मंगलबार, जेठ १९, २०८३

बेमौसमी वर्षाले धानबालीमा क्षति

 |  मंगलबार, कात्तिक २०, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक २०, २०८१

पर्वत- जिल्लाका विभिन्न क्षेत्रमा सोमबार दिउँसो परेको बेमौसमी वर्षाका कारण थन्क्याउने तयारी भएको धानबाली र परालमा क्षति पुगेको छ।

National life

सोमबार दिउँसो परेको वर्षाले खेतमा लटरम्म पाकेको धान झारेको छ भने काटेर सुकाएको निहिन र पराल पूरै डुबाएको किसानले गुनासो गरेका छन्। जिल्लाको फलेवास, महाशिला, विहादी, जलजला, मोदी र पैयूँ गाउँपालिकाका अधिकांश स्थानका किसानले तिहार सकिएलगत्तै धान भित्र्याउने तयारी गरेका थिए।

कतिपयको तिहार अघिदेखि काटेर सुकाएको र कतिपयको सोमबार बिहान काटेको धान नष्ट गरेको मोदी गाउँपालिका-२ देउपुरका प्रकाश चापागाईँले जानकारी दिए। धान थन्क्याइसकेका किसानले दाइँ हालेर टौवा बनाउने तयारी गरेका बेला पराल रुझेको गुनासो गरेका छन्। रुझेको पराल कुहिएमा गाईभैँसीले नखाने भएकाले केही दिन लगातार सुकाउनुपर्ने समस्या भएको ठुलीपोखरीका किसान रामप्रसाद सापकोटाले बताए।

कृषि ज्ञान केन्द्रका बाली संरक्षण अधिकृत शंकर पौडेलले जिल्लाका सबैजसो पालिकामा थन्क्याउने तयारी गरेको धानमा वर्षाले नोक्सानी पुर्‍याएको बताए। यसअघि यही कात्तिक ६ गते पनि असिनापानी पर्दा क्षति भएको थियो। त्यतिबेला बचेको धान अहिले थन्क्याउने बेलामा फेरि असर गरेको उनको भनाइ छ। क्षतिको यकिन विवरण संकलनको काम भइरहेको उनले बताए। 

धान पर्वतको मुख्य बाली हो। पटकपटक आएको असिना र भारी वर्षाले धानबालीमा क्षति पुर्‍याएपछि यसपटक उत्पादनमा पनि कम हुने भएको छ। रोप्ने बेलामा मौसम अनुकूल परेका कारण यस वर्ष उत्पादन बढ्ने आकलन गरिएको भए पनि अहिले क्षति पुगेको कार्यालयले जनाएको छ। रासस

Shivam cement

प्रकाशित: Nov 05, 2024| 18:31 मंगलबार, कात्तिक २०, २०८१
प्रतिक्रिया दिनुहोस्