शनिबार, पुस ५, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • केराखेतीबाट वार्षिक आठ लाखभन्दा बढी आम्दानी गर्दै सुनसरीका अर्जुन

केराखेतीबाट वार्षिक आठ लाखभन्दा बढी आम्दानी गर्दै सुनसरीका अर्जुन

 |  आइतबार, कात्तिक २५, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक २५, २०८१

धरान- सुनसरीको बराहक्षेत्र नगरपालिका-६ का अर्जुन विष्ट विसं २०७७ देखि कृषि पेसामा लागेका छन्।

National life

व्यावसायिक रूपमा कृषि क्षेत्रमा लागेका उनले अहिले केरा बिक्रीबाट वार्षिक आठ लाख रूपैयाँभन्दा बढी आम्दानी गर्दै आएको बताए। उनले भने, '१७ वर्ष नेपाल प्रहरीको सेवापछि घर फर्किए, अरु व्यापार व्यवसायबाट खासै कमाइ नहुने देखिएपछि कृषि पेसामा लागेको हुँ, डेढ बिघा क्षेत्रफलमा केराखेती सुरु गरेर अहिले वार्षिक रुपमा आठ लाख रूपैयाँभन्दा बढी आम्दानी हुन्छ, मासिक ८०, ९० घरीसम्म केरा बिक्री हुने गरेको छ।'

केरा बिक्रीका लागि धेरैजसो चक्रघटी, कालाबन्जर, चतरालगायतका स्थानीय बजार तथा इटहरी, धरान, गाईघाटसम्म पनि पठाउने गरेको लैजाने गरेको उनी बताउँछन्। एक घरी केरा ४ सयदेखि ६ सय रूपैयाँसम्ममा बिक्री हुने गरेको उनले बताए।

सुरुमा धान, मकै, कोदोको खेती गर्ने उनी पछिल्लो समय केराखेतीतिर आकर्षित भएको विष्टले बताए। अहिले उनले भएको सबै आफ्नो जग्गामा केरा, खर्बुजा, भुइँकटहर, दाल, बोडी, सयपत्री फुल र तोरी लगाएका छन्।

उनले भने, 'कृषि पेसामा सुरुमा केहि दुःख गर्नुपरे पनि पछि आरामले कमाइ गर्न सकिन्छ, कृषि पेसा भनेको आफै मालिक आफै कर्मचारी हो, घरमा कहिलेकाही घर खर्च तार्न खाँचो हुँदा अरुसँग ऋण माग्न जानुपर्दैन, तीन/चार घरी केरा बजार लगेर बेच्दा घर खर्च मज्जाले टार्न सकिन्छ।' उनले अहिले मालभोक, चिनियाँ चम्पा र कृष्णभोग गरी तीन किसिमका केरा लगाएका छन्।

Laxmi sunrise bank
kumari

सुनसरीमा हाल पाँच सय १० हेक्टर क्षेत्रफलमा केराखेती हुँदै आएको कृषि ज्ञान केन्द्रका सूचना अधिकृत प्रविनलाल श्रेष्ठले जानकारी दिए। उनले भने, 'सुनसरीमा केराखेतीको उत्पादन राम्रै छ, तर गत असोजमा आएको बाढीले ३८ दशमलव २५ हेक्टरभन्दा बढी केराखेती नष्ट गर्दा ३७ लाख रूपैयाँभन्दा बढीको क्षति भएको छ।' 

पछिल्लो समय केराखेतीबाट राम्रो आम्दानीसँगै उत्पादन राम्रो हुन थालेपछि यहाँका किसानले धेरै जसो केराखेती गर्न थालेको सूचना अधिकृत श्रेष्ठको भनाइ छ। कृषि ज्ञान केन्द्रका अनुसार अहिले सुनसरीमा झप्री, मालभोक, मुङ्गे, मर्चे चिनियाँ चम्पा, कृष्णभोग, हाइब्रिड प्रजातिका केरा अत्यधिक उत्पादन हुने गरेको छ। रासस

प्रकाशित: Nov 10, 2024| 20:31 आइतबार, कात्तिक २५, २०८१
प्रतिक्रिया दिनुहोस्