकाले ‘समावेशी श्रीमद् भागवत सप्ताह महापुराण’ आयोजना गरेको छ। अस्पताल परिसरमा आयोजना गरएको महापुराण आगामी मङ्सिर २ गतेसम्म सञ्चालन हुने पुराण व्यवस्थापन समिति संयोजक जनक कोइरालाले जानकारी दिए। महापुराणमा मुख्यगरी हिन्दू, बौद्ध र किराँत धर्मका धर्मगुरुले कथावाचन एवं प्रवचन दिने उनले बताए।

गाउँपालिकामा पहिलोपटक १५ शय्याको अस्पताल निर्माण गरिए पनि सञ्चालनका लागि आर्थिक समस्या भएकाले आर्थिक सहयोग जुटाउन बहुधार्मिक प्रवचनसहितको समावेशी महापुरण आयोजना गरिएको गाउँपालिका अध्यक्ष केरुङले बताए। “अस्पतालको भवन निर्माण भइसकेको छ, तर उपकरण खरिद र जनशक्ति व्यवस्थापनमा आर्थिक समस्याका कारण अस्पताल सञ्चालन गर्न सकिएको छैन”, अध्यक्ष केरुङले भने, “अस्पताल सञ्चालन गर्न सहयोग जुटाउने उद्देश्यका साथ महापुराण आयोजना गरिएको छ।” महापुराणबाट सङ्कलित रकमबाट अस्पताल सञ्चालनका लागि छुट्टै दिगो अक्षयकोष स्थापना गरिने उनले बताए।

प्रमुख प्रशासकीय अधिकृत दिलकुमार लिम्बूले अस्पतालन सञ्चालनका लागि दिगो स्रोतको सुनिश्चतता गर्न अक्षयकोषका लागि महापुराण आयोजना गरिएको बताए। “अस्पताल सञ्चालनको सबै खर्च गाउँपालिकाले नै ब्यहोर्नुपर्ने हुन्छ”, उनले भने, “गाउँपालिकाले धान्न नसक्ने भएकाले अक्षयकोष बनाउन महापुराण आयोजना गरिएको हो।” 

Laxmi sunrise bank
kumari

महापुराणमा श्रीमद् भागवत, पाठपारायणसँगै नियमित रूपमा भजनकीर्तन, चर्चित धार्मिक प्रवचक राधिका दासी, केवलकृष्ण अधिकारी, मुन्धुम अध्येता चन्द्रकुमार शेर्मासहित विभिन्न धर्मगुरुबाट आलोपालो गरी फरकफरक दिन प्रवचन सुनाउने व्यवस्था मिलाइएको पुराण व्यवस्थापन समिति सचिव विवश बलिभद्र कोइरालाले जानकारी दिए। विभिन्न जातजाति, भाषाभाषी र धर्मानुरागीहरूको समिश्रण रहेको चुलाचुली गाउँपालिकालाई आपसी सद्भाव र एकताको सन्देश दिनका लागि महापुराणले योगदान पुर्याउने गाउँपालिको अपेक्षा रहेको अध्यक्ष केरुङको भनाइ छ।

प्रकाशित: Nov 12, 2024| 09:34 मंगलबार, कात्तिक २७, २०८१
प्रतिक्रिया दिनुहोस्