कञ्चनपुर- शुक्लाफाँटा नगरपालिका-१० का तुलादत्त जोशीलाई ६३ वर्ष नाघ्नै आँटेको छ। युवा जस्तै जोस र जाँगरका साथ उनी अटो चलाउन व्यस्त छन्।
पाँच वर्षदेखि उनले अटो चलाउँदै आएका छन्। दैनिक उनको कमाइ एक हजार रूपैयाँदेखि दुई हजार रूपैयाँको हाराहारीमा हुने गरेको छ। महिनामा २० हजार रूपैयाँदेखि ३० हजार रूपैयाँसम्मको कमाइ हुने उनको भनाइ छ।
'यात्रु बढी पाइएका दिन धेरै कमाइ हुन्छ', उनी भन्छन्, 'कम भएको दिन थोरै हुन्छ, दिनमै यति कमाइ हुन्छ भन्न सकिँदैन।'
अटोको कमाइले घर खर्च सहजरुपमा चल्दै आएकामा उनी सन्तुष्टि व्यक्त गर्छन्। नगरपालिकाको झलारी बजारदेखि कालापानी रुटमा उनले अटो चलाउने गर्छन्। त्यो रुटमा अटोमा चढ्ने प्रतियात्रुले भाँडाबापत ८० रूपैयाँ तिर्ने गर्दछन्। बिहानीको झिसमिसेमै जोशी अटो लिएर झलारी बजारमा यात्रुको प्रतीक्षामा तम्तयार भएर बसेका हुन्छन्।
'यात्रु नबोके गुजारा चल्दैन', उनले भने, 'बिहान कार्यालय जाने, आवश्यक कामका लागि अन्त्य जाने यात्रुहरु प्रतीक्षामा हुन्छन्, घरबाट आउन ढिलो भए फोन गरेर बोलाइहाल्छन्।'
यात्रु नै भगवान भएकाले नाइनास्ती गर्न नसकिने उनी बताउँछन्। 'यात्रु बोक्दाबोक्दै दिन बितेको पत्तो नै हुँदैन, कुनै दिन खानका लागि घर जान पनि पाइँदैन, यात्रु नभएका बेला भने दिउँसोपख समय मिलाएर घरमै गएर खाना खाने गर्दै आएको छु', उनले भने।
'विसं २०५४ मा पहाडबाट तराई झर्दा कमाइको साधन नहुँदा रोजगारीका लागि भारततर्फ लाग्नुपर्यो', विगत सम्झँदै जोशी भन्छन्, 'भारतमा केही वर्ष काम गरेर कमाइ गरेको पैसाले कैलालीको फूलबारीमा १० कट्ठा जग्गा जोडे, आफन्तहरु सबै यतै भएकाले फूलबारीको जग्गा बेचेर झलारी बजार नजिकै साढे चार कट्ठा जग्गा जोडे, त्यसमै घर बनाएर बस्न थाले।'
'घरघडेरी जोडे पनि कमाइ गर्नका लागि केही त चाहियो नै', उनले अगाडि भने, 'जग्गा बैंकमा राखेर १२ लाख कर्जा निकाले, त्यो कर्जाको रकमले अटो रिक्सा किने, बचेको पैसाले करेसाबारी बनाउन साढे तीन कट्ठा जग्गा किने।'
बैंकबाट कर्जा निकालेको १२ लाख रूपैयाँमध्ये ६ लाख रूपैयाँ रकम अटोको कमाइले तिर्न भ्याएको उनी बताउँछन्। अटोको कमाइले बैंकको कर्जाको बाँकी किस्ता बापतको रकम तिर्दै आएका छन्।
छोराले भारतको बैंगलोरमा काम गर्ने भएकाले उताबाट पनि रकम पठाउने गरेको उनको भनाइ छ। अटोको कमाइ र छोराको कमाइले घर खर्चसँगै बैंकको किस्ता तिर्न कुनै अप्ठेरो नरहेकामा उनी ढुक्क छन्।
'बुढेसकाल लाग्यो अब केही गर्न सकिँदैन भनेर घरमा बसेको भए घर खर्च चलाउनै धौ धौ हुन्थ्यो', उनी भन्छन्, 'युवा जस्तै काम गर्दै आएको छु, स्वास्थ्यमा पनि समस्या छैन, आपतविपत परेका कसैसँग हात थाप्नु परेको छैन, सहज रुपमा दैनिकी चलेको छ।'
आत्मनिर्भर भएर काम गर्न पाउँदाको खुसी उनी व्यक्त गर्छन्। सिटभन्दा बढी यात्रु नबोक्ने र थोरै गतिमा अटो चलाउने भएकाले जोशीकै अटो रोजाइमा पर्ने गरेको यात्रु भरतबहादुर ऐरले बताए। अटोचालक जोशी कर्तव्यनिष्ठ व्यक्ति रहेको उनी बताउँछन्। रासस